• ७ मंसिर २०८१, शुक्रबार

थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै

blog

कमल खत्री

धम्बोझी, कात्तिक २१ गते । पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ ।

थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २१ र २२ गते दुई दिने कार्यक्रम हुने भएको हो । राष्ट्रिय थारु कलाकार मञ्चले कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको बताएको छ । 

मञ्चका अध्यक्ष बिनोथ चौधरीले थारुहरुको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि विभिन्न स्थानीय तहहरुसँग समन्वय सहकार्य गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रममा प्रतियोगिताका लागि करिब २० देखि २५ वटा टिम सहभागी हुनुका साथै अन्य सांस्कृतिक प्रस्तुतिहरु रहने जनाइएको छ । दर्शकको सहजताका लागि साविकको बैजनाथ गाउँपालिका रहेको बनकट्वामा हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहनेछ ।