• ८ मंसिर २०८१, शनिबार

वातावरणीय प्रदूषणका असर

blog

विश्वव्यापी चासोका रूपमा रहेको जलवायु परिवर्तन र वातावरणीय प्रदूषणको मुद्दा नेपालका लागि गम्भीर चुनौतीको विषय बनेको छ । वातावरणीय प्रदूषणले पार्ने गहिरो असर र प्रभावको प्रतिविम्ब नेपालका विभिन्न भौगोलिक क्षेत्रमा नाटकीय रूपमा देखा पर्न थालिसकेको छ । विशेष गरी नेपालका हिमाच्छादित क्षेत्रमा हिँउको मात्रा पग्लिँदै गएर सेता हिमाल कालो अनुहारमा देखिन थालेका छन् भने त्यसको बदलामा हिमतालको सङ्ख्या अप्रत्याशित रूपमा वृद्धि हुँदै गएको छ । 

यति मात्र होइन, नेपालको उत्तरतर्फको हिमाली क्षेत्रमा हिमतालको आकार र क्षेत्रफल पनि क्रमिक रूपमा विस्तारित हुन पुगेको छ । हिमतालको सङ्ख्या र आकारमा आएको फैलावटसँगै कुनै पनि हिमताल आकस्मिक रूपमा विस्फोट हुन सक्ने जोखिम बढेको छ । यसै गरी पहाडी भूगोल र धरातल दिनप्रतिदिन क्षयीकरणको प्रकोपमा परी थप उजाड बन्दै गएका छन् । यता तराई प्रदेशका उर्वर जमिन सुक्खड बन्दै गएका छन् । यहाँनेर उल्लेखनीय पक्ष के छ भने वातावरणीय प्रदूषणका कारण धरातलीय संरचनामा देखा परेको ह्रास र बदलावसँगै मानवीय बस्ती, जैविक समुदाय र पारिस्थितिक प्रणालीमा समेत गम्भीर क्षति हुन पुगेको छ । 

विश्व परिप्रेक्ष्यमा अध्ययन गर्ने हो भने जलवायु परिवर्तनका कारण अहिले दुई अर्ब हेक्टरभन्दा बढी जमिन क्षय भएको छ । यसै गरी सन् २००० भन्दायता विश्वमा खडेरीको सङ्ख्या र यसको अवधि २९ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । यसको अर्थ अत्यधिक तातोका कारण भूमिको क्षयीकरण, मरुभूमीकरण र खडेरीको मात्रा अप्रत्याशित रूपमा वृद्धि भयो भन्ने हो । जसको परिणामस्वरूप १० लाखभन्दा बढी वनस्पति, जनावर र अन्य जीवित अवयव मेटिने जोखिममा छन् । 

दूषित हावा र रासायनिक प्रदूषणले गर्दा हाम्रो भूमि, समुद्र र स्वास्थ्यलाई अत्यधिक मात्रामा खतरामा पारेको छ । यसै गरी विभिन्न प्रकारका इकोसिस्टम सङ्कटमा पर्दै गएका छन् । विशेष गरी जङ्गल, खेतबारी, घाँसे मैदान, नदीताल, महासागर, सवाना र पहाडको पारिस्थितिक प्रणाली उच्च जोखिममा छन् । यद्यपि वातावरणीय क्षति र जोखिमको मात्रा जुन रफ्तारमा चुलिँदै गएको छ, त्यसको तुलनामा वातावरणीय सचेतना र वातावरण संरक्षणका प्रयत्न कछुवाको गतिमा घस्रिरहेका छन् ।

अहिलेको वातावरणीय समस्या भनेको जलवायु परिवर्तनको एउटा उपक्रम हो । तथापि वातावरणीय समस्या उत्पन्न हुनुमा प्रकृति मात्र कारकका रूपमा रहेको छैन । मानवीय गतिविधि र व्यवहार पनि त्यत्तिकै जिम्मेवार छ । जसको ज्वलन्त दृष्टान्तका रूपमा विश्वव्यापी उष्णतामा आएको वृद्धिलाई लिन सकिन्छ । यही विश्वव्यापी उष्णतालाई जलवायु परिवर्तनको भाषामा ग्लोबल वार्मिङ भनिन्छ । आज आर्थिक समृद्धिका लागि अत्यधिक मात्रामा कार्बनजन्य पदार्थको उपभोग गर्दा ग्लोबल वार्मिङको मात्रा उल्लेखनीय बिन्दुमा देखिएको छ । 

यसमा जीवाश्म इन्धन–कोइला, तेल र ग्यासको बढी भूमिका रहेको छ । उल्लिखित इन्धनको प्रयोग र उपभोगले आजको विश्वमा हरितगृह ग्यास उत्सर्जनको ७५ प्रतिशत र सबै कार्बनडाइअक्साइड उत्सर्जनको लगभग ९० प्रतिशत योगदान गरिरहेका छन् । यस कार्यमा प्रत्यक्ष भूमिका मानवीय, गतिविधि र व्यवहारको छ । मानिसबाटै वातावरण र सिङ्गो पृथ्वीमाथि पर्न गएको जोखिमको अवस्थाबाट पार लगाउनुपर्ने हुन्छ । 

संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रमको सिद्धान्त अनुसार “मानिसले गर्ने हरेक कार्य, चाहे त्यो सानो होस् वा ठूलो, पृथ्वीका लागि ज्यादै महत्वपूर्ण हुन्छ ।” त्यसको भएको हुँदा पृथ्वी, वातावरण, मानव, वनस्पति, जनावर र अन्य जैविक विविधताको संरक्षणका लागि सबैले आ–आफ्नो तहबाट केही न केही सकारात्मक कामको थालनी गर्नुपर्ने बेला आएको छ । 

यस कार्यमा सबैभन्दा बढी भूमिका विकसित र ठुला देशको हुने गर्दछ । अत्यधिक मात्रामा कार्बन उत्सर्जन गर्ने मापदण्डको आधारमा निर्णय गर्दा पनि सर्वाधिक दायित्व र जिम्मेवारी विकसित देशको नै हुन्छ । तथापि पृथ्वीको सदस्य भएको नाताले सामान्य नागरिकले पनि आफ्नो तहबाट गर्न सक्ने भूमिकालाई दायित्वकै रूपमा आत्ससात् गरेर केही न केही काम गर्नुपर्ने बेला आएको छ । अन्यथा भोलिको दिनमा पृथ्वी, मानव र जैविक विविधतामा आइपर्न सक्ने अस्तित्व रक्षाको सङ्कटबाट कोही पनि मुक्त हुन सक्दैन । 

जलवायु परिवर्तनले सिर्जना गर्ने विपत्ति, प्रकृतिको नोक्सानी र हावा, पानी र माटोलगायतका क्षेत्रमा भइरहेका घातक प्रदूषण सर्वाधिक हानिकारक छन् । यसबाट जोगिन कार्बन उत्सर्जनको मात्रामा जसरी पनि न्यूनीकरण गर्नुपर्ने हुन्छ । यसका लागि अपनाउनुपर्ने आजको महìवपूर्ण रणनीति भनेको जनचेतना अभिवृद्धि नै हो । जनचेतना अभिवृद्धिका लागि विकास सञ्चारको सिद्धान्त परिपालना गर्नुपर्ने हुन्छ ।

यहाँनेर विकास सञ्चार भनेको सकारात्मक सामाजिक परिवर्तन र दिगो विकासको उद्देश्य हासिल गर्न मिडिया (छापा, रेडियो, टेलिभिजन, अनलाइन) वा शिक्षा (विद्यालय शिक्षा, साक्षरता, प्रशिक्षण) सँग व्यवस्थित वा रणनीतिक रूपमा हस्तक्षेप गर्ने प्रक्रिया हो । मिडिया र शिक्षा क्षेत्रमा प्रयोग गरिने यस्ता रणनीतिले दिगो विकासको पक्षमा जनमत निर्माण गर्न चामत्कारिक आधार प्रदान गर्ने गर्दछ । त्यसो भएको हुनाले वातावरणीय चेतना र जलवायु प्रदूषणविरुद्ध जनचेतनाको स्तर अभिवृद्धि गर्न पनि विकास सञ्चारको मोडल कार्यान्वयनमा ल्याउन वाञ्छनीय हुन्छ ।

वातावरणीय क्षेत्रमा सकारात्मक प्रयासको थालनी गर्दा सानोभन्दा सानो कामलाई प्राथमिकतामा राख्दा पनि त्यसको प्रतिफल अर्थपूर्ण हुन्छ । उदाहरणका रूपमा प्लास्टिक र प्लास्टिकजन्य वस्तुको प्रयोगलाई न्यूनीकरण गर्ने नै लिन सक्छ । अहिले विश्वमा प्लास्टिक र प्लास्टिकजन्य वस्तुको उत्पादन, उपभोग र प्रयोगको कारणले गर्दा हाम्रो पृथ्वीमा प्लास्टिकरूपी विशाल पहाड खडा भएको छ । प्लास्टिक जमिन याने कि ‘पृथ्वी’ प्रदूषणको सबैभन्दा प्रमुख कारण हो । 

प्लास्टिक आफैँमा नकुहिने फोहोर भएको हुनाले यसको असर माटोको उर्वरा शक्तिमा पर्ने त रहन्छ नै, त्योभन्दा पनि गम्भीर प्रभाव सम्बन्धित जमिनको इकोसिस्टम समाप्त हुन पुग्छ । आज विश्वका धेरै जमिन इकोसिस्टम जोखिमको दोसाँधमा रहेका छन् । हुन त २०२४ मा प्लास्टिकका वस्तुको प्रयोगमा रोक लगाउने एजेन्डामा विश्वका देश सहमत भएका हुन् । तथापि यसलाई पूर्णतः विस्थापित गर्नेतर्फ ठोस पहल हुन सकेको छैन । कम्तीमा प्रयोगकर्ताका रूपमा सर्वसाधारण नागरिकले यस विषयमा आफूलाई जानकार बनाई तदनुरूपको अभ्यास विकास गर्न सक्यो भने पनि यस क्षेत्रमा महत्वपूर्ण प्रतिफल प्राप्ति हुने छ । यसका लागि पनि विकास सञ्चारको आवश्यकता परेको हो ।

पछिल्लो समयमा हाम्रो वायुमण्डल अप्रत्याशित मात्रामा प्रदूषित भइरहेको छ । वायुमण्डल प्रदूषित भएका कारण हाम्रो वरपरको वातावरण फोहोर हावाको अभिशरणको चक्रमा फस्न पुगेको छ । राष्ट्रसङ्घको अध्ययन अनुसार अहिले विश्वमा वायुमण्डलीय प्रदूषणका कारण अहिले विश्वको ९९ प्रतिशतभन्दा बढी जनसङ्ख्याले असुरक्षित सास फेर्न बाध्य भइरहेको छ । जसका कारण प्रत्येक वर्ष सात मिलियन मानिसको अकालमा मृत्यु हुने गरेको छ । फोहोर हावाको कारणले गर्दा मुटु, फोक्सोमा विभिन्न प्रकारका रोगका साथसाथै क्यान्सर र स्ट्रोकसमेत हुने गरेको अध्ययनमा देखिएको छ । 

साथसाथै वायुप्रदूषणको कारणले गर्दा प्राकृतिक वातावरणमा पनि उत्तिकै हानि पुर्‍याउने गरेको छ । हाम्रा नदीनाला, महासागरमा अक्सिजनको आपूर्ति घटाउने, बोटबिरुवालाई हुर्कन र बढन गाह्रो बनाउने तथा अन्य जलवायु सङ्कटमा विशेष योगदान पुर्‍याउने काम वायुप्रदूषणको कारणले भइरहेको छ । यस सवालमा कम्तीमा नागरिकको तहबाट सचेतनासहितको आवाज उठ्न सक्यो भने नियन्त्रणको अभियानका निश्चित रूपमा योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । 

नागरिकको तहबाट गर्न सकिने अर्को सरल काम भनेको वृक्षरोपण, बोटबिरुवाको संरक्षण र सुरक्षण हो । पर्यावरणीय सन्तुलनको सन्दर्भमा बोट, बिरुवा र रुखहरूसँग अपार क्षमता रहेको हुन्छ । पहिलो काम त यिनीहरूले वायुमण्डलबाट आउने कार्बनलगायत विभिन्न प्रकारका पदार्थको अवशोषण गर्दछन् । यसै गरी पृथ्वीमा रहेको माटोको सुरक्षा गर्ने र माटोलाई उर्वरक बनाउने काम पनि यिनीहरूको केन्द्रीय भूमिका रहेको हुन्छ । 

यति मात्र होइन, विभिन्न प्रकारका जनावर, चरा, सरिसृप र जीवलाई आश्रय दिन्छन् । यसै गरी क्षतिग्रस्त इकोसिस्टमलाई पुनस्र्थापना गर्न पनि रुख, बोटबिरुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सतही रूपमा विश्लेषण गर्दा रुख, बोटबिरुवाको भूमिका हामीलाई सामान्य जस्तो लाग्नु स्वाभाविक हो । वातावरण सङ्कटमा परेको वर्तमान समयमा अलिकति मात्र पनि वृक्षरोपण, संरक्षण र सुरक्षण कार्यमा काम गर्न सकियो भने त्यसले दिने फाइदा बहुमूल्य छ । 

संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रमले नीतिगत मापदण्ड र आधार तर्जुमा गरेको छ । यो पक्षलाई नागरिकको तहबाट पनि त्यत्तिकै गम्भीरताका साथ परिपालना गर्नु आवश्यक छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा भनेको नागरिकले वातावरणीय समस्याको विषयमा सचेत भई कार्बन उत्सर्जनका कारक देश, उद्योग र संस्थालाई निरन्तर खबरदारी गर्नु आवश्यक छ । आजको सन्दर्भमा वातावरण र जलवायु प्रदूषणको सवाल यत्तिमै सीमित रहेको छैन, यसको साइड इफेक्ट अर्थ, राजनीति र सामाजिक क्षेत्रसँग पनि प्रत्यक्ष रूपमा जोडिन पुगिसकेको छ । वातावरणीय प्रदूषणको गम्भीरताप्रति मानसिक रूपमा नै प्रोएक्टिभ भएर लाग्नुपर्ने बेला आएको छ । 

Author

डा. देवराज अर्याल