• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा दुई सातापछि मौसम खुल्यो

blog

सदरमुकाम फुङ्लिङ बजार क्षेत्रमा मौसम खुलेपछिको दृश्य। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ६ गते। ताप्लेजुङसहित पूर्वका जिल्लामा मनसुनी वर्षासँगै प्रतिकूल बनेको मौसम एक सातापछि खुलेको छ। निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै बिहीबार अपराह्नदेखि मौसम खुलेको हो। 

गत जेठ २७ गते आइतबारदेखि ताप्लेजुङसहित पूर्वी क्षेत्रमा मौसम बद्लिएको थियो अर्थात् पानी पर्न सुरु भएको थियो। सुरुमा सामान्य वर्षा भए पनि गएको शनिबार रातिदेखि भीषण वर्षा भएको र वर्षाको क्रम बिहीबार बिहानसम्म कायम रहेको थियो। जनधनसहित ठुलो क्षति पुर्‍याउने गरी भएको निरन्तरको वर्षा बिहीबार बिहान करिब ११ बजे पछिदेखि रोकिएको छ।

वर्षा अर्थात् पानी पर्ने क्रम रोकिएसँगै ताप्लेजुङसहित पूर्वका पहाडी जिल्लाहरूमा घाम लागेको छ। निरन्तरको झरी र वर्षाका त्राससहित विभिन्न समस्या खेप्दै आएका सर्वसाधारण घाम लाग्न थालेपछि खुसी भएका छन्। 

फुङ्लिङ नगरपालिका-५ का स्थानीय सुकदल लिम्बूले झण्डै दुई सातापछि बिहीबार घाम देख्न पाएको बताउनुभयो।

घाम लाग्न थालेपछि निरन्तरको झरी र वर्षाका कारण बाढीपहिरो जाने, चट्याङसहितका अन्य समस्या केही कम भएर जानेमा सर्वसाधारण विश्वस्त बन्न थालेका छन्। अविरल वर्षाका कारण बाढीपहिरो र चट्याङको त्रासमा समय बिताउँदै आएका सर्वसाधारणले आवश्यक काम पर्दा पनि बाहिरफेर हिँडडुल गर्न नपाउँदा निकै सास्ती खेप्दै आएका थिए। 

बर्खा याम भएकाले वर्षा, झरी र बादल हुने नै भए पनि हप्तौँसम्म निरन्तर वर्षा भई दिँदा र मौसम नखुल्नाले सर्वसाधारणले निकै सास्ती खेप्दै आउनुपरेको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका स्थानीय वसन्त लिम्बूले बताउनुभयो। समय–समयमा वर्षा भई दिने र सोहीअनुसार समय–समयमा मौसम खुल्दा किसानसहित सबैलाई राम्रो हुने लिम्बूको भनाइ छ।

यता करिब दुई सातासम्म निरन्तर वर्षा हुँदा ताप्लेजुङमा मात्र बाढीपहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन्। यस्तै सयौँ चौपाया तथा पशुपन्छी मरेका छन्। हालसम्म ८१ परिवार विस्थापित भएका छन् भने सयौँ परिवार पहिरोको जोखिम परेका छन्। यसैगरी सडक, पुलपुलेसा, खानेपानी, विद्यालय भवन, विद्युतलगायतका संरचनामा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।