• १२ साउन २०८१, शनिबार

गर्मी बढेसँगै कैलालीका थप विद्यालय बन्द गरिँदै

blog

फाइल तस्विर

भावना जोशी 

अत्तरिया, जेठ १९ गते । अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि कैलालीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् । 

चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थी बेहोस हुने, पढ्न मन नगर्ने र विद्यालय आउन छाडेपछि पालिकाले सूचना जारी गरी बिदा दिन थालेका हो ।  कैलालीको अधिकांश स्थानीय तहले गर्मी बिदा दिइसकेका छन् । कैलालीको गोदावरी नगरपालिकाले समेत नगरभित्र रहेका विद्यालयलाई हप्ता दिनका लागि बन्द गर्न सूचना जारी गरेको छ । 

अत्यधिक गर्मी बढेपछि नगरपालिका भित्र रहेका सबै विद्यालय २० गते आइतबारदेखि बन्द गर्न भनिएको छ । नगरपालिकाले एक सूचना जारी गरी गर्मीका कारण बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरी २० गतेदेखि २५ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी नगरपालिका अन्तर्गत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरेको  छ । 

धनगढी उपमहानगरपालिका लगायतले एक हप्ताका गर्मी बिदा दिई सकेका छन् । कैलालीमा तापक्रम ४४ .२ डिग्री मापन भइसकेको छ । सो तापक्रम बढ्दो क्रममा छ ।