• १२ साउन २०८१, शनिबार

नेपाल बैंक शैक्षिक छात्रवृत्ति स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

blog

नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाल सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, जेठ २५ गते । नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबिच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो । साथै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपियाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक ढकाललाई हस्तान्तरण गर्नुका साथै उहाँहरूले सम्झौता-पत्र आदानप्रदान गर्नुभयो ।


कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुङ्गाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कुलहरूमा अध्ययनरत बालबालिकालाई सबल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने बताउनुभयो । यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप हौसला प्रदान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।


उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो । 

सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नका लागि नेपाल बैंकले ३० लाख रूपियाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ । खाता सञ्चालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ । अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल पुलिसका नौ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा र यस बमोजिमका सन्ततिहरू नभएमा अमररशहिदरअशक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कूल १ जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने लगायतका विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता शैक्षिक सत्र २०८१ देखि लागू हुनेछ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायब महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।