• १२ असोज २०८१, शनिबार

विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १६ गते । गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । यही आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको हो ।

विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्वारा विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ । २०६६ सालदेखि हाते रोपवे सञ्चालनमा आएतापनि जोखिम बढी भएकाले २०७१ सालबाट बन्द अवस्था रहेको थियो ।

गाउँपालिकाको हिक्लुङ–६ स्थित थुम्काबाट पृथ्बीराजमार्ग अन्तर्गत पिस्लिङ बजारसम्म तरकारी तथा सामान आवतजावत गर्न सहजता लागि हाते रोपवेलाई स्तरोन्नति गरी विद्युतीय रोपवे सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सानाले जानकारी दिनुभयो । उहाँका अनुसार सवार साधनबाट धेरै लागत लाग्ने भएकाले पनि ढुवानी खर्च असाध्यै कम रकममा सामान र तरकारी लान ल्याउन सकिने भएकाले पनि गण्डकी गाउँपालिकाका किसानलाई विद्युतीय राेपवेले निकै राहत हुने गाउँपालिकाले विश्वास लिएको छ ।  

गण्डकी गाउँपालिका ६ नम्बर र ७ नम्बर वडा तरकारीको मुख्य पकेट क्षेत्र भएकाले पनि ग्रामीण भेगमा सवारीसाधन वर्षाको समयमा सञ्चालन नहुने भएकाले विद्युतीय रोपवे साउन महिनाको तेस्रो हप्ताबाट सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाले जनाएको छ ।  

गण्डकी गाउँपालिका पृथ्बीराजमार्ग नजिकै रहेतापनि भौगोलिक रूपमा विकटता भएकाले पनि बर्खाको मौसममा गाउँपालिका भित्रका किसानहरूले उत्पादन गरेको तरकारीहरूलाई सहजै ढङ्गबाट काठमाडौँ, पोखरा र चितवनमा बिक्री वितरण गर्ने उद्देश्यले विद्युतीय रोपवे सुरु गर्न लागिएको गण्डकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।