• १३ साउन २०८१, आइतबार

आँधीखोला उत्खननमा रोक

blog

वालिङ-१३ मा गिटी बालुवा निकालिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, जेठ २६ गते । 
वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वाभाविक रूपले उत्खनन् गर्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रोक लगाएको छ । प्रशासनले आँधीखोलाको वातावरणीय परीक्षण मूल्याङ्कन नगरी उत्खनन् नगर्न पालिकालाई अनुरोध गरेको हो ।

वालिङ नगरपालिकाले भुम्रे—अर्चबोट—तमादी—डुम्रेभञ्याङ्—बोनीडाँडा हुँदै सेतीवेणी गुल्मी सडक निर्माणका लागि चाहिने निर्माण सामग्री उत्खनन् गर्न निर्माण कम्पनीलाई नगरपालिकाले अनुमति दिएको थियो ।

ठेकेदार कम्पनीको अनुरोधका आधारमा सडक विभागले उक्त सडकलाई आवश्यक पर्ने झण्डै २५ हजार घनमिटर निर्माण सामग्री उपयुक्त स्थानबाट व्यवस्था गरिदिन अनुरोध गरेपछि नगरपालिकाले आँधीखोला उत्खनन् गर्न अनुमति दिएको थियो । पालिकाले यो वर्ष छ हजार पाँच सय घनमिटर निर्माण सामग्री निकाल्न अनुमति दिएको जनाएको छ ।

वातावरणीय परीक्षण मूल्याङ्कन नै नगरी नगरपालिकाले डोजर लगायत ठुला उपकरण मार्फत उत्खनन् गर्न अनुमति दिएपछि प्रशासनले हाललाई उक्त कार्य नगर्न भनेको हो । नगरपालिकाले पठाएको पत्र अनुसार जुन स्थानहरूबाट निर्माण सामग्री उत्खनन् गर्ने हो उक्त स्थानहरूमा इआईए नगरिएको देखिएकाले उत्खननमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

नगरपालिका वा सङ्घीय सरकारको गौरवको आयोजना निर्माणका लागि मात्रै इआइए गरेर मात्रै खोलाहरू उत्खनन् गर्न पाइने व्यवस्था छ । जसका लागि नगर कार्यपालिकाबाट निर्णय गराएर मात्रै प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । यस विषयमा वालिङ नगरपालिकाले कार्यपालिकाबाट पनि निर्णय नगरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो । 

धार्मिक, सांस्कृतिक पहिचान बोकेको आँधीखोला पछिल्लो समय दोहन बढी हुन थालेपछि स्थानीयले पनि विरोध गर्दै आएका छन् । राजस्व सङ्कलन हुने प्रलोभनमा स्थानीय सरकारहरू स्थानीय खोलानाला सँगै आँधीखोला बचाउने भन्दापनि उत्खननमा बढी जोड दिन थालेको आँधीखोला संरक्षण अभियानका संयोजक प्रकाश अर्यालको आरोप छ । अभियानको सक्रियतामा विगत दुई वर्षदेखि आँधीखोला सरसफाइ तथा संरक्षणका काम गरिँदै आएको छ ।