• १२ साउन २०८१, शनिबार

‘सरकारी मिडियाको पुँजी भनेकै पाठकको विश्वास हो’

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई ‘मायाको चिनो’ स्वरूप गोरखापत्रको पहिलो अङ्क र ‘परिवर्तित नेपाल’ पुस्तक हस्तान्तरण गर्नुहुँदै कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मिडियाको सबैभन्दा ठुलो पुँजी पाठक, श्रोता र विश्वास भएकाले त्यसका लागि गोरखापत्र संस्थानका प्रकाशन जहिले चनाखो हुनुपर्ने बताउनुभएको छ । 

गोरखापत्र परिसरमा राखिएका फोटो प्रदर्शनीको शुक्रबार अवलोकनपछि संक्षेपमा कुरा गर्नुहुँदै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । ‘अहिले मिडियामा अनेक किसिमका समाचार प्रकाशन तथा प्रवाह भइरहेका छन्, त्यसले पाठक, श्रोता र दर्शकलाई भ्रमित गरिरहेको छ, सरकारी मिडिया गोरखापत्रले त्यसलाई चिर्ने काम गर्नुपर्छ’ उहाँले भन्नुभयो, “निजी मिडियाका अधिकांश हेडलाइनले जनतामा भ्रम छर्ने काम गरिरहेको छ, गोरखापत्रलाई त्यस्तो गर्ने छुट छैन, गरिनु हुँदैन ।”


‘बजारमा अहिले जसले बढी प्रचार गर्न सक्यो त्यही ठिक हो कि जस्तो देखिन्छ, तर सत्यता त्यस्तो हुँदैन । प्रचार बढी गरेर मात्र सत्य स्थापित गर्न सकिँदैन । जे हो त्यही सत्य तथ्य समाचार सरकारी मिडियाले दिन सक्नुपर्छ’ उहाँले भन्नुभयो, “सरकारी मिडियाको सबैभन्दा ठुलो पुँजी भनेकै जनताको विश्वास हो, त्यसलाई कायम गरिरहनुपर्छ ।”

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राज्यलाई सबैभन्दा बढी गुण गोरखापत्रले लगाउने सरकारी मिडिया भएको बताउनुभयो । “गोरखापत्र पत्रिकाको कार्यालय मात्र होइन, यो आम जनताको विश्वासको केन्द्र र सम्पत्ति हो” उहाँले भन्नुभयो, “भौतिक संरचनामा संस्थान कमजोर भए पनि डिजिटलाइजेशनको काममा सबैभन्दा अगाडि छ,  हाम्रो सबै अङ्क डिजिटलाइज्ड भइरहेको छ ।”


आर्थिक मन्दिकाबिच पनि गोरखापत्र संस्थान निरन्तर नाफामा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “भौतिक संरचना निर्माणका लागि, आवश्यक बजेटका लागि माननीय मन्त्रीज्यूले पनि आवश्यक पहल गरिदिनुपर्छ, भूकम्पले चिरा परेको भवनबाट ज्यान जोखिममा राखेर कर्मचारीहरू काम गर्न बाध्य छन् । राज्यले यसमा ध्यान दिनुपर्छ ।”

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले अत्याधुनिक ल्याब कक्ष निर्माण गरी डिजिटलाइजेशनको काम गरिरहेको बताउनुभयो । अटोमेशनको काम गर्ने गोरखापत्र पहिलो मिडिया हाउस भएको दाबी गर्नुहुँदै उहाँले भन्नुभयो, “सरकार र जनतालाई जोड्ने काम गोरखापत्रले गर्दैआएको छ, भोलिका दिनमा पनि यो काम अझ परिष्कृत रूपले हुनेछ ।” गोरखापत्रको विज्ञापन बजार खुम्चिए पनि गोरखापत्र आफ्नै बलमा बाँचिरहेको बताउनुभयो । 


गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्रको सबैभन्दा ठुलो दायित्व भनेकै सरकारको काम जनताबिच लैजाने र जनताको समस्या सरकारसमक्ष पुर्‍याउने भएको बताउनुभयो । अहिलेसम्म कायम जनताको विश्वास नै गोरखापत्रको बलियो पुँजी भएको उहाँले प्रष्ट पार्नुभयो । 

मन्त्री अर्यालले सोअघि प्रदर्शनीमा राखिएका फोटो प्रदर्शनीको अवलोकन गर्नुभयो । गोरखापत्रले ऐतिहासिक तस्बिर राखेर पुरानो नेपालको चित्रको स्मरण गराउने काम गरेको उहाँले प्रतिक्रिया दिनुभयो । मन्त्री अर्याललाई फोटोग्राफी शाखाका प्रमुख राम हुमागाईँले तस्बिरबारे ब्रिफिङ गर्नुभएको थियो । 



मन्त्री अर्याललाई कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्रको पहिलो अङ्क ‘मायाको चिनो’ स्वरूप प्रदान गर्नुभयो । त्यस्तै, महाप्रबन्धक ऐरीले हालसालै प्रकाशनमा आएको ‘परिवर्तित नेपाल’ फोटोको सँगालो पुस्तक मन्त्री अर्याललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्री अर्यालका सचिवालयका सदस्यहरू, गोरखापत्र अनलाइन प्रकाशनका प्रमुख संयोजक लक्की चौधरी, पत्रकार सीता शर्मासहितको सहभागिता थियो ।