• १२ साउन २०८१, शनिबार

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई दिएन भिसा

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौँ, जेठ १७ गते। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति (भिसा) दिन अस्वीकार गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार कूटनीतिक नोटसहित विभिन्न निकायबाट पहल हुँदासमेत दूतावासले भिसा दिन अस्वीकार गरेको हो। 

बिहीबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सचिव खड्काले भन्नुभएको छ, ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टी २० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोट सहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ साथै आइसिसी बाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ।’  

दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले विश्वकपमा क्रिकेट खेल्न जान रोकेको हो । जबरजस्ती करणी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेपछि उहाँलाई यसअघि  क्यानले निलम्बन गरेको थियो। 

दुई साताअघि मात्र उच्च अदालत, पाटनले उहाँलाई  सफाइ दिएपछि क्यानले निलम्बन फुकुवा गरेको थियो । तर अमेरिकी दूतावासले पटक-पटक आवेदन दिँदासमेत भिसा नदिएपछि उहाँ विश्वकप खेल्नबाट वञ्चित हुनुभएको छ । 



यो पनि पढ्नुहोस

क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर