लीलाधर वली
घोराही, कात्तिक १६ गते। दाङमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा घोराही १४ लुहासुर निवासी ५५ वर्षीय नन्दबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घोराही उपमहानगरपालिका वडा १४ नयाँ बसपार्कस्थित कोर्चावाङ होटेल अगाडि डुम्मरगाँउबाट मिलन चोकतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ प ०७४६ नम्बरको मोसाले ठक्कर दिएको थियो।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते घर्तीको उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । दुर्घटनामा पैदलयात्री सोही ठाउँ निवासी ४५ वर्षीया मनमती नेपाली घाइते हुनुभएको छ । घाइते नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकलसहित चालक घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर बस्ने २१ वर्षीय तिलक खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।