• १२ साउन २०८१, शनिबार

स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशी सरकारमा नजाने

blog

डडेल्धुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी

प्रकाशविक्रम शाह
धनगढी, जेठ २८ गते ।
 सुदूरपश्चिम प्रदेश सरकारमा डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी सहभागी नहुने हुनुभएको छ । उहाँ वर्तमान सरकारका पक्षमा उभिँदै आउनुभएको छ ।

सोमबार साँझ ५ बजे प्रदेश सरकार विस्तार हुँदैछ । तर डा. जोशीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई भेटेर सरकारमा सहभागी नहुने बताएर फर्किनुभएको छ ।

उहाँले गोरखापत्रसँग कुरा गर्नुहुँदै, ‘‘अहिलेको अवस्थामा सात मन्त्रालय फुटाएर ११ बनाउने कुरासँग म सहमत छैन । त्यसैले सरकारमा जान उचित ठानिन्,’’ भन्नुभयो । ‘‘मन्त्रालय फुटाएर मन्त्री धेरै बनाएका कारण तपाईँको सरकार जोखिममा पर्छ त्यसैले मन्त्रालय नफुटाउनुस्, बरु राज्यमन्त्री बनाएर १० सदस्यीय बनाउनु भनेर मुख्यमन्त्रीलाई सुझाव दिए,’’ उहाँले भन्नुभयो, ‘‘तर उहाँको पनि आफ्नै बाध्यता छ जस्तो लागेको छ ।’’

सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको सहमतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मुख्यमन्त्री हुनु भएका सोडारीले हालका सात मन्त्रालय फुटाएर ११ पुर्‍याउने तयारी गर्नुभएको समाजवादीका उपनेता प्रकाशबहादुर रावलले बताउनुभयो ।

यद्यपि डा. जोशी सरकारमा नजाने भएपछि अब तीन मन्त्रालय मात्र फुटाइने बताइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी भइरहेको पनि डा. जोशीले बताउनुभयो ।

सरकारमा अहिले मुख्यमन्त्री र नागरिक उन्मुक्तिका दुई गरेर तीन जना हुनुहुन्छ । साँझ ५ बजे विस्तार हुने मन्त्रीमण्डलमा अब एमाले र माओवादीका तीन/तीन, समाजवादी नागरिक उन्मुक्ति दुई/दुई मन्त्रालय लिने सहमति भएको छ ।

सरकारमा आज सामेल हुने एमालेका सुरेन्द्र पाल आर्थिक मामिला र माओवादीका ओमविक्रम भाट सरलले सामाजिक विकास मन्त्रालय सम्हाल्ने बताइएको छ । यस्तै गरेर एमालेका वीरबहादुर थापा पाताल, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र समाजवादीका माया पन्त तत्काललाई विनाविभागिय मन्त्री हुने हुनु भएको छ ।