• १२ असोज २०८१, शनिबार

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

blog

झापा, साउन १७ गते । काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका-६ निवासी मल्लिकले नेपाल बैङ्क लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताउनुभयो । विद्यालयको बैङ्क खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । 

तर, विद्यालयले बैङ्कबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैङ्कमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैङ्कबाट अनधिकृत रूपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनाबारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिनुभयो । 

प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । बैङ्कबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ ।

मल्लिकले प्रधानाध्यापक र लेखापाल दुवैको किर्ते हस्ताक्षर गरेको पाइएको छ । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनधिकृत रूपमा चेक काट्ने गरेका थिए । रासस