• १४ असार २०८१, शुक्रबार

ताप्लेजुङको बजेट पाँच अर्ब रुपियाँ

blog

आठराई त्रिबेणीको बर्खे अधिवेशनमा बजेट प्रस्तुत गर्नुहुँदै उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १० गते । ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कुल पाँच अर्ब रुपियाँ बजेट सार्वजनिक गरेका छन् । 

सोमबार सात र यसअघि दुई स्थानीय तहले आगामी आवको लागि उक्त बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले आगामी आवका लागि कुल ६६ करोड ७६ लाख ७३ हजार ५५१ रुपियाँ बजेट ल्याएको छ । फुङ्लिङपछि दोस्रोमा सिरिजङ्घा गाउँपालिकाले कुल ५३ करोड ७७ लाख २९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

यस्तै, आठराई त्रिबेणी गाउँपालिकाले कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले ४६ करोड ७७ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड रुपियाँ रहेको छ ।

यसैगरी मैवाखोलाखा गाउँपालिकाको आगामी आवका लागि ४५ करोड ५३ लाख ३२ हजार रुपियाँ बजेट ल्याएको छ । मेरिङ्देन गाउँपालिकाले ४० करोड २० लाख ३० हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले ३७ करोड ४७ लाख ३२ हजार बजेट ल्याएको छ । 

जिल्लाका स्थानीय तहले सार्वजनिक गरेको बजेटमा ६५ प्रतिशत बढी चालू बजेट रहेको छ भने करिव ३५ प्रतिशत मात्र पुँजीगत बजेट रहेको छ । नौमध्ये सात स्थानीय तहले सोमबार बजेट सार्वजनिक गरेका हुन् भने दुई स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाले शनिबार र मैवाखोला गाउँपालिकाले आइतबार नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । 

बजेट सार्वजनिक गरेका स्थानीय तहहरुले असार २८ गतेसम्ममा प्रस्तुत बजेट पारित गर्नेगरी तयारी गरेको जनाएका छन् । स्थानीय तहले अधिकांश पुरानै योजनालाई निरन्तरता दिएको पाइएको छ ।