• ७ मंसिर २०८१, शुक्रबार

तिहारपछि सुनसान बन्दै गाउँ

blog

तनहुँको सदरमुकाम दमौलीको मेनरोडमा गाउँबाट आएका यात्रुहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २१ गते । नेपालीहरुको मुख्य पर्व दसैँ र तिहार चाड सकिएसँगै तनहुँका गाउँबस्ती सुनसान हुन थालेका छन् । पर्व मनाउन बिदामा गाउँ आएकाहरु आफ्नो कार्यक्षेत्रतिर फर्किन थालेपछि गाउँ सुनसान हुन थालेको हो । 

पर्व मनाउन गाउँ आएका धमाधम छोड्न थालेसँगै गाउँ चकमन्न भएको  व्यास नगरपालिका –८ का वडा सदस्य रामप्रसाद मिश्रले बताउनुभयो । पर्व मनाउन थातथलोमा फर्किएर आएपछि दसैँ र तिहारभरि गाउँघरमा निकै रमाइलो भएको उहाँले सुनाउनुभयो । 

देश विदेशमा रहेका आफन्तसँगै भेटघाट, रमाइलोले दिन बितेको पत्तै नभएको तर पर्व सकिएसँगै आफ्नो कार्यक्षेत्रमा फर्किन थालेसँगै गाउँ सुनसान भएको उहाँले बताउनुभयो ।  

दसैँ र तिहार मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् । उनीहरू फर्किन थालेसँगै गाउँ सुनसान हुन पुगेको व्यास नगरपालिका –६, साँजाका देउराज गुरुङले जानकारी दिनुभयो । पहिला तीनसय घर रहेको गाउँमा हाल ६५ घर मात्र रहेको त्यहाँ रहेका अधिकांश युवा विदेश रहेकाले सुनसान बनेको गुरुङले बताउनुभयो ।   

पढ्न सहर छिरेका र जिल्ला बाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेको स्थानीयको भनाइ छ ।  दसैँ  र तिहारमा रमाइलो रहेका जिल्लाका दश पालिका गाउँघरमा विस्तारै रौनक हराउन थालेको छ । स्थानीय स्तरमा रोजगारी नभएकाले गाउँमा युवाहरु नहुँदा सुनसान भएको व्यास नगरपालिका –१३ ओटाङ्दी निवासी ९२ वर्षीय रामनाथ सेढाईंको भनाइ छ । 

उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दापर्दा समेत मलामी जाने मान्छे नहुने अवस्था आएको छ ।’’