• ३० वैशाख २०८१, आइतबार

तराईका संघारी पहाडका पौरखी

blog

नेपाल प्रेस युनियन डोटी शाखाको भवन निर्माण गर्दै टीकाराम चौधरी ।

केशवचन्द्र महरा

दिपायल, वैशाख १६ गते । कैलालीको टीकापुर नगरपालिका–६, नारायणपुरका ३३ वर्षीय टीकाराम चौधरी कामको खोजीमा पहाड उक्लिनुभएको १५ वर्ष बित्यो । पहाडका युवा कामको खोजीमा तराईलगायत सहरमा झर्दा उहाँ भने २०/३० जना कामदारको समूह नै बटुलेर पहाड उक्लिने गर्नुहुन्छ । १८ वर्षको उमेरदेखि सहयोगी कामदारका रूपमा पहाड चढेका चौधरी घर बनाउने दक्ष मिस्त्रीका रूपमा चर्चित हुनुहुन्छ । पहाडी क्षेत्रमा कङ्क्रिटको ठुलठुलो भवन निर्माणमा उहाँको विशेष दक्षता रहेको छ । 

तराईबाट २०/३० जना संघारी (साथी) को नेतृत्व गर्दै पहाडी उक्लिने चौधरी चार/पाँचतले भवन निर्माण गर्न सिपालु हुनुहुन्छ । डोटी जिल्लामा निर्माण गरिएका अधिकांश घर तथा भवन निर्माणमा उहाँको सिप र परिश्रम खर्चिएको छ । सात वर्षमा करिब ४२ भन्दा बढी निजी तथा सरकारी भवन निर्माण गरिएको जानकारी उहाँले दिनुभयो । “यस वर्ष पाँच वटा भवन निर्माणको जिम्मा लिएका छौँ,” चौधरीले भन्नुभयो, “वैशाखभित्र निर्माण पूरा भएपछि थप कामको जिम्मा लिन्छौँ । कामदारको माग पनि बढेको । समय मिलाउन धौ धौ परेको छ ।” 

काम नपाएर भारतलगायत खाडी मुलुक भौँतारिनेका लागि तराईका संघारीको समूह उदाहरण बनेको छ । मजदुरका रूपमा बर्सेनि पहाड उक्लिने संघारीको समूह चाडपर्व र खेतीपातीका समयमा मात्रै तराई झर्ने गरेको छ । टीकारामले आफूसँगै श्रीमतीलाई पनि कामका लागि पहाडमा नै ल्याउने गर्नुभएको छ । तराईको भन्दा पहाडमा कामको चापका साथै पारिश्रमिक पनि राम्रो पाइने गरेको भनाइ उहाँको छ । 

उहाँको श्रीमती सीमा चौधरी आफ्नो मुख्य आयस्रोत नै निर्माण व्यवसाय बनेको बताउनुहुन्छ । पहाड उक्लिनुभन्दा पहिला टीकारामको परिवार खेतीपातीमा आश्रित थियो । पछिल्लो समय भने मुख्य आयस्रोत नै निर्माण व्यवसाय बनेको छ । 

कामको खोजीमा पहाड चढ्न थालेपछि आर्थिक अवस्थामा निकै सुधार आएको भनाइ चौधरी दम्पतीको छ । चौधरीले पहाडमा घर निर्माण गरेर सात जना परिवार धानिरहेका छन् । घरपरिवारका सदस्यको औषधी उपचार र तीन बच्चाको पढाइ खर्च कटाएर वार्षिक तीनदेखि चार लाखसम्म बचत हुने गरेको कालिगड टीकारामले बताउनुभयो । उहाँसँग कार्यरत मजदुरले मासिक ३० हजारसम्म कमाउने गरेका छन् । 

टीकाराम दम्पती र संघारीको समूह एउटा उदाहरण मात्रै हो । विकास निर्माणका काममा तराईका संघारीको पहाडी जिल्लामा उल्लेखनीय सहभागिता रहेको छ । भवन निर्माण, सडक निर्माण, सिँचाइलगायतका कङ्क्रिट सिमेन्टबाट बन्ने आयोजनामा संघारीको सहभागिता बढ्दो छ । निर्माण व्यवसायी सङ्घ डोटीका अध्यक्ष घनश्यामदत्त पाठकले आफ्नो कम्पनीबाट काम गर्ने १५ देखि २० जना मजदुर तराईबाट नै आएको बताउनुभयो । 

दक्ष जनशक्तिको अभाव

पहाडी क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने गरेका कारण तराईबाट चौधरी समूदायका युवा कामको खोजीमा पहाड आउने गरेको निर्माण व्यवसायी बताउँछन् । 

पहाडका युवा मजदुरीका लागि भारतलगायतका अन्य मुलुकमा जाने गरेका कारण पनि जनशक्तिको अभाव हुँदै आएको बताइन्छ । जिल्लामा सिप भएका मजदुर नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको निर्माण व्यवसायी सङ्घका अध्यक्ष पाठकले बताउनुभयो । “पहाडका युवा विदेश पलायन हुने प्रचलन छ, भएको जनशक्ति पनि दक्ष छैन, सिपको अभाव छ, “उहाँले भन्नुभयो, “सिप सिकेका पनि मन लगाएर काम गर्न चाहँदैनन् । नियमित काममा सहभागी हुँदैनन् ।”

अर्का निर्माण व्यवसायी प्रेमशङ्कर भट्टले गाउँमा युवा नबस्दा सानो सानो कामका लागि पनि बाहिरबाट मजदुर ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो । तालिम लिएको जनशक्ति काम गर्न रुचाउँदैन उहाँका अनुसार विकास निर्माणका काममा तराईका कामदारको सहभागिता बढ्दो रहेको छ ।