• १६ असार २०८१, आइतबार

बाढीले पुल र सडकमा क्षति

blog

बाढीले कमलमा पुर्याएको क्षति।

बिष्णुप्रसाद पोखरेल

दमक, असार १३ गते। लगारतको अविरल वर्षा र त्यसपछि आएको बाढीले झापाका विभिन्न स्थानमा भौतिक निर्माणमा ठुलो क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा सडक अवरुद्ध तथा आवतजावतमा समेत समस्या हुने गरी पुल, कल्भर्ट र सडक बाढीले भत्काएको छ।

झापाको हुलाकी सडकखण्डअन्तर्गत बाह्रदशी गाउँपालिकामा र झापा गाउँपालिका जोडने बिरिङ पुलको पूर्व र पश्चिमपट्टिको भाग अविरल वर्षाका कारण भत्किएको छ। यहाँ सवारी साधन आवतजावतमा नै समस्या भएको स्थानीयले बताएका छन्।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाका अनुसार वर्षा रोकिएका कारण चाँडो मर्मत गरेर जोखिमलाई कम गर्न प्रयास भएको छ। हुलाकी सडकको कार्यालय इटहरीको प्राविधिक टोली आएर निरीक्षण गरेको जनाइएको छ।

यसैगरी झापाको कमल गाउँपालिकामा क्षति पुगेको छ। कमल गाउँ पालिका वडा नं. १ समयगढ सोल्मारीको कज्जवे छेउको बाटो कटान गरेपछि आवतजावत बन्द रहेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जनाउनुभएको छ। बाढी कम भएकाले तत्काल पुन निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनुभएको छ।