• १६ भदौ २०८१, आइतबार

मौसम खुलेसँगै सडक मर्मत गर्न तम्सिए स्थानीयवासी

blog

श्रमदानमार्फत बाढीपहिरोले क्षति गरेको सडक मर्मत गर्दै साब्लाखुका स्थानीय।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ९ गते। मौसम खुल्न थालेसँगै ताप्लेजुङका स्थानीयले आफ्नो क्षेत्रमा रहेका सडकको मर्मत गर्न थालेका छन्। करिब डेढ सातासम्मको अविरल वर्षाका कारण क्षति भएका सडकको स्थानीय आफैँले मर्मत गर्न थालेका हुन्।

निरन्तरको वर्षाका कारण गएको बाढीपहिरोले यातायात अवरुद्ध हुनेगरी ठाउँठाउँमा सडक क्षतिग्रस्त भएपछि स्थानीयले सडक मर्मत गर्न थालेका छन्। मौसम खुल्न थालेपछि ग्रामीण सडकहरु स्थानीयवासी आफैँले मर्मत गर्न सुरु गरेका हुन्। सडक अवरुद्ध भएपछि यातायात सुविधाबाट वञ्चित हुनु रेकाले आफ्नो क्षेत्रको सडक आफैँ मर्मत गर्न थालेको स्थानीयवासी बताउँछन्।

सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका स्थानीयले शनिबारदेखि श्रमदानमार्फत सडक मर्मत गर्न सुरु गरेका छन्। स्थानीय शिक्षक सागर लिङ्देनका अनुसार आफ्नो क्षेत्रको सडकमा यातायात सुचारु गराउने उद्देश्य राखेर स्थानीयले बाढीपहिरोले क्षति गरेको ठाउँमा मर्मत गर्न सुरु गरेका हुन्। सडकमा थुप्रिएको पहिरो पन्छाउन र भत्किएको ठाउँमा मर्मत गर्न थालेको लिङ्देनले बताउनुभयो।

उहाँका अनुसार स्थानीयवासीले आफूसँग भएको काँटा, कोदालो, बेल्चा, झम्पल लगायतका घरेलु औजारसहित सडक मर्मत गर्न थालेका छन्। आफ्नो क्षेत्र वा टोलमा चाँडै यातायात सेवा सुचारु गनेगरी श्रमदानमार्फत सडक मर्मत गर्न जुटेको स्थानीयले बताएका छन्। त्यस्तै जिल्लाका अन्य स्थानीय तह र वडामा पनि ग्रामीण सडक मर्मत गर्न सुरु गरिएको छ।

सम्बन्धित स्थानीय तह वा वडासँग भएका जेसिभी, एक्साभेटर लगायतका उपकरण तथा स्रोत साधनको उपयोग गरेर साथै स्थानीयहरुले श्रमदानमार्फत सडक मर्मत गर्न थालेका छन्। गत जेठ ३०  गतेदेखि सुरु भएको अविरल वर्षाका कारण गएको बाढीपहिरोले सडक र पुलमा समेत क्षति पु र्‍याएकाले अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्।