• १३ साउन २०८१, आइतबार

रूपान्तरणमा साना किसान कार्यक्रम

blog

समाज परिवर्तनशील हुन्छ । समाजको संरचनाले व्यक्ति, परिवार, टोल, समुदाय, जातजाति, धर्म, लिङ्ग, विभिन्न आर्थिक सङ्गठन, गैरनाफामूलक सामाजिक संस्था आदि सबैलाई समेटेको हुन्छ । समाजका यी सबै एकाइमा कुनै पनि सकारात्मक परिवर्तन आयो भने त्यो नै सामाजिक रूपान्तरण या परिवर्तन हो । परिवर्तनको गति समाजको स्वरूप, भूगोल, शिक्षा, सचेतना र समृद्धिका लागि गरिएका क्रियाकलापमा निर्भर हुन्छ । मानवीय सम्बन्धहरूको सञ्जाल र मानिसले सिर्जना गरेका पारस्परिक लाभका आधारलाई हरेक पक्षबाट बलियो बनाउनु नै सामाजिक रूपान्तरण हो । 

साना किसान विकास अभियानले साना किसान कृषि सहकारी संस्थामार्फत नेपालका गरिब किसानको सामाजिक र आर्थिक रूपान्तरणमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका छ । २०३२ सालमा नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरमा सुरु भएको साना किसान विकास कार्यक्रमले आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा नेपाल भरिका ५४५ स्थानीय निकायका एक लाख ४७ हजार ४२१ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । त्यसै गरी यस कार्यक्रमले ७७ जिल्लाका १० लाखभन्दा बढी घरधुरीलाई समेट्न सफल भएको छ, जसमा महिला सहभागिता ७९ प्रतिशत रहेको छ । अझ मधेशका महिला जो घुम्टो प्रथा, छुवाछुत, बोक्सी आदि अन्धविश्वासको दुश्चक्रमा फसिरहेका छन्, उनीहरूलाई यो कार्यक्रमले प्राथमिकताका साथ समेटेको छ । मधेशको सामाजिक रूपान्तरणका लागि यो सुखद विषय हो । 

मधेशका महिला छुवाछुत, दाइजो, घुम्टो आदि प्रथाबाट पीडित छन् । दलित भनेर कतिपय महिला हिंसाको सिकार भइरहेका छन् । कतिपयले बोक्सीको आरोपमा अत्याचार भोगिरहनु परेको छ । साना किसान कार्यक्रमले त्यस्ता महिलालाई सदस्य बनाएर उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने र सामाजिक जीवन सरल, सहज र प्रतिष्ठित बनाएको छ । जीवनस्तर उकास्ने र सामाजिक आर्थिक मूलधारमा ल्याउँदै उनीहरूको नेतृत्व विकासमा सहयोग गरिरहेको छ । कतिसम्म भने हिजो दलित भएकै कारण अपहेलना, भेदभाव र हिंसा भोगेका महिला संविधान सभा सदस्य बने । 

सिरहाकी दलित महिला रामरति देवीराम दलित भएकै कारण अरूले प्रयोग गर्ने बाटो प्रयोग गर्न पाउनु हुन्नथ्यो, धारो छुन पाउनु हुन्नथ्यो । पानी छोइदिएकै कारण कुटाइ खानु परेको थियो, जसको दाग आज पनि उहाँको अनुहारमा देखिन्छ । साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएपछि उहाँमा नेतृत्व क्षमता विकास भयो । संविधान सभाको निर्वाचनमा उहाँ सिराहाबाट संविधान सभा सदस्य बन्नुभयो । यसरी अल्पसङ्ख्यक र सामाजिक कुरीतिबाट प्रताडित मधेशका महिलालाई यो स्तरमा पु¥याउने काम साना किसान अभियानले गरेको छ । 

साना किसान अभियानमा नेपालका तराई, पहाड र हिमालका हरेक जिल्ला समेटिएका छन्, हरेक भाषा, जातजाति, धर्म, वर्ग, लिङ्ग, अल्पसङ्ख्यक र सीमान्तकृत समेटिएका छन् । विशेष गरी तराईका भूभागमा रहेका दलित, सुकुमवासी र अल्पसङ्ख्यकको आर्थिक सशक्तीकरण, गरिबी न्यूनीकरण, महिला विकास र कृषिको रूपान्तरण गर्दै मधेशका ग्रामीण बस्तीहरूमा सुधारात्मक आभास दिन यो अभियान सफल देखिएको छ । 

सदियौँदेखि मधेशलाई आक्रान्त बनाएको बालविवाह, दाइजो प्रथा, महिलामाथि हुने घरेलु हिंसा र अन्य समस्या न्यूनीकरण गर्न यस अभियानले भूमिका खेलेको छ । साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्यलाई विभिन्न किसिमका साक्षरतासम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ ।

साना किसान अभियानको महत्वपूर्ण अङ्ग नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले मधेश प्रदेशमा सदस्यलाई पर्ने विभिन्न समस्यामा निरन्तर क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने गर्छ । मधेशमा सम्बन्धविच्छेद, पैतृक सम्पत्ति, सम्पत्तिको स्वामित्व र न्यायमा पहुँच जस्ता क्षेत्रमा महिलाको समान अधिकारको पहुँचको अवस्था तुलनात्मक रूपमा नाजुक रहेको छ । यस्ता खालका भेदभावबाट सदस्य मुक्त नहुँदासम्म उनीहरू सामाजिक आर्थिक रूपले सक्षम हुन् सक्दैनन् । सदस्य कमजोर भएको संस्था आफैँमा कमजोर हुन्छ । कमजोर संस्थाले आशातीत उद्देश्य हासिल गर्न सक्दैन । तसर्थ, मधेशमा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले सञ्चालन गर्ने कार्यक्रममा संविधान र कानुनद्वारा प्रदत्त सदस्यका अधिकारको संरक्षण गर्न, उनीहरूको हितमा बहस र पैरवी गर्न साना किसान कृषि सहकारी संस्थाका सञ्चालक, कर्मचारी र अन्य सरोकारवालालाई प्रत्यक्ष र अप्रत्यक्ष निरन्तर अभिप्रेरित गर्दै आइरहेको छ । 

मधेशलाई विकासको अग्रगामी र सुधारात्मक दिशा दिन राज्यले जुन गतिमा कार्यक्रम र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सकेको पाइँदैन तर साना किसान विकास कार्यक्रमले राज्यको आँखा नपरेका सूक्ष्म सवालमा आफ्नो उपस्थिति बलियो बनाएको छ । यस कार्यक्रममा डोम, चमार, बनकरिया, मुसहर, दरै, चेपाङ, थामी, कुसुन्डा र राउटे जस्ता अति विपन्न र पिछडिएकालाई प्राथमिकतामा राखेर क्रियाकलाप सञ्चालन गर्ने गर्छ । 

विशेष गरी मधेशमा रहेका मुसहर, चमार, डोम जस्ता अल्पसङ्ख्यकलाई साना किसान कृषि सहकारी संस्थामार्फत आयमूलक क्रियाकलापमा समावेश गराउँदै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि भूमिका खेलिरहेको छ । समाजमा दुई किसिमका गरिब हुन्छन् । एउटा आर्थिक रूपले गरिब र अर्को सामाजिक रूपले गरिब । यी दुवै किसिमका गरिबीबाट मधेशका जनतालाई उकास्नका लागि यो कार्यक्रम महत्वपूर्ण औजार बन्न सफल भएको छ । महिला स्वास्थ्य शिविर, महिला जागरण अभियान जस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । 

मधेशमा महिला विकासको कार्यक्रमका रूपमा साना किसान कार्यक्रमलाई त्यहाँको समुदायले स्वीकार गरेको देखिन्छ । मधेश प्रदेशमा अधिकांश साना किसान कृषि सहकारी संस्था महिलाले नै चलाएका छन् । महिला नै सञ्चालक, कर्मचारी, सदस्य रहेका छन् । महिलाले नै उद्योग सञ्चालन गरेका छन् । महिला आफैँले उपभोग्य वस्तु उत्पादन गर्ने गर्छन् र बिक्री वितरण गर्ने गर्छन् । 

सामाजिक आर्थिक रूपले पछाडि परेका अल्पसङ्ख्यकका लागि वित्तीय पहुँचको भरपर्दो सहारा बनेको छ साना किसान कार्यक्रम किनभने यसले आफ्ना सदस्यलाई बचत गर्ने बानीको विकास गराएको छ । ऋणको सदुपयोग गर्न सिकाएको छ । स्थानीय समुदायलाई एउटा भावना, पद्धति, समूह र सूत्रमा आबद्ध गराएर जनसहभागितामा आधारित सामुदायिक विकास गर्ने काममा सहयोग गरेको छ । 

साना किसान कृषि सहकारी संस्थाले साना किसानलाई तरकारी खेती गर्न, पशु पालन गर्न तथा बाली संरक्षण गर्नका लागि सुलभ तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आइरहेको छ । आफ्ना सदस्यलाई उद्यमशील बनाउन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि लघु उद्यम कर्जा, ग्रामीण उद्यम कर्जा, स्वावलम्बन कर्जा जस्ता कर्जा प्रवाह गर्दै आइरहेको छ । साथै कृषि औजार खरिद गर्नका लागि कर्जा सुलभ कर्जा, सदस्यको शैक्षिकस्तर उकास्नका लागि विभिन्न शैक्षिक कर्जा पनि प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा बढ्दो लहर र त्यसबाट सदस्यलाई पर्ने ऋणको भार तथा विदेश जान लिने ऋणको कारण मिटरब्याजीको फन्दामा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै वैदेशिक रोजगार कर्जा (सुनौलो भविष्य कर्जा) प्रदान गर्ने गरेको छ । त्यसै गरी विदेशमा सिकेको सिप नेपालमा उपयोग गर्न प्रोत्साहन गर्नका लागि र युवा सदस्यलाई विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्न, आत्मनिर्भर बन्न प्रोत्साहन गर्नका लागि समृद्धि कर्जा प्रदान गर्ने गर्छ । 

स्थानीय बजार व्यवस्थापनका लागि साना किसान कृषि सहकारी संस्थाले मधेशमा उत्पादन हुने कृषि उपज, जस्तै धान, मकै, गहुँ, दलहन, तरकारी र फलफूल आदिको सङ्कलन, भण्डारण र खरिदबिक्री गरी किसानलाई आवश्यक सेवा प्रदान गर्दै आइरहेको छ । 

साना किसान कार्यक्रमले मधेशका महिला, अल्पसङ्ख्यक, दलित र सीमान्तकृत वर्गको सामाजिक र आर्थिक रूपान्तरणका लागि नेपाल सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकाय, विभिन्न गैरसरकारी सङ्घ संस्थासँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेको छ । यसले मधेशमा दिगो विकास लक्ष्य प्राप्तिका लागि क्षमता अभिवृद्धि, नेतृत्व विकास, सदस्यको आर्थिक सशक्तीकरण, उद्यमशीलाताको विकास गर्नका लागि उपयुक्त वातावरण तयार गर्न पनि सहज भएको छ । मधेशमा पिछडिएका महिला, विपन्न र सीमान्तकृत समुदायसम्म वित्तीय र गैरवित्तीय सेवाको पहुँच विस्तार गरी समुदायको सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको अवसर सिर्जना गरेको छ ।

Author

खेमबहादुर पाठक