• ९ मंसिर २०८१, आइतबार

४८ वर्षपछि घर फर्किनुभयो ढुण्डिराज

blog

ढुण्डिराज भट्टराई ४८ वर्षपछि घर फर्किएपछि । तस्बिर सौजन्य : शिव भट्टराई

हरि कोइराला 

उर्लाबारी, भदौ ४ गते । मोरङको तत्कालीन हसन्दह गाउँ पञ्चायत वडा नं.७ (हाल पथरीशनिश्चरे नपा–६ ) बाट ४८ वर्षदेखि सम्पर्कविहीन हुनुभएका ढुण्डिराज भट्टराई भदौ ३ गते घर प्रवेश गर्दा परिवारका हर्षका आँसु खसेका छन् । 

खोटाङ जिल्लाको लामिडाँडामा २०१४ सालमा जन्मिनु भएका ढुण्डिराज बसाई सराइको क्रममा सुनसरी जिल्लाको मधुबन हुँदै सट्टाभर्ना पाई मोरङको हसन्दह पुग्नुभएको थियो । हसन्दहबाटै हराउनुभएका ६७ वर्षीय भट्टराई गत साउन २१ गते हालको घर खोज्दै सुन्दरहरैँचा–३ मा पुग्नुभयो । 

तर, उहाँका बुबा तुलसीको १५ महिनाअघि मृत्यु भइसकेकोले काजकिरिया नगरी घरमा मिसिन दिइएन । त्यसपछि पूर्वीय शास्त्र अनुसार ढुण्डिराजले बुबाको किरिया गर्नुभयो । किरिया सकेर विधि पूर्वक भदौ ३ गते उहाँ घर प्रवेश गर्नुभयो । उहाँ घर प्रवेश गर्दा ९४ वर्षकी आमा, भाइ, दिदीबहिनी, ज्वाइँ, नातिनातिना लगायत परिवारका सदस्यहरू डाँको हालेर रुनुभएको छिमेकी शिव भट्टराईले बताउनुभयो । 

२०३३ साल यता सम्पर्कविहीन ढुण्डिराजलाई परिवारले माया मारिसकेको थियो । तर, घरमा टुप्लुक्क आइपुग्दा परिवार मात्र होइन, गाउँघरका सबै चकित भएका थिए । ढुण्डिराज भारतको मुम्बईस्थित एक आश्रममा बस्दै आउनुभएको थियो ।