• ७ मंसिर २०८१, शुक्रबार

डिजिटल युगको आमसञ्चार

blog

विविध पृष्ठभूमि भएका जनसमुदायसम्म उन्नत प्रविधियुक्त माध्यमका सहायताले सङ्गठित संस्थाबाट एकसाथ जानकारीमूलक वा मनोरञ्जनात्मक सन्देश प्रवाह गर्ने क्रियाकलाप आमसञ्चार हो भन्ने विज्ञहरूको साझा बुझाइ छ । सरोकारवाला पक्षले यससँग गाँसिएर देखा पर्ने अनेक प्रश्नको सामना गर्दै जाने क्रम रहन्छ नै । आमसञ्चार मानव समाजमा चालु एक खुला प्रक्रिया हो । यसमा जोसुकैलाई सहभागी हुने वा नहुने स्वतन्त्रता हुन्छ । चलनचल्तीको परिभाषा अनुसार आममानिससम्म पुग्ने सञ्चार प्रविधि वा साधनको प्रयोग, द्वारपालको भूमिका, माध्यम र प्रयोगकर्ताबिच अन्तर्क्रियाको अपर्याप्त अवसर, अवयक्तिक प्रस्तुति, थोरै दक्ष व्यक्तिद्वारा धेरैभन्दा धेरै विविधतायुक्त अपरिचित मानिसलाई सन्देश प्रदान गर्ने जस्ता क्रियाले आमसञ्चारबारे प्रस्ट्याउँछन् । 

पुस्तक, पत्रपत्रिका जस्ता छापा माध्यम, रेडियो, टेलिभिजन जस्ता प्रसारण माध्यम वा मानवीय कथावस्तुलाई आवाज र चित्रलाई चलायमान गराउने प्रविधिको सहायताले साहित्यिक तथा कलात्मक शिल्पको प्रयोगद्वारा श्रव्य दृश्यात्मक ढाँचामा उतार्ने चलचित्र जस्ता माध्यमलाई आमसञ्चारका माध्यमका रूपमा बुझिँदै आइएको छ । अब पछिल्लो डिजिटल प्रविधिका कारण उक्त बुझाइ थप फराकिलो हुने निश्चित छ । 

आममानिसका लागि गरिने सञ्चार भएकाले प्रविधि र तौरतरिकामा आएका तुफानी परिवर्तनले पनि आमसञ्चारको तात्विक अर्थ बदलिने देखिँदैन । इन्टरनेटको व्यापकतासँगै मानिस आफ्नै कोठामा सीमित होलान् कि भन्ने डरबिच पनि नियालेर हेर्ने हो भने प्रयोगकर्तामा थप सामाजिकीकरण गर्ने चाहना बलियो देखिन्छ । स्थानीय विषयको वैश्विकीकरण तथा वैश्विक विषयको स्थानीयकरण आजको यथार्थ बनेको छ । त्यसैले, प्रविधि र माध्यम फरक परे पनि आमसञ्चारको शाश्वत अर्थमा भने तात्विक भिन्नता आउने देखिँदैन । 

आजको विश्वमा सूचना तथा सञ्चार प्रविधिले गुणात्मक फड्को मारेको छ । डिजिटल माध्यमको पहुँच विस्तारबाट नेपाली समाज मात्र अप्रभावित रहिरहन सक्दैन । हामीकहाँ पनि प्रयोगकर्ताको आनीबानीमा पनि फेरबदल आइरहेको छ । सूचनाको उपभोक्ता सूचनाको उत्पादक पनि बनिरहेको छ । त्यस्तै, सूचनाको उत्पादक सूचनाको उपभोक्ता पनि बनिरहेको छ । कन्टेन्ट र प्रस्तुतीकरणमा अनेक समस्या हुँदाहुँदै पनि आज आमसञ्चार क्षेत्रमा व्यापक परिवर्तन आएको तथ्यलाई नस्वीकारी धरै छैन । यस स्थितिमा आमसञ्चारको डिजिटलीयकारण बढ्नु स्वाभाविकै हो । 

सूचनाको खोज, उत्पादन, सम्प्रेषण तथा प्रयोगमा आएको छलाङले सूचना प्रविधिका विज्ञ, कन्टेन्ट सर्जक र प्रयोगकर्ताको जिम्मेवारी बढेर गएको छ । पहुँच विस्तार र जनस्तरमा गुणस्तरीय प्रयोगको समस्या विद्यमान भए पनि नेपाल पनि अब असीमित कनेक्टीविटी र सूचना प्रवाहको युगमा प्रवेश गरिसकेको छ । यस सन्दर्भमा, देखा पर्दै गरेका नयाँ लहर, आमसञ्चार क्षेत्रका रूपान्तरणकरी गतिशीलता र नेपाली समाजले व्यावहारिक अर्थमा बोध गर्नुपर्ने त्यससम्बन्धी निहितार्थबारे विचार गर्नु मनासिव ठहर्छ । 

इन्टरनेट प्रविधिको बजार विस्तारको लहरसँगै डिजिटल क्षेत्रमा आएको क्रान्तिले सूचना उत्पादन र वितरणको प्रक्रियालाई लोकतान्त्रीकरण गरेको छ । हामी कति लोकतान्त्रिक भयौँ वा भएनौँ र लोकतान्त्रिक वातावरणलाई हामीले कुन हदसम्म सदुपयोग ग¥याँै वा गरेनौँ भन्ने छुट्टै विवेचना गरिने विषय छँदै छ । तैपनि, सहज ढङ्गले सूचना उत्पादन र उपभोगमा पहुँच बढ्नुलाई सकारात्मक रूपमा लिनु पर्छ । जनस्तरमा कस्तो सूचना उत्पादन भइरहेको छ र त्यसको कस्तो प्रभाव समाजमा परिरहेको छ भन्ने विषय अध्ययन योग्य हुन्छ । यसबारे साँचो के हो भने डिजिटल फड्कोसँगै निर्माण भएको मिडिया सङ्केन्द्रणको वातावरणमा पाठ्य सामग्री, तस्बिर र श्रव्यदृश्य एकै थलोमा राख्न वा प्रयोग गर्न मिल्ने कारणले यो विषयले आमसञ्चार क्षेत्रमा विशेष महत्व राख्छ । 

इन्टरनेट र डिजिटल प्रविधिको पहुँच विस्तारलाई हल्काफुल्का ढङ्गले लिन मिल्दैन । प्रयोगकर्ता आफैँले सामग्री उत्पादन गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने हुनाले विशेषतः युट्युब, फेसबुक, एक्स (जुलाई २०२३ अगाडिको ट्विटर), इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल शक्तिशाली ठहरिएका छन् । सर्वसाधारण जनताले विविध विषयमाथि हुने बहसमा सहभागी हुनु, समाचारका जनपक्षीय विषय वस्तुलाई प्रकाशमा ल्याइदिनु र आफ्नो अनुभव, धारणा र सुझाव साझेदारी गर्नु भनेको लोकतान्त्रिकरणको महत्वपूर्ण प्रक्रिया नै हो । 

विविध सञ्चार प्रविधिको एकत्रीकरणले एकै उपकरणबाट प्रयोगकर्ताको असीमित प्रकारका राम्रानराम्रा मिडिया कन्टेन्टमा पहुँच विस्तार गरेको छ । यस अर्थमा, वर्तमान डिजिटल युगमा आमसञ्चारको जनस्तरमा के कस्तो प्रभाव पर्दै गइरहेको छ भन्ने विषय वास्तवमै सार्वजनिक महत्वको विषय हो । मिडिया सङ्केन्द्रणलाई सकारात्मक कोणबाट हेर्दा प्रगतिशील रूपले उत्प्रेरित एवं डिजिटल मिडियाको पर्याप्त साक्षरता भएका जनताले मिडिया र अन्तर्वस्तुको विविधताबाट असीमित लाभ उठाउन सक्छन् भन्ने बुझ्न सकिन्छ । उनीहरूले आफ्नो राजनीतिक, आर्थिक एवं सामाजिक सशक्तीकरणका लागि डिजिटल रूपमा आमसञ्चारको मनग्य सदुपयोग गर्न सक्ने ढोका खुला रहन्छ । यसका निम्ति डिजिटल सञ्चार साक्षरता र औसत आलोचाकीय चिन्तनको स्तर निर्माण गर्न सकिएन भने उपभोक्तावादी धारले सामाजिक मनोविज्ञानलाई स्थूलीकरण, सतहीकरण र भ्रष्टीकरण गर्ने खुला बजार त जहिल्यै आँ गरेर बस्ने कुरा त स्पष्टै छ । डिजिटल मिडियामार्फत सूचनाको बाढी आइरहेको छ । प्रयोगकर्तामा आफ्नो लागि तात्विक महत्व र सान्दर्भिकता बोकेका विषयवस्तुको छनोट तथा प्रशोधन गर्ने खुबी आवश्यक पर्छ । त्यसैले, वैश्विक मिडिया सङ्केन्द्रणको यस युगमा पर्याप्त मिडिया साक्षरता र औसत आलोचाकीय चिन्तनको आवश्यकतालाई जोड दिइन्छ । 

नेपालमा पनि मिडिया उपभोगको ढाँचामा परिवर्तन आउनु अनौठो होइन । अनलाइन प्लेटफर्ममा हुने गरेको विशाल सहभागिताबाट यो कुरा प्रस्ट हुन्छ । सामान्यतः प्रयोगकर्ताहरू आजकाल स्मार्ट फोनको पर्दामा चलचित्र हेरिरहेको भेटिन्छन् । मानिस नेट जडान भएको स्थानमा छन् भने सम्भव भएसम्म नेटजडित फोन प्रविधि प्रयोग गर्न चाहन्छन् । रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाले समेट्न नसकेका विषय वा घटनाबारे चासोपूर्वक सामाजिक सञ्जालमा खोजिन्छ । विद्यालयको खुट्किलो पार गरेको पछिल्लो पुस्ताले छापिएको पुस्तक पढ्ने बानीमा उल्लेखनीय कमी आएको देखिन्छ तर डिजिटल ढाँचामा पनि विद्युतीय पुस्तक कत्तिको पढिन्छ भन्ने प्रश्न कायम छ । सकारात्मक प्रकृतिको मानसिक रूपान्तरणबिना जीवनको सकारात्मक रूपान्तरण सम्भव हुँदैन । ‘तिम्रो विचार जस्तो छ, तिमी त्यस्तै बन्छौ’ भन्ने बुद्धको अभिव्यक्तिलाई स्मरण गर्ने हो भने नेपाली समाजले विचारको विकास गर्नेतिर विशेष ध्यान दिनु पर्छ भन्ने अर्थमा पनि बुझ्न सकिन्छ । विचारको विकासका निम्ति अध्ययन गर्ने बानी महत्वपूर्ण हुन्छ । पुस्तक अध्ययनले आफैँभित्र व्यापक चिन्तनको अभ्यास गर्न र मानसिक घटनाक्रमको प्रशोधन गरी ज्ञान उत्पादन गर्न टेवा पु¥याउँछ । पुस्तक पढ्नु मात्र अध्ययन होइन । बजारलाई पढ्नु पर्छ; समाजको अन्तर्यलाई सूक्ष्म परीक्षण गर्न सिक्नु पर्छ । त्यस्तै, प्रकृतिलाई स्पर्श गर्नु पर्छ । जनता नै विश्वविद्यालय हो भनिए झैँ धरातलीय सहभागिताद्वारा जनताको समस्या र धारणा बुझ्ने प्रक्रिया पनि अध्ययन गर्नु नै हो । यस सन्दर्भमा अध्ययताहरूले हासिल गरेको मौलिक ज्ञानलाई डिजिटल युगको आमसञ्चारका डिजिटल प्लेटफर्ममार्फत विस्तार र विकास गर्ने सकारात्मक बाटो उपलब्ध छ । 

डिजिटल युगको आमसञ्चारमा गलत सूचना र मिथ्या सूचना मुख्य चुनौती बनेका छन् । गलत सूचनामा अन्जानमा त्रुटि भएको हुन्छ भने मिथ्या सूचनामा जानीजानी झुटो प्रचार गर्ने नियत लुकेको हुन्छ । जसरी एउटा कलम सदुपयोग मात्रै होइन दुरुपयोग पनि भइरहेको हुन्छ, त्यसरी नै सूचना तथा सञ्चार प्रविधि पनि सदुपयोग मात्रै होइन दुरुपयोग पनि भइरहेको हुन्छ । त्यसैले, दुरुपयोगको सम्भावनाप्रति विशेष सजगता जरुरी छ । नेपाली समाजको नैतिक तथा मानसिक रूपान्तरणको एजेन्डालाई ध्यानमा राखेर सम्पन्न कन्टेन्टको पैरवी गर्नु, समग्र सञ्चार साक्षरता एवं आलोचाकीय चेतको प्रवर्धन गर्नु र डिजिटल मिडियामा सकारात्मक सहभागितासहित गलत तथा मिथ्या सूचनाको न्यूनीकरण र नियन्त्रणमा भूमिका निर्वाह गर्नु सचेत नेपाली नागरिकको कर्तव्य हो । 

Author

मोहन नेपाली