• १२ साउन २०८१, शनिबार

‘गोरखापत्रको बिरासत यसको विश्वसनीयता हो’

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गर्नुहुँदै । तस्बिर : शेखर चौलागाईँ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गोरखापत्र परिसरमा प्रदर्शनीका लागि राखिएका तस्बिरले नेपालको मौलिकता र ऐतिहासिकता बोकेको बताउनुभएको छ । सोमबार गोरखापत्र परिसरमा तस्बिरको अवलोकन गर्नुभएपछि गोरखापत्रसँग संक्षिप्त कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

प्रदर्शनमा राखिएको तस्बिर हेरेपछि त्यतिबेलाको नेपालमा पुगेको अनुभूति भएको उहाँले चर्चा गर्नुभयो । “२०३० सालदेखि २०६० सालसम्मका प्रदर्शित तस्बिरले नेपालको विकास क्रमलाई स्पष्ट रूपमा बोलेको छ” उहाँले भन्नुभयो, “राजनीतिक विषयवस्तुको तस्बिर प्रदर्शनीमा बढी परेका छन्, देशको उद्योग कलकारखानाका पुराना तस्बिर पनि आएको भए अझ राम्रो हुन्थ्यो ।” 


गोरखापत्रको सम्पत्ति र बिरासत भनेको पाठकबिच कायम यसको विश्वसनीयता भएको बताउँदै त्यसलाई बचाइराख्न उहाँले सुझाव दिनुभयो । गोरखापत्र सरकारी स्वामित्वको सञ्चार माध्यम भएकै कारणले पक्षधरता गर्न नहुने, राजनीतिक रङ अनुसारका समाचारलाई प्राथमिकताभन्दा सन्तुलित र तथ्यपूर्ण समाचारलाई प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो । 


उद्योग सञ्चालनमा सरकार केन्द्रित

उद्योगमन्त्री भण्डारीले नेपाली उद्योग सञ्चालन गर्ने र त्यसलाई बलियो बनाउने गरी सरकारले योजनासाथ काम गरिरहेको बताउनुभयो । कानुनी जालोले धेरै उद्योग समस्यामा परेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, “नेपालको कानुनमा जेलिएका उद्योगलाई उकास्न कानुन संशोधन गरी अघि बढ्ने योजना सरकारले बनाएको छ, नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन यहाँ उत्पादित वस्तुको उपभोगमा नीतिगत रूपमा सरकारले काम अघि बढाइरहेको छ ।” एक क्षेत्र एक उद्योगको कार्यनीति बजेटमै परिसकेकाले अब नेपाली उद्योगको सम्भावना बढेको उहाँको भनाइ छ । 


सबै सरकारी निकायमा हप्ताको दुई दिन नेपालमै उत्पादित पोसाक लगाउने, नेपाली उद्योगमा उत्पादित वस्तु उपभोग गर्ने नीति बनाएर सरकार अघि बढ्ने प्रयासमा रहेको उहाँले जानकारी दिनुभयो । “नेपाललाई लोडसेडिङ मुक्त’ भनेर घोषणा गरेका छौँ, तर उद्योगीहरूले उद्योगमा अझै लोडसेडिङ कायमै रहेको गुनासो गर्नुभएको छ, त्यहाँ पनि सुधार गरी अघि बढ्ने सरकारको नीति छ” उहाँले भन्नुभयो ।


नेपाली उद्योगका लागि लगानीमैत्री वातावरण बनाउन यसअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि सरकारले सम्पन्न गरिसकेको चर्चा गर्नुहुँदै मन्त्री भण्डारीले भन्नुभयो, “यहाँको व्यापार सन्तुलित बनाउँदै छौँ, उद्योग क्षेत्र हडतालमुक्त बनाउने गरी सरकारले काम गरिरहेको छ ।” सम्भावना हाम्रो वरिपरि भए पनि हामी काम खोज्न बाहिर जानुपरेको दुःखद स्थिति रहेको बताउँदै उहाँले नीतिगत सुधार गरी उद्योग सञ्चालन गर्ने र यही रोजगार सिर्जना गर्नेतर्फ सरकारको काम अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानको प्रकाशनबारे जानकारी गराउनुहुँदै यसका प्रकाशनहरू पब्लिकको सम्पत्ति भएको बताउनुभयो । गोरखापत्रका लागि सरकारी अनुदान एकदम न्यून भएको बताउनुहुँदै उहाँले भौतिक पूर्वाधार निर्माणमा सरकारको अनुदानका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो । गोरखापत्रले सरकारको गतिविधिसँगै नागरिकको आवाजलाई पनि प्राथमिकतासाथ प्रकाशन गरिरहेको उहाँले बताउनुभयो । 

गोरखापत्रका सबै प्रकाशनलाई समयानुकूल बनाउन डिजिटलाइज्डको काम भइरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “अहिले पनि गोरखापत्रका कर्मचारीहरू भूकम्पले क्षति गरेको भवनमा काम गर्न बाध्य छन्, नयाँ संरचना निर्माणमा सरकारले यथोचित सहयोग गर्नुपर्छ ।”

त्यस्तै, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले मन्त्री भण्डारीलाई तस्बिरबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, मन्त्री भण्डारीका प्रेस संयोजक रोशन खड्का, गोरखापत्र अनलाइन प्रकाशनका प्रमुख संयोजक लक्की चौधरी लगायतको सहभागिता थियो । 

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ