• १२ असोज २०८१, शनिबार

उज्यालो बुटवल अभियान अन्तर्गत २३ स्थानमा 'हाइमास्ट लाइट'

blog

बुटवलको नयाँ बस पार्कमा हाईमास्ट लाइट जडान गरेपछि रातिमा देखिएको उज्यालो ।

छविलाल पाण्डे 

बुटवल, साउन १६ गते । उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ । बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएको हो ।

हाइमास्ट लाइटको मंगलबार साँझ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गर्नुभएको हो।

त्यस अवसरमा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई उज्यालो सहरका रूपमा विकसित गर्दै रात्रिकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रूप लिँदै गरेको बताउनुभयो । उहाँले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरूमा रातीमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरिएको बताउनुभयो । हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरिएको पनि उहाँले जानकारी गराउनुभयो । 

बुटवललाई उज्यालो सहर, हरियालीयुक्त सहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको बताउँदै उहाँले मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरूमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेको पनि जानकारी गराउनुभयो ।

बुटवलको योगीकुटी, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान गरिएको छ ।

त्यस्तै, बिपी चोक, जेसिज चोक, तीनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक, वधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा र नेपाल टेलिकम अगाडी, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान गरिएको बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार टेण्डरमार्फत् २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपियाँमा नेपाल पावर सोलुसन प्रालि हेटौँडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भई गत फागुन २ गते शिलान्यास गरिएको थियो ।