• १३ साउन २०८१, आइतबार

लोकतन्त्रमा जनादेश

blog

लोकतन्त्रमा जनादेश सर्वोपरि हुन्छ । मताधिकारमार्फत जनताले दिएको आदेशलाई सबैले स्वीकार गर्नै पर्छ । चुनावमा हारजित स्वाभाविक हुन्छ । चुनाव हार्दा आत्तिने र जित्दा मात्तिने गर्नु हुँदैन । मतदाताको पक्षमा काम गर्न नसक्दा चुनाव हारिन्छ भने राम्रो काम गरेको अनुभूति मतदाताले गरे भने चुनाव जितिन्छ । चुनावको परिणामलाई हार्ने र जित्ने दुवै पक्षले गम्भीर रूपमा लिने र आत्मसमीक्षा गर्नु पर्छ । 

विश्वकै सबभन्दा ठुलो लोकतान्त्रिक अभ्यास गर्ने मुलुक भारतमा सम्पन्न अठारौँ लोक सभा निर्वाचनको जनादेशले सबैलाई सचेत गराएको छ । निर्वाचनको परिणाम आउनुअघि गरिएका पूर्वानुमान र मत सर्वेक्षणविपरीत सबैलाई छक्क पार्ने मतपरिणाम आएको छ । यो परिणामले गठबन्धन गरेका सत्तापक्ष, प्रतिपक्षलगायत सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आआफ्नो सीमामा बस्न साथै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न पाठ सिकाएको छ । 

गठबन्धन गरे पनि पहिलो र दोस्रो कार्यकाल भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट एकल बहुमत ल्याएर शक्तिशाली सरकार चलाउनु भएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालको थालनी भने सहज भएन । सम्पन्न अठारौँ लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत ल्याए पनि भाजपा एक्लैले भने संसद्मा बहुमत गुमायो । प्रधानमन्त्री मोदीले गठबन्धनको नेतृत्व गर्दै आइतबारदेखि तेस्रो कार्यकाल सुरु गर्नुभयो । उहाँले पुराना र अनुभवी साथै केही नयाँ अनुहार गरी ७२ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । 

मोदीलाई भाजपा गठबन्धन संसदीय दलको नेता चयन गरी बहुमत दाबी पेस गरेपछि गएको शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । उहाँ लगातार तेस्रो कार्यकालमा पुग्ने जवहारलाल नेहरूपछिको पहिलो प्रधानमन्त्री बन्नुभयो । राष्ट्रिय कङ्ग्रेसका तर्फबाट एकल बहुमत ल्याएर नेहरू सन् १९५२, १९५७ र १९६२ गरी लगातार तीन पटक प्रधानमन्त्री बन्नुभएको थियो । 

मोदीले आइतबार साँझ राष्ट्रपति मुर्मूसँग पद तथा गोपनीयताको शपथ लिएर तेस्रो कार्यकाल सुरु गर्नुभएको हो । मोदीले निर्वाचनको जनादेश अनुसार सत्ता साझेदार दलहरूसँगको सहकार्य र सहमतिमा सरकार चलाउने र विपक्षीहरूलाई पनि विश्वासमा ल्याएर राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

भारतमा यस पटकको निर्वाचन परिणाम सोचेभन्दा फरक अनौठो आयो । यस्तो परिणाम आउने न सत्ता पक्ष न त प्रतिपक्षले सोचेका थिए । विगतका दुई कार्यकालमा भारतको राजनीतिमा प्रधानमन्त्री मोदीको दबदबा थियो । उहाँको महìवाकाङ्क्षा पनि बढी थियो । यस पटक प्रधानमन्त्री मोदी भाजपा एक्लैले ३७० सिट र सत्तारूढ गठबन्धनले चार सयभन्दा बढी सिट जित्न महìवाकाङ्क्षी योजनासहित चुनावमा होमिनुभएको थियो । भारतीय सञ्चार माध्यम पनि मोदीकै पक्षमा थियो तर चुनावी परिणाम सोचेभन्दा विपरीत आयो । 

अर्कोतर्फ प्रमुख प्रतिपक्षी राष्ट्रिय कङ्गे्रस नेतृत्वको गठबन्धन ‘इन्डिया’ ले मोदीको दबदबालाई अङ्कुश लगाउन सकिन्छ कि भन्ने झिनो आशासहित चुनावी मैदानमा होमिएको थियो । कङ्ग्रेस र गठबन्धन इन्डियाले यति धेरै सिटमा जनताले जिताउलान् भन्ने सोचेका थिएनन् । सत्ता पक्षा र प्रतिपक्ष दुवैले सोचेभन्दा फरक खालको चुनावी परिणाम आएपछि भारतको राजनीति तरङ्गित भएको हो ।

भारतको ५४५ सदस्यीय लोकसभा सिटमध्ये ५४३ सिटका लागि आमनिर्वाचन हुन्छ भने दुई सिटमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । बहुमतको सरकार बनाउन कुनै पनि दलले २७२ सिट जित्नु पर्छ । यस पटकको चुनावमा कुनै पनि पार्टीले २७२ सिट जित्न सकेनन्, जसले गर्दा भारतीय संसद् त्रिशङ्कु बन्यो ।

चुनावमा प्रधानमन्त्री मोदीको दल भाजपाले २४० सिट मात्र जित्यो । भाजपा गठबन्धनले भने २९३ सिट जितेर प्रस्ट बहुमत ल्यायो । प्रमुख प्रतिपक्ष कङ्ग्रेसले सोचभन्दा बढी ९९ सिट जित्यो भने कङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धन इन्डियाले २३२ सिट जितेर बलियो प्रतिपक्ष बन्यो । अन्य केही साना दल र स्वतन्त्रले १७ वटा सिट जिते । 

मोदी नेतृत्वको भाजपाले अघिल्लो दुई चुनाव (सन् २०१४ र सन् २०१९) मा एक्लैले बहुमत ल्याएको थियो । सन् २०१४ मा २८२ सिट र सन् २०१९ मा ३०३ सिट हात पारेको थियो । सरकार बनाउन चाहिने सामान्य बहुमत २७२ सिट हो । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को सन् २०१४ मा ३३६ र सन् २०१९ मा ३५२ सिट आएको थियो । लगातार दुई वटा चुनावमा पाएको मतबाट हौसिएका मोदीको यस पटक ‘अबकी बार चार सय पार’ को नाराले भाजपामा सिङ्गो कार्यकर्ता पङ्क्तिलाई उत्साहित गरेको थियो । यो मोदीमा उच्च महत्वाकाङ्क्षा र जितको आत्मविश्वास थियो ।

मतदाताले भने उहाँलाई बिहारका नेता नितिश कुमारको जनता दल युनाइटेड तथा आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको तेलुगु देशम पार्टीमाथि निर्भर रहनुपर्ने स्थितिमा पु¥याइदिएका छन् । मोदीलाई तेलुगु देशम पार्टीको १६ सिट, जनता दल युनाइटेडको १२ सिट, शिवसेनाका सात सिट र चिराग पासवानका पाँच सिटका अतिरिक्त साना दलहरूका थप २३ सिटले तेस्रो पटक प्रधानमन्त्री बन्न सहयोग पु¥याएको छ । चुनावी परिणामलाई सहज स्वीकार गरी गठबन्धन सरकारको नेतृत्व गर्नुभएका मोदीलाई अब नयाँ ढङ्गले अगाडि बढ्नुको विकल्प छैन । 

लगातार तेस्रो कार्यकाल सुरु गरेर नेहरूपछि नयाँ इतिहास बनाउनुभएका प्रधानमन्त्री मोदीले यो कार्यकाल सफल बनाउन निकै मेहनत गर्नुपर्ने भएको छ । सत्ता साझेदार दलहरूको सहमतिमा विश्वासको वातावरण बनाएर उहाँले पाँचै वर्ष सरकार चलाउन सक्नुभयो भने यसले भारतलाई नयाँ उचाइमा पु¥याउने छ । यस कार्यकालमा भारतको अर्थतन्त्रलाई विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनाउने बताउनुभएका मोदीले अबको ध्यान उत्पादन बढाउने, महँगी घटाउने, बेरोजगारी समस्या समाधान गर्न रोजगारीका अवसर सिर्जना गर्नमा केन्द्रित गर्नुपर्ने भएको छ । 

वास्तवमा कोभिड महामारीसँगै आमजनता महँगी र बेरोजगारीको मारमा परे । यो समस्याको सूक्ष्म विश्लेषण गर्न र समस्या समाधान गर्न सरकार चुक्यो । महँगीको मार र बेरोजगारी समस्याको समाधान नभएको त्यही जनआक्रोश चुनावमा पोखिएको हो । भारतीय मतदाताहरूले चुनावमा भाग लिएका सबै दल तथा स्वतन्त्र उम्मेदवारलाई राम्रो पाठ सिकाएका छन् । यो चुनावी जनादेश भनेको अतिवाद, उग्रवाद र सङ्कीर्णवादविरुद्धको सन्देश पनि हो । म नै सर्वेसर्वा हुँ भन्ने महìवाकाङ्क्षालाई दण्डित गरेको यो चुनावी परिणामबाट सत्ता पक्ष र प्रतिपक्ष दुवैले पाठ सिकेर विगतका कमीकमजोरी सच्याएर सहज ढङ्गले मुलुक चलाउनु पर्छ । 

भारतीय निर्वाचन आयोगका अनुसार यस पटकको चुनाव निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र धाँधलीरहित भएको छ । चुनावप्रति कसैको गुनासो छैन । यति ठुलो चुनाव हिंसारहित ढङ्गले सम्पन्न गराउनुले भारतको इज्जत बढेको छ । निष्पक्ष चुनाव गराउन सकेकोमा मोदीको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा भएको छ । 

भारतमा गएको अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा लोक सभा चुनाव सम्पन्न भएको हो । एक अर्ब ४४ करोड जनसङ्ख्यामध्ये करिब ९७ करोड मतदाता रहेको भारतका २८ राज्य र आठ केन्द्र शासित क्षेत्रमा चुनाव गराउन कर्मचारी, सुरक्षाकर्मी र स्वयम्सेवक गरी डेढ करोडभन्दा बढी जनशक्ति खटिएका थिए ।   

मोदी सन् २०१४ मा प्रधानमन्त्री भएयता कहिल्यै कमजोर देखिनु भएन । सन् २०१९ को लोक सभा चुनावले उहाँको लोकप्रियता अझै बढायो । केही विदेशी मिडियाले मोदीको कार्यशैलीप्रति प्रश्न उठाउँदै समाचार र टिप्पणी लेखे पनि भारतीय मिडिया जगत् मोदीका अगाडि नकारात्मक बनेन । मोदीमाथि प्रश्न उठाउने वा उहाँको आलोचना गर्ने साहस भारतका मिडियाले गरेनन् तर यस पटकको चुनावी परिणामले भने मोदी स्वयम्लाई सच्चिनुपर्ने अवस्थामा पु¥याएको छ । 

सन् १९५० को सेप्टेम्बर १७ मा गुजरातको सामान्य परिवारमा जन्मिएका मोदी युवा अवस्थाबाटै राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) मा लाग्नुभयो । उहाँलाई प्रधानमन्त्रीको कुर्सी दिलाउनेमा पनि आरएसएसकै हस्तक्षेपकारी भूमिकाले काम गरेको थियो । सन् १९८७ मा भाजपा आबद्ध मोदी यसमा जोडिएको १३ वर्षमै गुजरातको मुख्यमन्त्री बन्नुभयो । सन् २००१ देखि सन् २०१४ सम्म गुजरातको मुख्यमन्त्री भएयता उहाँ सत्ता र शक्तिबाट टाढा हुनु परेको छैन । उहाँ सन् २०१४ मा देशको प्रधानमन्त्री बन्नुभयो । पहिलो कार्यकालमा राम्रो काम गरेपछि सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । अहिले भने केही कमजोर अवस्थामा तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो । उहाँले यस पटक भने विगतभन्दा नयाँ ढङ्गले काम गर्नुपर्ने छ । 

पछिल्लो १० वर्षमा पार्टीभित्र वा सरकारमा मोदीलाई चुनौती दिन सक्ने र उहाँसँग मतान्तर गर्न सक्ने हैसियतमा कुनै पनि नेता देखिएका छैनन् । सरकार र पार्टी दुवै मोदीले चाहे अनुसार चल्दै आएको छ । अब भने त्यस्तो स्थितिमा परिवर्तन आएको छ । आफूसँग सहज बहुमत नभएपछि प्रधानमन्त्रीले चाहे जस्तो सबै कुरा सहज हुँदैन । गठबन्धनको सरकारमा जे पनि एक्लै गर्ने तरिका सजिलो हुँदैन । अब नयाँ भारतसँगै नयाँ मोदीको रूप पनि देखिनु पर्छ । 

यस पटकको चुनावी परिणामले ठुलो झड्का दिए पनि निस्वार्थी, त्यागी र भ्रष्टाचारमुक्त मोदीले विगत १० वर्षमा आफ्नो र सिङ्गो मुलुकको अन्तर्राष्ट्रिय छवि राम्रो बनाउनुभएको छ । विश्व शक्ति बन्ने होडमा रहेको भारतलाई लक्ष्यमा पु¥याउन मोदीले सबैसँग सहकार्य गर्दै भारतको विकासको गतिलाई थप तीव्र बनाउनु पर्छ । अमेरिका, युरोप, चीन, रुस, जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायतसँग राम्रो सम्बन्ध विस्तार गरी भारतलाई मनग्य लाभ कमाउने कार्यमा मोदीको योगदान प्रशंसनीय छ । उहाँले सबैसँग मित्रताको हात अगाडि बढाउनुभएको छ । यसलाई निरन्तरता दिँदै छिमेकीहरूसँगको सम्बन्धलाई थप घनीभूत बनाउनु पर्छ । 

   

Author

रामप्रसाद आचार्य