काठमाडौँ, भदौ २९ गते । कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् ।
क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । सरकारी निकाय, उद्योगपति, पर्यटन व्यवसायी तथा नीति निर्माण तहमा रहेका अधिकारीले सामूहिक आवाजमा पर्यटनलाई देशको मुहार फेर्ने उपयुक्त अस्त्रका रूपमा व्याख्या गरे ।
सांसद विनोद चौधरीले नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै भएको बताउनुभयो । “नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै हो, त्यसैले पर्यटन र होटल उद्योगलाई सबैभन्दा माथि लैजानुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको सम्पूर्ण अर्थतन्त्रमा नै परिवर्तन ल्याउनसक्ने क्षेत्र पर्यटन हो ।”
सांसद चौधरीले हिजोका दिनमा कतिपय मुलुकका पर्यटक नेपाल जाने र त्यसमा पनि सोल्टी होटलमा जाने भनेर रोजाइमा राख्थे भन्दै त्यस्ता किसिमका होटल पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली मौलिकता झल्कने होटल मात्रै सञ्चालनमा ल्याउन सकेमा लाखौँ पर्यटक नेपालमा ल्याउन सकिन्छ ।”
अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्त्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । विदेशी आगमनमा सकारात्मक बढोत्तरी भइरहेको र पर्यटकीय पूर्वाधार पर्याप्त रहेको अवस्थामा विदेशी पर्यटक बढाएर पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ पर्यटक आएका थिए ।
सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोका रूपमा रहेको होटल क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी बढिरहेको छ । होटल सङ्घ नेपालका अनुसार अहिलेको बजारको मूल्याङ्कनका हिसाबले करिब नेपालको वार्षिक बजेट बराबर देशभरका होटल क्षेत्रमा लगानी छ । झण्डै नेपालको वार्षिक बजेट बराबर होटल क्षेत्रमा मात्रै लगानी भएको छ । संसारका प्रख्यात ब्राण्ड पनि धमाधम नेपाल भित्रिरहेका छन् ।
मेरियट, हिल्टन, शेराटनलगायत होटलको प्रवेशले नेपाल विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको छ । सर्वोच्च शिखर सगरमाथा, प्रसिद्ध पवित्र पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथलगायत महत्त्वपूर्ण तीर्थस्थल आदिले पछिल्लो समय धार्मिक पर्यटक बढोत्तरी भइरहेको छ ।
टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष वसन्तराज मिश्रले नेपालको पर्यटन विकासका लागि हवाई सम्पर्क सञ्जाललगायत पूर्वाधार विस्तारका साथै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ ध्यान दिइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय चेन होटल आएका छन्, नयाँ–नयाँ प्रविधि भित्रिएको छ, अब मुख्य केन्द्रमा रहनुपर्ने विषय कनेक्टिभिटी हो, ३५ लाख क्षमताका पूर्वाधार भए पनि १० लाख पर्यटक आएका छन्, त्यसैले पर्यटक सङ्ख्या बढाउन कनेक्टिभिटीलाई सहज बनाउन आवश्यक छ ।”
दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहकको सबलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरकारले प्रतिबद्धता जनाएका सबै काम गर्दै जानुपर्ने बताउनुभयो । “संसारभर नेपालीले काम गरिरहेका छन्, हाम्रोमा काम गर्ने मान्छे नहुने भन्ने हुँदैन, प्राविधिक विषयको ज्ञान भएन होला, अन्य केही समस्या देखिए होला”, मिश्रले भन्नुभयो, “तर, यी समग्र विषयमा सुधार गर्न सके सोचेअनुसार पर्यटक आउने निश्चित छ ।”
पर्यटन क्षेत्रको अपार सम्भावनालाई लाभमा बदल्न व्यवसायी पनि निकै उत्साहित देखिएका छन् । शान्ति, स्थिर राजनीति र बलियो सरकार भएको अहिलेको अवस्थामा नेपालले पर्यटनबाटै बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने व्यवसायी एवं सरोकारवालाको धारणा छ ।
सांसद चौधरीले पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा नै आमूल परिवर्तन ल्याउन सक्ने भन्दै यसका लागि होटल तथा अन्य सम्पूर्ण पूर्वाधारको विकास र विस्तारमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । नेपालका लागि पदयात्रा व्यवसाय सबैभन्दा लोकप्रिय रहेको बताउँदै चौधरीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाएको खण्डमा पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकीय याम सुरु भएकाले हवाई उडान बढाएर सेवालाई सुरक्षित र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ढकालले आफूलाई नेपालबाट उडान सङ्ख्या घटाइएको विषयमा मलेसियन र कतारी राजदूतले समेत जिज्ञासा राखेको उल्लेख गर्नुभयो । “पर्यटन याममा उडान घटाउने होइन, बढाउनुपर्छ, हवाईमार्ग र सडकमार्गलाई चुस्त र प्रभावकारी बनाइनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो, यसका लागि होटलको सेवा शुल्कलाई समय सापेक्ष बनाउनुपर्छ ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अथाह सम्भावनायुक्त पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्द्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा तीन दशकदेखि चेन होटल आए पनि हाल चार/पाँच वर्षमा धेरै खुलेका छन्, आगामी दिनमा थप केही आउने तयारीमा छन्, यसरी चेन होटलले पर्यटक नेपाल आउनुले मुलुकमा केही सकारात्मक गतिविधि भइरहेको छ भन्ने हो ।” उहाँले विगतमा होटल र पर्यटन उद्योगलाई सम्भावनायुक्त तथा ठुलो क्षेत्रका रूपमा हेरिएको र अहिले लक्जरी होटल, नयाँ नयाँ प्रविधि र लगानी भित्रिँदै गएको बताउनुभयो । उहाँले होटलको लगानीलाई उद्योग सरह मान्यता दिइनुपर्ने, ३५ वर्ष पुरानो पर्यटन नीतिलाई परिवर्तन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा भारत, चीन, बङ्गलादेश श्रीलङ्कालगायत मुलुकमा बजारीकरण गरेर पर्यटक आवागमन बढाइनुपर्ने सीइओ जोशीको भनाइ थियो ।
जुनिपर होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार सराफले २५ वर्षदेखि गुणस्तरीय पर्यटनको कुरा गरिँदै आए पनि त्यसबाट बाहिर निस्कन नसकिएको बताउनुभयो । “विगत २०÷२५ देखि गुणस्तरीय पर्यटनको कुरा गर्दै आइएको थियो, अहिले पनि त्यही कुरामा अल्झिएका छौँ”, उहाँले भन्नुभयो, “नेपालले प्राकृतिक र पुर्खाबाट धेरै सम्भावनाका क्षेत्र पाएको छ, पर्यटनका लागि पशुपति, बौद्ध, लुम्बिनी जस्ता सम्पदा नेपालमै छन्, सरकारसँग हात थापेर नबसौँ, आफैँ अघि बढौँ ।”
भारतबाट अन्य मुलुकमा करोडौँ पर्यटक घुम्न जाँदा नेपालमा १२ लाख मात्र आएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “भारतबाट थाइल्यान्ड र अरू देशले करोडौँ पर्यटक लग्दा नेपालले कति भित्र्याउन सक्यो ? हामीले गुणस्तरीय पर्यटनको कुरा गरेको अर्थ के ? पर्यटकको आगमन बढ्न नसक्नुको कारण, विमानस्थल होला, प्रचारप्रसारको कमी पनि कारक हुनुपर्छ ।”
होटल सङ्घ नेपाल ९हान०का अध्यक्ष विनायक शाहले अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहे पनि करिब ३० प्रतिशत मात्रै पर्यटकलाई स्वागत गरेर कसरी लाभ लिन सकिन्छ भनी प्रश्न गर्नुभयो । उहाँले आर्थिक विकासमा पर्यटन क्षेत्रले टेवा पुर्याउँदै आए पनि पुरानो ऐन र नीति नियममा बसेर काम गर्दा गाह्रो परिरहेको बताउनुभयो । अध्यक्ष शाहले होटललाई उद्योग सरह मान्यता दिने उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको प्रतिबद्धताले यस क्षेत्रलाई उत्साह जगाएको बताउनुभयो । उहाँले उत्पादनमूलक, सेवामूलक उद्योगले विद्युत सहुलियतलगायत जुन सुविधा पाउँछन् होटललाई पनि सोही किसिमको सुविधा दिइनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले ऊर्जापछि नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले योगदान दिइरहेको बताउनुभयो । उहाँले भैरहवा, पोखरा, विराटनगरका विमानस्थललाई व्यवस्थित बनाइ त्यहाँबाट सीधा भारतको नयाँदिलीमा हवाई सेवा सञ्चालन गर्न सकिए पर्यटन विकासमा टेवा पुग्ने धारणा राख्नुभयो । नीतिगत सुधार र व्यवसायमैत्री वातावरण बनाएको खण्डमा नेपालमा पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस