सल्यान समाचारदाता
सल्यान, कात्तिक २१ गते । फूल र झिलिमिलीको पर्वका रूपमा परिचित तिहारको मौलिकता हराउँदै गएको छ । पछिल्ला वर्षमा तिहारको अवसरमा पाँच दिनसम्म खेलिने देउसीभैलोमा मौलिकता हराउँदै गएको हो ।
युवापुस्तामा आयातित संस्कृतिको मोह बढ्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्को भनाइ छ । सल्यानको कला साहित्यका जानकार बागचौर नगरपालिका–२ का डा. पूर्ण भण्डारीले सामाजिक महìव बोकेको पर्वमा प्रस्तुत गरिने गीत, नृत्य र प्रयोग गरिने वाद्यवादन देख्नै मुस्किल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै उमेर, वर्ग र सम्प्रदायका मानिसलाई एउटै मालामा जोड्ने र रमाइलो गर्ने चाडका रूपमा तिहारलाई लिइन्छ । तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी) लाई खुसी बनाउने रोमाञ्चक चाड हो तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ ।”
भण्डारीले भन्नुभयो, “केही वर्षपहिलेसम्म घर घरमा माटोको दियो, पाला बत्ती बाल्ने प्रचलन थियो । हरेक घरमा माटोको दियो प्रयोग गर्दा कति रमाइलो हुन्थ्यो, अहिले दियो हराए, जताततै बिजुलीबत्ती बालेर उज्यालो बनाइएको छ ।”
यस्तै तिहारमा देउसीभैलो खेल्न प्रयोग गरिने पुराना बाजागाजाको प्रयोग पनि अचेल गरेको देखिँदैन । केही सामाजिक सङ्घ संस्था र आधुनिक गीतको सहयोग लिई बेतालको नृत्य देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाएको पाइएको छ ।
त्रिवेणी गाउँपालिका–३, पिमखोलाका वरिष्ठ वाद्यवादक खड्कबहादुर बुढाले सल्यानका ठाउँपिच्छे भैली भट्ट्याउने शैली, मुरली, मादल, खैँजडी, झ्याली, टयाम्का, मादल आकारमा फरक हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता र सिर्जनशीलता छैन । स्थानीय लोकबाजाको प्रयोग गरी गरिने गीत, नृत्य, भट्टयाइने देउसीभैलोको रमाइलो बेग्लै हुने गरेको दार्मा गाउँपालिका–२ का लीलाधर उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना दिनमा फरक फरक भैलो घरमा आउँदा फरक फरक शैली प्रस्तुतिले रमाइलो हुन्थ्यो । अहिले कुनै सिर्जनशीलता देखिएन ।” चाडपर्वमा रहेका मौलिकताबारे नयाँ पुस्तालाई बुझाउन सकिएको छैन । स्थानीय लोकबाजा र गीतको महत्व नयाँ पुस्तालाई बुझाउन नसक्दा पनि युवाको चासो घटेको सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकायले बताउनुभयो ।
उहाँले युवा विदेश पलायन, पुस्तान्तरणको समस्या आदि चाडपर्वको मौलिकता हराउनुको मुख्य कारण भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वलाई भेटघाट, मिलन, दुःखसुख साटासाटका रूपमा भन्दा देउसीभैलो संस्कारलाई रकम असुल्ने माध्यमका रूपमा विकास गर्न थालिएको छ ।”
केही सामाजिक सङ्घ संस्था र युवा समूहले परम्परालाई जोगाउने पनि प्रयास गरेका छन् । तिहारमा देउसीभैलो मात्र होइन, सल्यानका विभिन्न गाउँमा टप्पा, वनगाडी, सोरठी, लहरे, पैँसेरी र सरेङ्गे (मयूर) जस्ता नाच पनि नाचिने गरेको पाइएको छ । बागचौर नगरपालिका–७ का साहित्यकार केशवराज देवकोटाले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय सरकारले पहल लिनुपर्ने बताउनुभयो । उहाँले व्यक्तिले मात्र होइन, मौलिकता जोगाउन स्थानीय सरकारले पहलकदमी लिनुपर्ने सुझाव दिनुभयो ।