राजकुमार भट्टराई
खोटाङ, भदौ ४ गते । खोटाङमा छौवा (पितृपुजा) गरेर फर्कने क्रममा धामी लडेर मृत्यु भएको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका डिल्लीसेर राई मृत फेला परेका हुन् ।
साबिकको टेम्मा–२ का ५५ वर्षीया राई साबिकको टेम्मा–३ गैरीगाउँमा छौवा (पितृपुजा) गरेर फर्कने क्रममा एक्लेबर भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । नछुङको झारफुक गर्ने काम गर्दैआएका राईको लडेर मृत्यु भएको अनुमान गरिएको प्रहरी चौकी याम्खाले जनाएको छ ।
उनी छौवा गर्नका लागि आफन्तसहित गैरीगाउँ गएका थिए । फर्कनेक्रममा सबैभन्दा पछाडि हिँडेका राई बेलामा नआएपछि खोजी गर्दा बाटोभन्दा करिब १२/१५ फिटमुनि मृत फेला परेको स्थानीय निर्मलकुमार राईले बताउनुभयो ।
मादक पदार्थ सेवन गरेको अवस्थामा राई लडेको अनुमान गरिएको छ । शवलाई मङ्गलवार पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीले जनाएको छ ।