• ७ मंसिर २०८१, शुक्रबार

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

blog

बागलुङ, कात्तिक  २८ गते । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ ।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो । 

तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उहाँले  यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उहाँले किबीसँगै कागती पनि फलाउनुभएको छ । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले  समय व्यवस्थापन गर्न नसकेको बताउनुभयो । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् । 

दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाउनुभयो । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताउनुभयो । हाल स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको बताउनुभयो ।  

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।