• ९ जेठ २०८१, बुधबार

लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तालिम

blog

तालिमममा सहभागि शिक्षक लगायत अतिथिहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १९ गते । सङ्घीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाइ, पर्याप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले अहिले विद्यालयहरूमा प्रायजसो यिनै समस्याहरू देखिने गरेको जनाउँदै त्यसतर्फ ध्यान दिन सकिए विद्यालयलाई उत्कृष्ट बनाउन सकिने बताउनुभयो । 

बासगढीमा सञ्चालन गरिएको शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिमको समापन गर्दै सांसद खातुनले सो बताउनुभयो । सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले बालबालिकाहरूलाई संस्कारी र व्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेकोले सो तर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका शिक्षकहरूलाई जिम्मेवार बनाउने उद्देश्यले सो क्षमता विकास तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उक्त तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार र शिक्षा सम्बन्धमा स्रोत व्यक्ति तालिमका प्रशिक्षक सञ्जीव कुमार जोशीले सहजीकरण गर्नुभएको थियो । तालिममा बाँसगढी नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू गरी करिब ४० जनाको सहभागिता रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उहाँका अनुसार तालिममा विद्यालयमा लैङ्गिकता, विद्यालयमा सुशासन, शिक्षा ऐन सरसफाई, खानेपानी, प्रविधिमैत्री विद्यालय, शैक्षिक नेतृत्व, बालिकाहरूका समस्या र अपाङ्गतामैत्री विद्यालय लगायतका विषयमा जानकारी गराइएको थियो । 

विद्यालयमा भौतिक तथा शैक्षिक सुधारका लागि तालिममा सिकेका महत्त्वपूर्ण ज्ञानले आगामी दिनमा थप काम गर्न सहज हुने तालिममा सहभागीहरूले प्रतिक्रिया दिनुभयो । 

कार्यक्रममा सङ्घीय सांसद खातुन, बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेग्मी, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक सिद्धिकी र अध्यक्ष तुलाधर लगायतले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

तालिममा प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक झलकमान विश्वकर्माले सहभागीहरूलाई तालिमको उद्देश्य र परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक महेश नेपालीले गर्नुभएको थियो । बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा सो तालिम सञ्चालन गरेको थियो ।