• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

blog

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ, जेठ ३२ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुपर्ने परम्परा रहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको जिकिर गर्नुभयो ।

‘‘नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री भारतको लोकसभाको निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन जानु राम्रो हो तर उहाँले भारत गएपछि सङ्घीय संसदलाई बिर्सनुभयो । हाम्रो एउटा संसदीय परम्परा छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मन्त्री राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उद्देश्यले जाने, कति दिनका लागि जाने भनेर संसद्लाई जानकारी दिने बाध्यत्मक परम्परा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानुभएको छ । फर्कर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं । प्रधानमन्त्री सदनमा उपस्थित हुनुहोला । भारत भ्रमणको बारेमा जानकारी गराउनुहोला । सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौं ।’’

प्रमुख सचेतक लेखकले प्रतिपक्ष दल धैर्यपूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताउनुभयो । उहाँले  प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ । सचेतक लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङको माग गर्नुभयो ।