काठमाडौँ, जेठ २ गते । विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता एपिएफ एक खेल अगावै फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लगातार तेस्रो जित निकाल्ने क्रममा एपिएफले आयोजक ललितपुर मेयर–११ लाई आठ विकेटले हरायो । जितसँगै एपिएफले तीन खेलबाट ६ अङ्क बनाएको छ । पराजित ललितपुरको समान खेलबाट दुई अङ्क छ ।
जितका लागि ललितपुरले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रन बनाउनुभयो । ममता चौधरीले १६ रन जोड्नुभयो । बलिङमा ललितपुरकी किर्तिका मरासिनीले दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ७० रन बनाएको थियो । ललितपुरका लागि पूजा महतोले २४ र ज्योत्निका मरासिनीले २१ रन बनाउनुभयो । बलिङमा एपिएफकी रेखा रावल र सीता रानामगरले एक एक विकेट लिनुभयो ।