शक्तिको आवश्यकता सबैलाई पर्छ । मानिसलाई मात्र होइन यो स्वयं जगत्का परिपालकका लागि पनि त्यत्तिकै आवश्यक पर्ने कुरा पुराण साहित्यहरू अनुशीलन गर्दा थाहा हुन्छ । पद्मपुराणमा जगज्जननी माता पार्वतीलाई सम्बोधन गर्दै भगवान् शिवले एक ठाउँमा भनेको यो वचन यस सन्दर्भमा मननीय छ, हे महेश्वरी ! शक्ति नरहेका बेलामा म शव मात्रै हुन्छु तर जब ममा शक्ति हुन्छ म भक्तका समस्त कामना, इच्छा, आकाङ्क्षा पूरा गरिदिने शिव बन्छु ।
यसबाट के देखिन्छ भने जीवदेखि शिवसम्मका लागि जीवनको सर्वस्व हो शक्ति । शक्ति तत्व कस्तो हुन्छ ?, के गर्दा पाइन्छ ? र अहिले केका लागि शक्ति आराधना गर्नु छ ? त्यसबारे अनभिज्ञ रह्यौँ भने शक्तिको आराधना होइन दुरुपयोग हुन पुग्छ ।
हरेक मानिस शक्तिको पुञ्ज हो । ऊभित्र अन्तर्निहित शक्ति यति छ कि के बयान गर्ने ! तर आफूमा भएको शक्ति कति छ हत्तपत्त कसैले चाल पाएका हुँदैनन् । मानिसमा निहित असीम शक्तिको शतांश मात्र पनि सही रूपले प्रयोग गर्न सकियो भने जीवनमा अनेकौँ उपलब्धि उसले प्राप्त गर्न सक्छ । थोरै मात्रले यो कुरालाई बुझेका हुन्छन् । जसले बुझेको छ उसले आफूले आफैँलाई उचालेका छन्, शिखरमा पुर्याएका छन् र उनीहरू अरूका लागि प्रेरणाको स्रोत बनेका हुन्छन् । यो हामीले हाम्रै वरपर या विश्व घटनाका अनेक सन्दर्भमा देखिरहेका छौँ ।
संसारमा प्रसिद्ध कहलिएका, महामानव ठानिएका व्यक्तिले जीवन तत्वको अनुभूति यसैगरी गरेको उनीहरूको आत्मवृत्तान्त र जीवन चरित्रले देखाउँछ । मानव मूलतः महान् छ परन्तु चिन्तनस्तरको विकासबिना वा चेतनाको अभिवृद्धिबिना आफ्नो साँघुरो घेरा, सङ्कीर्णता र सीमिततामा नै अलमलिन पुग्छ । एक किसिमले भन्ने हो भने अकिञ्चन झैँ बनिरहेको उसले पत्तै पाउँदैन ।
मानिसमा अन्तर्निहित भएर तीन तत्व नजानिँदो किसिमले समेटिएर रहेका हुन्छन् । ती हुन्– शारीरिक मानव, बौद्धिक मानव र आत्मिक मानव । शारीरिक दृष्टिकोणले हेर्दा मानिस एउटा कमजोर प्राणी हो । ज्यादाभन्दा ज्यादा यो दृष्टिले ऊ खेलाडी बन्न सक्छ, पहलमान हुन सक्छ, एक योध्दा बन्न सक्छ । उसको उपलब्धि भन्नु समयको सीमित घेरामा अडिएर रहन्छ । समयको कुनै निश्चित कालखण्डपछि फगत एक निरीह मनुष्यमै सीमित हुन पुग्छ । शरीरको अवसानपछि ऊ सकियो, बित्यो ।
बौद्धिक मानव शारीरिक मानवभन्दा अब्बल हुन्छ । ऊ कता हो कता शक्तिशाली पनि देखिन्छ । शारीरिक दृष्टिले हेर्दा ऊ सानो झोला बोक्न पनि असक्षम हुन सक्छ तर बौद्धिक दृष्टिकोणले उसको बुद्धिले सृष्टि गरेका आविष्कारले के के गर्छन् के के, चकित तुल्याइदिन्छ ।
शारीरिक दृष्टिकोणमा अलमलिएको शरीरमा भएको आँखाले केही परको वस्तु देख्न पनि धमिलो भान हुन सक्छ तर बौद्धिक प्रतिभाले जन्माएको दूरवीक्षणयन्त्रको शक्ति हेरौँ त कहाँ हो कहाँ अन्तरिक्षको कतिपय स्थितिलाई समेत अवलोकन गर्न समर्थ भइन्छ ।
शरीर स्थूल छ, दृश्य छ, बुद्धि सूक्ष्म छ, अदृश्य छ तर आत्मा बुद्धिभन्दा पनि सूक्ष्म छ । जति सूक्ष्म भयो त्यति विशाल हुन्छ । मानिसलाई आत्मविश्वास, लगन, ध्येयप्रतिको निष्ठा यही दिव्यकेन्द्रबाट अनवरत प्राप्त भइरहेको हुन्छ । यस्तो आत्मशक्तिका सामु बौद्धिक सामथ्र्य पनि नगण्य हुन्छ । साँच्चै भन्ने हो भने बौद्धिक सामथ्र्य स्वयंमा लक्ष्य होइन, साधन मात्र हो । साधनरूपी बौद्धिकता र शारीरिक बललाई पुरुषार्थ सम्झनेहरू ज्यादाभन्दा ज्यादा विश्वमा भौतिक विजयको ललकार लगाउन सक्छन् । आफ्नो चातुर्यले ऐश्वर्यको उपभोग केही समयलाई गर्न सक्छन् तर वास्तविक शक्तिपुरुषको स्थान ओगट्ने सौभाग्य उनीहरूले पाउँदैनन् ।
विश्व इतिहासलाई हेर्दा सिकन्दर, नेपोलियन, मुसोलिनी, हिटलरको शक्तिले कुनै बखत मानव समुदायलाई नै सन्त्रस्त नतुल्याएको होइन तर त्यो शक्ति भौतिक र ज्यादाभन्दा ज्यादा बुद्धिसँग मात्र सम्बन्धित भएको हुनाले मानव इतिहासमा अनुपम र आदरणीय बन्ने सौभाग्य तिनीहरूले पाएनन् । त्यसको विपरीत बुद्ध, महावीर जैन, शङ्कराचार्य, रामानुजाचार्य, गुरु नानक, रमण महर्षि, अरविन्दो घोष, स्वामी रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, महात्मा गान्धी, जयपृथ्वीबहादुर सिंह, शशिधर स्वामी, योगमाया, भक्तिसिद्धान्त प्रभुपाद, खप्तडबाबा, शिवपुरीबाबा आदि साधुपुरुषहरूको सादगीपूर्ण जीवन र सन्देश विश्वका मानवको प्रेरकशक्ति बनेको छ । विश्व इतिहासका पानालाई स्वर्णिम बनाइदिएको छ । कति युगान्तकारी रहेका छन् भन्ने कुरा हिजो तिनको जति महत्व थियो आज अरू महत्वपूर्ण भएको छ ।
उनीहरूका विचार, धारणा र सन्देश यो आत्मशक्तिको सर्वश्रेष्ठतालाई सिद्ध गर्ने शाश्वत तथ्य हो भनिरहनु पर्दैन । यसैले आज केवल शरीरमानव होइन, बुद्धिमानव मात्र पनि होइन आत्ममानवलाई उजागर गरेर शक्तिको अजस्रस्रोतलाई प्रवाहित तुल्याउन सकेमा नै विश्वमा कल्याणकारी शुद्ध जीवनयात्रा सार्थक र समर्थ भएर सुख, शान्ति र समुन्नतिलाई प्राप्त गर्न सम्भव हुन सक्छ ।
शक्ति आराधनाका लागि कुनै समय र साइत कुरेर बस्नु पर्दैन । तथापि शारदीय नवरात्रि शक्ति आराधानको परमपावन समय मानिन्छ । घटस्थापनादेखि नौ दिनसम्म जगज्जननी देवी दुर्गा माताको विविध रूप र स्वरूपको साधना, पूजाआजा एवं दशमीको दिन त्यही नौ दिनको साधनाको प्रसादस्वरूप मान्यजनबाट जमरा प्रसाद एवं आशीर्वाद प्राप्त गर्नुलाई बडादशैँको सार्थकता सम्झिन्छ । यस्तैबेला जीवनको उन्नायक पवित्र शक्तितत्वको उपासना गर्ने महापुरुषहरूले जगज्जननी पराम्ब दुर्गासमक्ष गरेको प्रार्थनाभित्र सम्पूर्ण सार त्यही श्लोकार्धभित्रै अन्तर्भूत छ– रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ।
यस दिव्य प्रार्थनाभित्र के छैन, जीवनको समग्र समुत्थानका लागि जगदम्बा मातालाई पुकारिएको छ ।
यो सप्तशति पारायणको एक अङ्ग मानिने अर्गलास्तोत्रको प्रार्थनाको श्लोकाध्र्द हो । यो शक्तिलाई आफ्नो अधीनमा राख्ने आग्लो (अर्गला) हो । शक्तिको मूल पहिल्याएर साधकले भन्छ, “माता ! मलाई रूप (मेरो वास्तविक शक्तिसम्पन्न स्वरूप दिनुहोस् । मलाई जय अर्र्थात् विकृतिमाथि पूर्ण अधिकार गराइदिनुहोस् । मलाई यश अर्थात् आफू बनेर अरूलाई पनि बनाउन सक्ने चरित्रसम्पन्नता दिनुहोस् । मेरा शत्रु अर्थात् मेरो मनमा बसेर सधैँ मलाई तल तल धकेल्ने पशुतारूपि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि सूक्ष्म शत्रुहरूलाई निमिट्यान्न पारिदिनुहोस् ।”
कति दिव्य, कति महान् अर्थ छ यो प्रार्थनाभित्र । जीवनको मूल तत्व फेला पार्नु, सर्वत्र आत्मीयता भेट्नु, जीवनको अन्तर्विशालतालाई आत्मसात् गर्नु नै वास्तवमा शक्ति आराधना हो ।
हामीले हरेक वर्ष मनाउँदै आएको दुर्गा पूजाको लक्ष्य आत्मिकमानवको विकास गर्नु हो । सप्तशतीमा पनि यही चरित्रलाई प्राधान्यता दिई महादुर्गा, महालक्ष्मी एवं महासरस्वतीको उपासनामा जीवनको पूर्ण फल प्राप्ति निहित छ भन्ने सङ्केत गरिएको छ । यही आत्मशक्तिलाई जगाएर नै मानवले आफ्नो, परिवार, समाज, राष्ट्र र विश्वको कल्याण गर्न सक्ने क्षमता आर्जन गर्न सक्छ । उसका समस्त शक्तिस्रोतहरू त्यहीँबाट प्रस्फुटित हुन्छन् तर यति विशाल र गतिशील लक्ष्य लिएर अघि बढेको हाम्रो शक्ति आराधना स्वरूपको दुर्गा पूजा वा विजयादशमी वा बडादशैँले रूढ रूप लिँदै गएको छ । यसभित्र समेटिएको धार्मिक, आध्यात्मिक महान् पक्षलाई छोडेर विकृत बन्दै गएको तथ्य दुःख लाग्दो छ ।
दशैँ भन्नासाथ पशुको हत्या, हिंसा, मारकाट आदिलाई सम्झिदिनाले नवरात्रिभित्रको परम पावन साधना कता हो कता अचेल विलुप्त बन्न पुगेको छ । नवरात्रका प्रत्येक दिन चित्तको शोधन र आत्मशोधनका अनुपम मुहूर्त हुन् । आफैँले आफैँमाथि विजय गर्ने साधनाको परम पावन पर्व हो यो । असल लक्ष्य लिई व्रतानुष्ठान, पुरश्चरण, आस्वाद, तप आदिका लागि यसलाई महान् अवसर मान्नु पर्छ तर हामीकहाँ दशैँ अहिले अधिकांशका लागि खाने, पिउने, मोजमस्ती गर्ने, पशुबलि गर्ने, मांसभक्षण गर्ने, जुवातास खेल्ने पर्वका रूपमा विकृत बन्दै गएको छ ।
जुन क्रियाकलापले आत्मोन्नति हुँदैन, चित्तशुद्धि हुँदैन, आत्मसाक्षात्कारको बाधक हुन्छ, त्यसले अपसंस्कृतिलाई मलजल गरिरहेको हुन्छ भन्ने कुरा हामी किन बिर्सिरहेका छौँ ? सात्विक पूजा आराधनाले संस्कृतिलाई प्रवर्धन गर्छ भने राजसी र तामसीले विकृतिलाई प्रोत्साहन दिएको हुन्छ । जहाँ काटमार र हिंसा हुन्छ त्यस्तो पूजा तामसपूजाको ज्वलन्त उदाहरण हो । त्यस्तो पूजाले ईश्वर प्राप्ति हुँदैन, आत्मसाक्षात्कार हुँदैन, भगवद्दर्शन हुँदैन भनेर शास्त्रले बताएका छन् ।
मनुस्मृतिमा भनिएको छ :
यावन्ति पशुरोमाणि तावत्कृत्वोहि मारणम ।
वृथा पशुन्धः प्राप्नोति प्रेत्य जन्मनि जन्मनि ।। (५।३८)
अर्थात् व्यर्थ पशुबध गर्ने व्यक्तिले त्यो जनावरको शरीरमा भएका रौँको सङ्ख्या जति जन्मान्तरसम्म नर्कमा दुःख भोग्ने छ र प्रत्येक जन्ममा आफू पनि मारिने छ ।
देवीको घोर रूप काली, चण्डिका, महादुर्गा आदि हुन् । प्रायः यिनैको देवस्थलमा बलि दिइन्छ, मानौँ घोर रूपमा भगवतीको रक्तपिपाशा शान्त हुन्छ ठानेर तर बुझ्नु पर्ने कुरा के हो भने त्यो रूप माता जगदम्बाले दुष्ट, पापी र आसुरी राक्षसी प्रवृत्तिका व्यक्तिलाई नाश गर्न लिएकी हुन् । राँगो, बोका, भेँडा, हाँस, कुखुराजस्ता निरीह, अबोध, लाटासुधा पशुपक्षीको बध गर्नका लागि होइन । अर्थको अनर्थ लगाएर संस्कृतिको नाउँमा विकृतिलाई आत्मसात् गरिरहेकालाई कसरी चुपचाप हेरिरहेका छौँ ? आफैँले आफूलाई सोधौँ के यो ठीक गरिरहेका छौँ ? मनले भन्छ कदापि छैन ।
पशुबलि गर्नेहरूले वात्सल्यकी प्रतिरूप शक्तिस्वरूपा माता देवी भवानीलाई पशुभावले हेरिदिनाले यस्तो विकृति फैलिएको हो । माता देवी दुर्गालाई करुणाभावले हेरिदिऔँ त कहाँ आफ्ना सन्तति स्वरूपका पशुपक्षीको रगतको पिपासु हुन् उनी । उनी त करुणा, कल्याण र वात्सल्यकी खानी हुन् । यसैले त देवीभागवतमा भनिएको छ :
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
“अर्थात् हे माता हजुर सम्पूर्ण प्राणीको आमा हुनुहुन्छ । त्यसैले हजुरको नमन गर्दछौँ ।”
अबको शक्ति आराधना व्यक्तिपिच्छे रहेका स्रोतसाधन, विज्ञता र शक्तिका कणकण जम्मा पारेर समाज र राष्ट्रलाई समृद्ध बनाउने हुनु पर्छ । समाजलाई टुक्राउने, फुटाउने, विभाजन गर्ने गलत तìवलाई चिनेर दानवी शक्तिको अन्त्य गर्नुपर्छ । अबको सम्पूर्ण पूजा, आराधना, उपासनालाई राष्ट्रिय समुत्थानको यज्ञवेदीमा मानवीयता, आत्मीयता, मित्रताको चरुले सिञ्चन गरेर विकास, सद्भाव, प्रेम र भ्रातृत्वको जगमा संयम, सद्भावना र सेवाको बलले शक्ति भर्नु परेको छ । महान् उद्देश्य प्राप्तिमा पहिले जीवनमा समरसता, दिव्यता, नम्रता, शिष्टता, सात्विकतालाई अवलम्बन गर्नु पर्दछ तब मात्रै आत्मिकमनुष्यको प्रकटीकरण सम्भव छ ।
शक्ति आराधनाको यस परम पावन पर्वको महत्व नबुझेर निरीह पशुपक्षीको रगतले जति रक्तरञ्जित तुल्याउँछौँ त्यत्ति नै हामी अझै अन्धकारमा छौँ, अज्ञानतामा ग्रस्त छौँ, मानवीयतालाई बुझेका छैनौँ भन्ने बुझिन्छ । पशुको बलिले हामीभित्र रहेको पशुता हट्दैन । अहिले आवश्यक छ हामीभित्र रहेका अवगुणरूपी यावत् पशुताको बलि दिनु ।
घरदैलोमा आउन लागेको विजयादशमी, दशैँ, बडादशैँ जे भनौँ यसलाई सार्थक, लक्ष्यनिष्ठ एवं स्वयं आफू, परिवार, समाज र राष्ट्रको हितवद्र्धक हुने गरी मनाऔँ । यसमा अन्तर्निहित महानतालाई स्विकारी भएका कमीकमजोरी र विकृतिलाई हटाउँदै नेपाली मात्रको परम पावन पर्वका रूपमा यसलाई उजागर गर्न सबैले आ–आफ्नो तर्फबाट योगदान दिन सक्यौँ भने विजयादशमी सबैका लागि दिव्य र भव्य बन्न सक्छ किनभने यो शक्ति आराधनाको दिव्य पर्व हो ।