• १६ भदौ २०८१, आइतबार

विराटनगरको बजेट ३ अर्ब ४९ करोड

blog

विराटनगर महानगरपालिकाको १४ औं नगरसभामा प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 

विराटनगर, असार १० गते । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ । महानगरको सभा कक्षमा आज आयोजना भएको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले महानगरको नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । 

महानगरपालिकाले प्रस्तुत गरेको विनियोजन विधेयकमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपियाँ विनियोजन गरिएको छ । यस्तैगरी वित्तिय व्यवस्थातर्फ ५ करोड रुपियाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपियाँको बजेट प्रस्तुत गरेको हो । 

वार्षिक खर्च अनुमानका लागि सङ्घीय र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८३ करोड ६९ लाख २९ हजार रुपियाँ, आन्तरिक राजश्वबाट, १ अर्ब १० करोड ८६ लाख ८५ हजार रुपियाँ, चालु वर्षको मौज्दातबाट २५ करोड रुपियाँ, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विशेष, सशर्त, समपूरक अनुदानबाट ८९ करोड ३७ लाख रुपियाँ आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ । 

महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा ५९ करोड, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ५ करोड, चालु खर्चतर्फको दायित्व भुक्तानी गर्न ३ करोड ३४ लाख ८३ हजार रुपियाँ खर्च हुने अनुमान गरेको छ । महानगरले बहुवर्षीय ठेक्का तथा गौरवका आयोजनाहरुको सरिआएको दायित्व भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रमका लागि ५ करोड ६० लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै संरचना मर्मतसम्भार गर्न १० करोड रुपैयाँ र भारी सवारीसाधन खरिद गर्नका लागि २ करोड रुपियाँ विनियोजन गरेको छ । 

महानगरले सामाजिक विकासतर्फ ७८ करोड ७८ लाख रुपियाँ, स्वास्थ्य तर्फ २० करोड ५७ लाख रुपियाँ, महिला लक्षित कार्यक्रमका लागि ९९ लाख ५७ हजार रुपियाँ, सङ्घ संस्थातर्फ २ करोड ७० लाख रुपियाँ, लक्षित वर्ग कार्यक्रमका लागि ६२ लाख रुपियाँ, बालबालिका लक्षित कार्यक्रमका लागि ७० लाख ८० हजार रुपियाँ र युवा विकास कार्यक्रमका लागि ९५ लाख ८४ हजार रुपियाँ, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयमा ह्रास 

विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपियाँ राजस्व आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको हो । चालु वर्षमा १ अर्ब २ करोड रुपियाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपियाँ मात्र राजस्व सङ्कलन गरेको छ । असार मसान्तसम्म करिव ५५ करोड राजस्व सङ्कलन हुन सक्ने देखिएको राजस्व महाशाखाका प्रमुख सरोज गौतमले जानकारी दिनुभयो । 

आन्तरिक राजस्व बढाउन महानगरले चालु वर्षको कर तथा राजश्वको दरमा हेरफेर र क्षेत्रहरु विस्तार गरेको भएपनि राजस्व वृद्धि हुन सकेन । गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको भन्दा ८ करोड बढी राजस्व सङ्कलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ । 

विराटनगर महानगरपालिकाले आगामी वर्ष भौतिक पूर्वाधार, सामाजिक विकास, स्वास्थ्य र शिक्षातर्फ नियमित झैं बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ आफ्नै फार्मेसी सञ्चालन गर्ने महानगरले जनाएको छ । महानगरले आगामी वर्षका लागि नयाँ कार्यक्रमहरु भने प्रस्तुत गरेको छैन । महानगरले आगामी वर्षको अनुमानबाट झण्डै ४५ करोड रुपियाँ दायित्व भुक्तानी गर्नुपर्ने भएकोले नयाँ कार्यक्रमहरु समावेश गर्न नसकेको हो ।