• ९ जेठ २०८१, बुधबार

अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै

blog

फूलबारी समाचारदाता 

फूलबारी (कैलाली), वैशाख १९ गते । कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । 

डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ । 

पुरैना ताल पुरिएपछि स्थानीयले अतिक्रमण गरी वर्षौंदेखि खेती लगाउँदै आएका थिए । मोहना नदीमा २०६५ सालमा आएको बाढीले पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा परिणत गरेको हो ।

उक्त ताल पुरिएपछि स्थानीयले खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको हो । वसन्ता सुरक्षित वन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैना ताल खेतीयोग्य जमिनमा परिणत भएर अस्तित्व सङ्कटमा पर्न थालेपछि त्यसलाई ब्युँताउने प्रयास थालिएको सम्बद्ध अधिकारी बताउँछन् ।

गृह मन्त्रालयको सरकारी जग्गा तथा वन अतिक्रमण हटाउने परिपत्र अनुसार अतिक्रमणमा परेका जग्गाजमिन खोज्ने, अतिक्रमणकारीलाई हटाउने र प्राकृतिक ताल तथा सम्पदा ब्युँताउने काम जारी रहेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताउनुभयो । 

सबडिभिजन वन कार्यालय भजनीका कर्मचारी मो. ताहा हुसेन मिकरानीको नेतृत्वमा पहलमानपुर अन्तर्गतका सबडिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुरैना तालमा ड्याम बनाउने काममा जुटेका छन् ।

पुरैना ताल वसन्ता जैविकमार्गसँग जोडिएकाले जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । यसको पुनर्निर्माण गर्दा प्राकृतिक सम्पदा ब्युँताउनका साथै जैविक विविधता संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालय प्रमुख रामबिचारी ठाकुरले बताउनुभयो । 

स्थानीयका अनुसार सयौँ बिघा क्षेत्रमा फैलिएको यो तालमा जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको वासस्थानका रूपमा रहेको थियो । वसन्ता जैविकमार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ वन्यजन्तु ओहोरदोहोर गर्छन । यो तालमा वन्यजन्तु पानी पिउन आउने गरेको बताइन्छ । 

तत्कालीन समयमा पनि तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति भएको थियो । सोही अनुसार ताललाई पुरानै स्वरूपमा ल्याउनका लागि ड्याम बनाउने काम अगाडि बढाइएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले जानकारी दिनुभयो ।