• ३१ वैशाख २०८१, सोमबार

बस्ती जलेपछि हटाइँदै फुसका छाना

blog

वडा नम्बर १३ मा फुसका छाना हटाएर जस्तापाता वितरण गरिँदै ।

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख १६ गते । जङ्गल बिचमा रहेका बस्ती आगलागीका कारण जल्न थालेपछि फुसका छाना हटाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १३ मा जङ्गल बिचमा रहेका बस्तीमा फुसका छाना हटाएर जस्ताको व्यवस्थापन गरिएको हो । 

तुलसीपुर उपमहानगरपालिका १३ सिमलखुट्टीमा वैशाख ४ गते राति जङ्गलमा लागेको आगो बस्तीमा हावा उडाएर तीन वटा घर पूर्णरूपमा क्षति भएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । वडाध्यक्ष पौडेलले बस्तीमा दिनहुँ जोखिम बढेपछि तत्कालका लागि निकै जोखिम रहेका २२ वटा घरमा जस्तापाताको व्यवस्थापन गरिएको बताउनुभयो । पौडेलका अनुसार दुई वर्षभित्र वडामा रहेका फुसका छाना भएका घरमा जस्तापाताको व्यवस्था गरिने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका १३ सिमलखुट्टी तीर्थ विश्वकर्माले २०७८ सालमा घर निर्माण गरेको घरमा जस्तापाता पाएपछि फुसको छानो हटाउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा मात्रै एक सय २५ वटा फुसका छानाका घर छन् । पालिकाको पालिकाले फुसका छाना हटाउने कार्यक्रम सुरु गरेको थियो । 

संघीय सरकारले नै फुसका छानो हटाउने कार्यक्रम ल्याए पनि गत वर्ष भने पालिकाको संघ क्षेत्रभित्र पर्ने १६, १७, १८ र १९ बाहेक अन्य वडामा यो कार्यक्रममा बजेट परेको थिएन । तुुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले फुसका छाना हटाउने कार्यक्रमलाई पालिकाले विगतमा बजेटको व्यवस्थापन गरेको र संघीय सरकारले नै कार्यक्रम ल्याएपछि पालिकाले हटाएको बताउनुभयो । उहाँले अहिले संघीय सरकारले पालिकाभित्र फुसका छानो हटाउने कार्यक्रमका लागि बजेट कटौति गरेकाले आगामी वर्षदेखि पालिकाले नै व्यवस्था गरेर वडा नम्बर १, ३, ४, १३ र १९ मा फुसका छानो भएका घर भएकाले ती हटाएर जस्तापाताको व्यवस्थापन गरिने बताउनुभयो ।