• ५ जेठ २०८१, शनिबार

तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)

blog

तरकारीको बेर्ना खरिदका लागि लाइनमा बसेका कृषक । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख २३ गते। मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले उत्पादन गरेको तरकारीको बेर्ना बिक्रीका लागि सूचना जारी गरेसँगै आइतबार बिहानैदेखि मार्फामा तरकारी खेती गर्ने कृषकको भीड लागेको छ ।

केन्द्रले वैशाख २१ गते सूचना जारी गरेर २३ गते बाट बिरुवा बिक्री वितरण गर्ने भनेपछि आइतबार बिहानैदेखि बागवानी विकास केन्द्रमा बिरुवा किन्ने कृषकको भीड लागेको  बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो।

मुस्ताङको पाँच वटै गाउँपालिकामा सूचना जारी गरिएकोले पनि सबै गाउँपालिकाबाट तरकारीको बेर्ना खरिदका लागि कृषक आइपुगेको उहाँको भनाइ छ।थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदर कुण्ड गाउँपालिका तथा लोमन्थाङ गाउँपालिकाका कृषक पनि तरकारीको बेर्ना खरिदका लागि मार्फा आएको उहाँको भनाइ छ ।



शीतोष्ण बागवानी विकास केन्द्रले यो वर्ष काउली, बन्दा, ब्रो काउलीका हाइब्रिड बेर्नालाई प्रति बेर्ना दुई रुपियाँका दरले बिक्री गरिरहेको छ।

त्यस्तै गोलभेडाको बिरुवा प्रतिगोटा तीन रुपियाँ, पिरो खुर्सानी र भेडे खुर्सानीको बेर्ना प्रतिगोटा दुई रुपियाँ र भ्यान्टाको बेर्ना पनि प्रतिगोटा दुई रुपियाँको दरले बिक्री गरेको आत्रेयले बताउनुभयो।काउली बन्दा तथा ब्रोकाउलीको बेर्ना एक कृषकले बढीमा एक सय गोटासम्म खरिद गरेर लैजाने व्यवस्था गरिएको छ।गोलभेडा, खुर्सानी र भ्यान्टाको बिरुवा ५० वटा मात्रै एक जनाले लैजान सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी काँक्रो लौका तथा जुकेनी पोलिब्यागमा रहेकोलाई प्रति बिरुवा २० रुपियाँका दरले बढीमा १० बिरुवा मात्रै एक जनाले किनेर लैजान सक्छन्।त्यस्तै रेड क्रियोल जातको प्याजको बेर्ना एक जनाले पाँच सय बेर्ना प्रतिगोटा एक रुपियाँको दरले खरिद गरेर लैजान सक्ने उहाँको भनाइ छ ।

थासाङ गाउँपालिका कोबाङका कृषक कमल गौचनले आफैले बिउँ किनेर जमाएर उमार्नु भन्दा बागवानी फार्ममा उमारेको बेर्ना किन्न सस्तो अनि गुणस्तर हुने भएकाले आफूले सधैँ बेर्ना खरिद गर्ने गरेको बताउनुहुन्छ।

मार्फाका कृषक दीपक लालचनले आइतबार पहिलो दिनमा भीड धेरै हुने भएकाले भोलि मात्रै आफूले खरिद गर्ने योजना बनाएको बताउनुभयो।

पाँच वटै गाउँपालिकामा सूचना गरेर सबै पालिकाको कृषकलाई तरकारीको बेर्ना बिक्री गर्ने योजना रहेको आत्रेयको भनाइ छ।बागवानी विकास केन्द्र मार्फाले गत आर्थिक वर्षमा कुल ६७ लाख १९ हजार पाँच सय ७२ रुपियाँ आम्दानी गरेकोमा तरकारीको बेर्ना बिक्रीबाट मात्रै दुई लाख तीन हजार दुई सय १० रुपियाँ आर्जन गरेको थियो।