• १३ साउन २०८१, आइतबार

नारच्याङको छेम्दीमा सडक पुग्यो

blog

छेम्दी गाउँ जोड्न निर्माण गरिएको कृषि सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको छेम्दी गाउँमा सडक पुगेको छ । बेसी गाउँदेखि करिब तीन किलोमिटर सडकको ट्रयाक खोलेसँगै छेम्दीको वस्तीमा सडक पुगेको हो । 

सडक सुविधाबाट वञ्चित स्थानीयहरु सडक विस्तारपछि खुसी भएका छन् । सडक निर्माणसँगै कृषकहरुले फलफूल, तरकारी लगायतका कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ ।  

गाउँपालिकाले छेम्दी कृषि सडक योजनाका लागि २०८० माघ २८ गते रुप्से बिल्डर्स प्रा.लि सँग पाँच महिनामा निर्माण सम्पन्न गर्नेगरी ५३ लाख ३४ हजार तीनसय ४१ रुपियाँमा ठेक्का सम्झौता गरेको गाउँपालिकाका सब इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको म्याद भित्र निर्माण व्यवसायीले योजना सम्पन्न गरेका छन् ।  

सुन्तला, सिमी र आलुको राम्रो उत्पादन हुने छेम्दी गाउँमा सडक पुगेसँगै कृषि उत्पादनलाई बजार लैजान सहज भएको वडा नम्बर ४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुन्जाले बताउनुभयो । सडक विस्तारले कृषि उत्पादनमा समेत थप वृद्धि हुने आशा गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "छेम्दीमा सुन्तला खेती राम्रो हुन्छ । सडक सुविधा नपुगेका कारण किसानले बोकेर सुन्तला सडक सम्म ल्याउनुपर्दथ्यो । सडक पुगेपछि सुन्तलाका साथै आलु, सिमी र कोदो बिक्री गर्न किसानलाई सहज हुनेछ ।"

गाउँपालिकाका सबै बस्तीमा सडक पुर्‍याउने लक्ष्य अनुसार छेम्दीमा सडक विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । ट्रयाक खोलेको उक्त सडकलाई आगामी दिनमा ग्रेड मिलाउने, घुम्ती सुधार, नाली निर्माण र ग्याबियन जाली लगाउनेलगायतका काम गरेर सडक स्तरोन्नति गरिने अध्यक्ष पुनले बताउनुभयो ।