• ९ जेठ २०८१, बुधबार

अग्निपीडित त्रिपालमुनि : बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या

blog

लीलाधर वली

घोराही, वैशाख १९ गते । दाङको राजपुर गाउँपालिका–७, हाडबास निवासी ७० वर्षीय तिला योगी दुई दिनदेखि त्रिपालमुनि बास बस्दै आउनुभएको छ । जङ्गलमा लागेको आगोले राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७, हाडबास बस्तीमा पसेर २४ घर खरानी बनेपछि योगी परिवार बारीमा त्रिपाल टाँगेर बस्दै आएको छ ।

घरमा भएको लुगाकपडासहित अन्नपात जलेपछि राहतको खोजीमा रहेको परिवारलाई साँझबिहानको छाक टार्न पनि समस्या भएको छ । गाउँपालिकाले उपलब्ध गराएको प्लास्टिकको त्रिपालमा बस्ने गरे पनि दुःख गरेर उत्पादन गरेको अन्नपातसँगै कपडा जल्दा साँझबिहान छाक टार्न र लुगा फेर्न समस्या भएको उहाँ बताउनुहुन्छ । 

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको राहत लिन आएकी योगीले भन्नुभयो, “घरमा कमाउने कोही छैनन्, आगलागीका कारण घर जलेर खरानी भएको छ । राहतस्वरूप चाउचाउ, बिस्कुटलगायत सामग्री ल्याइदिनुभएको छ तर फेर्ने कपडा केही छैन ।” घरमा कोही नभएको समयमा आगलागी हुँदा लगाएको कपडाबाहेक केही बचाउन नसकेको उहाँ बताउनुहुन्छ । आगलागीका कारण घरमा भएको धनसम्पत्ति सबै जलेपछि पानी खाने गिलाससमेत नबचेको हाडवास निवासी सीता भण्डारी बताउनुहुन्छ । जङ्गलमा लागेको आगो राप्ती नदीको बगर हुँदै सुरुमा भण्डारीको घरमा सल्किएको थियो । 

भण्डारीको घरदेखि सल्किएको आगोले गाउँमा २४ घरगोठ जल्दा ज्यान बचाउन भाग्नुपर्ने अवस्था भएको स्थानीय बताउँछन् । उहाँले भन्नुभयो, “जङ्गलबाट नदीको बगरमा आइपुगेको आगो स्थानीयले निभाइसकेकाले पुनः आउला भन्ने सोचेका थिएनौँ ।”

“करिब तीन घण्टासम्म आगो निभाएर घरमा खाना खान आएको समयमा एक्कासि हाम्रो घरमा आगलागी भयो । त्यसपछि मानिस जम्मा हुँदाहुँदै एउटा घरबाट अर्काे घर हुँदै खरको छाना भएका सबै घर सल्किए,” उहाँले सुनाउनुभयो । 

आगोसँगै मडारिएर आएको हावाहुरीका कारण स्थानीयले निकै प्रयास गरे पनि आगो रोक्न नसकेको उहाँ बताउनुहुन्छ । तीन कोठाको घर जलेपछि हाडवासनिवासी भिमीकुमारीको परिवार पनि आँपको बुटामनि रात काट्दै आएको छ । पाँच जनाको परिवार एउटा त्रिपालमुनि नअट्ने भएपछि सबै परिवारका सबै सदस्य आँपको रूखलाई सहाराका रूपमा लिएर बसेको भिमीकुमारी बताउनुहुन्छ । 

आगलागीको समयमा घरमै भए पनि हावाहुरीसहित फैलिएको आगोबाट जोगिन भाग्नुपर्दा केही बचाउन नपाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक दुई वटा घरमा मात्रै आगलागी भएको भए बचाउन सकिन्थ्यो होला, यहाँ गाउँ नै सखाप भएको छ ।” “हरिया रुख पनि बल्न थालेपछि ज्यान जोगाउनै धौ धौ भयो । अन्नपात र कपडा कसरी बचाउने ?” उहाँले भन्नुभयो । 

गर्मी र हावाहुरी चल्ने समयमा आगलागी हुँदा खुला आकाशमुनि बस्नुपर्ने भएकाले गर्मीमा बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । दिउँसो चर्काे गर्मीसँगै हावा चल्ने गरेका कारण त्रिपाल उडाउने भएकाले यहाँ गतिलो बस्ने ठाउँसमेत बन्न सकेको छैन । वडाध्यक्ष पुष्कर वली उहाँहरू मात्रै होइन, आइतबार दिउँसोको अर्को आगलागीमा परेकाको अवस्था पनि त्यस्तै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगलागी नियन्त्रणका लागि लमही नगरपालिका र गढवा गाउँपालिकाबाट दमकल आए पनि बाटोका कारण बस्तीसम्म आउन सकेनन् । यसले गर्दा पनि ठुलो क्षति हुन गयो ।” आगलागीका कारण खानेपानीको पाइप जल्नुका साथै विद्युत्का पोल ढलेपछि खानेपानी र विद्युत्को समेत समस्या भएको छ । 

आगलागीबाट विस्थापित पीडित परिवारलाई समयमै राहत पु¥याउनेदेखि पुनस्र्थापनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी बताउनुहुन्छ । अग्निपीडितलाई पहिलो चरणमा जिल्ला दैवीप्रकोप कोषलगायतका विभिन्न सङ्घसंस्थाबाट खाद्यान्नसँगै अस्थायी आवासको व्यवस्थापनका त्रिपाललगायत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । आगलागीका कारण हाडवासमा २४ घरगोठसँगै छ वटा पशुचौपायासमेत गरी ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।