• ८ जेठ २०८१, मङ्गलबार

चीन नेपालको स्थायित्वका लागि सहयोग गर्न चाहन्छ : महासचिव गुरुङ

blog

बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ ।

काठमाडौँ, वैशाख १९ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले चीनले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताउनुभएको छ ।

चीनको दश दिने भ्रमण सकेर फिर्ता भएपछि महासचिव गुरुङ बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

उहाँ चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीन भ्रमण सकेर फर्किनुभएको हो । भ्रमणमा चीन नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वको लागि सधैँ तत्पर रहेको बताउनुभयो । 

गुरुङले भन्नुभयो, ‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित भयौँ । चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।”

महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । 

भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबिचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कुल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको जानकारी दिनुभयो।

कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा. दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताउनुभयो । भ्रमणको अनुभव सुनाउँदै रोकायाले चीनले जस्तै तीव्र गतिमा विकास गरी नेपाललाई समृद्ध बनाउन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।