• १२ साउन २०८१, शनिबार

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तद्वारा ध्यानाकर्षण

blog

नेकपा(एमाले)का सांसद रघुजी पन्त

काठमाडौँ, असार ४ गते । नेकपा(एमाले)का सांसद रघुजी पन्तले सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुुहुँदै सांसद पन्तले सङ्घीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले अन्य कर्मचारीले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भए पनि संसद्का कर्मचारीहरुले नपाएको भन्दै संसद्का कर्मचारीमाथि अन्याय भएको बताउनुभयो ।

उहाँले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनी प्रश्न गर्नुभयो ।

‘‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसद्का कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाइ पनि छैन । तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीले पाएका छन्, त्यो सुविधा संसद् सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहिँ हुँदैन । उहाँहरुले कोभिड यता  ओभरटाइम गरेको कुनै पनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्ने कुरा त अन्याय भयो नि । त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने ।,’’ सांसद पन्तले भन्नुभयो, ‘‘अन्तका कर्मचारीले पाउने । संसद्का कर्मचारीले चाहिँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरु सबै हुनुहुन्न । वहाँ बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद हो कि होइन । ६, ७ महिना अगाडि जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्त्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नुभएन । उनीहरुलाई अब त दिन थालियोस् ।’’

सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।