• २६ वैशाख २०८१, बुधबार

चेतनाबाटै चित्त प्रकाशमान

blog

हामी चेतनाका माध्यमबाट जीवनको गतिविधि अनुभव गर्छौं । चित्त चेतनाबाट प्रकाशमान हुन्छ । चित्त, बुद्धि र अहङ्कारको मुहान चेतना हो । चेतनाबाट चित्तको उत्पत्ति हुन्छ । चित्तबाट मन, बुद्धि र अहङ्कारको उत्पत्ति हुन्छ । चित्तमा तमोगुण, रजोगुण र सत्वगुण यी त्रिगुण हुन्छन् । यी तीनमध्ये एक सक्रिय र दुई निष्क्रिय हुन्छन् । तमोगुण सक्रिय भएको बेला सत्वगुण र रजोगुण निष्क्रिय हुन्छन् । रजोगुण सक्रिय भएको बेला तमोगुण र सत्वगुण निष्क्रिय हुन्छन् । सत्वगुण सक्रिय भएको बेला रजोगुण र तमोगुण निष्क्रिय हुन्छन् । 

चित्तको निकट आत्मा भएको हुँदा कुनै दयनीय घटना देखियो भने आत्मामा दया उब्जिन्छ । कुनै आश्चार्यजनक ठुलो घटना हुँदा गहिरो चोट पुग्छ । अनि चित्त घटनामा केन्द्रित भएर स्थिर हुन्छ । त्यस्तो बेला चित्तमा परेको चोटले मस्तिष्कमा ठुलो प्रभाव पार्छ, जुन चोट शारीरिक चोटभन्दा पीडादायक हुन्छ । 

जीवनसँगै चित्त पनि परिवर्तन भइरहेको हुन्छ । राम्रो पछि नराम्रो र नराम्रो पछि राम्रो हुन सक्छ । सुगन्ध पनि परिवर्तन भएर दुर्गन्धमा परिणत हुन सक्छ । राम्रोमा आसक्त हुने र नराम्रोमा घृणा उत्पन्न हुने प्राणीको स्वभाव हो । चित्त परिवर्तनका कारणले चलायमान हुन्छ । चञ्चल चित्तले एउटा समस्या समाधान भएपछि अर्को समस्या मस्तिष्कमा उत्पन्न हुन्छ । चित्त अनुसार अभिलाषा हुने भएकाले अधिक अभिलाषा सबै पूर्ण हुँदैनन् । अभीप्सा अपूर्ण हुनाले अभाव महसुस हुन्छ । अभावले चिन्ता, चिन्ता चित्तको कारणले हुन्छ । चित्तको कार्यान्वयन मनले गर्छ । मनलाई ज्ञान र अज्ञानले चलाएको हुन्छ । त्यही अनुसार मनले चिन्ता र चिन्तन मनन गर्छ, चिन्ता उग्रकर्मले हुन्छ । चिन्तन मननले विकारलाई छानेर लक्ष्यलाई पूर्ण गर्ने योजना बनाउँछ । जब मनमा विकारले ठाउँ लिन्छ, उद्वेग र अश्लीलता कामुकताको बढी प्रभाव पार्छ । त्यस्तो व्यक्तिको मनमस्तिष्क बिस्तारै भित्र खोक्रो हुँदै जान्छ भन्ने् दार्शनिकहरूको भनाइ छ । मनबाटै राम्रो, नराम्रो क्रियाकलाप गर्ने भएकाले मनै सबैभन्दा ठुलो शत्रु, मनै सबैभन्दा ठुलो मित्र हो ।

एक जना भन्तेले भगवान् बुद्धलाई सोधेछन्, भगवान् ! कामुकताले गर्दा कुनै युवतीप्रति नराम्रो विचार सोच्न पुग्छु । कहिलेकाहीँ म वेश्याको पासमा जाने गर्छु । यस्तो क्रियाकलापले सताउँदा म आफूले आफैँले धिक्कार ठानी आत्माहत्याको सोच आउँछ । गुरुदेव म के गरौँ, यो खराब विचारलाई मनबाट हटाउन के गर्नु पर्छ, कृपया मलाई बताइदिनुस् । 

भगवान् बुद्ध भन्नुहुन्छ, “तिमीले नचाहँदा नचाहँदै पनि कामुकताले तिमीलाई पच्छ्याइरहेछ । तिमीले निरन्तर राम्रो कुरालाई चिन्तनमनन गरिरह्यौ भने नराम्रो भावनाले मनमा ठाउँ लिन पाउँदैन । चिन्तनले लक्ष्यमा पुग्ने सुन्दर योजना बनाउँछ । चिन्ता भनेको दुःखको कुरा हो । एउटै चिन्ता बारबार दोहोरिएर मनलाई सताइराख्छ ।” यसलाई ज्ञानले मात्र निवारण गर्न सक्छ । ज्ञान ध्यानले प्राप्त हुन्छ, ध्यान शील पालना गरेपछि हुन्छ ।” 

जब मनमा स्वार्थको बिउ रोपिन्छ, लालचको बोट उम्रिएर अभावको फल फल्छ । अभावको फल पाकेर तनाव हुन्छ । मनमा अशान्तिले ठाउँ लिएपछि आनन्द हराउँछ । सूर्यलाई बादलले छोपेसरि अभावबाट तनाव उत्पन्न हुन्छ । तनावले मनलाई आच्छदित गरेपछि मुहार निस्तेज हुन्छ । जब चित्त कुशल हुन सक्दैन, तब व्यक्ति खुसी हुन सक्दैन । बौद्ध ग्रन्थको धम्मपदमा उल्लेख छ, “प्रशंसाको खोजीमा लाग्नु बुद्धिमानी होइन, यसले दुःख निम्त्याउँछ ।” दुःख भनेको शान्त तलाउमा ढुङ्गा खसाल्नु हो । शान्त तलाउमा एउटा ढुङ्गा खसाल्यो भने तलाउमा तरङ्ग आउँछ । चित्तमा पनि कुनै समस्या आइलाग्यो भने तनाव उत्पन्न हुन्छ । 

मन शान्तिका लागि ईष्र्या, छलकपट जस्ता कुकर्मलाई आहूति दिनु पर्छ । बत्ती बालेपछि अन्धकार स्वतः हट्छ भने जस्तै ज्ञान भएपछि अज्ञान पनि हट्छ । अज्ञानले अरूको लवाइ, खवाइ, भौतिक सुविधा नै सुखको आधार ठान्छ । ईष्र्याले लोभलालच, लोभलालचले भ्रष्टाचार, लुटपाटसम्म हुन्छ । यसबाट मनुष्यमा पापकर्म भरिँदै जान्छ । दुःखमाथि दुःख थपिँदै जान्छ । 

लुक्नु पर्ने काम गरे, झुक्नु पर्ने हुन्छ 

झुक्नु पर्ने काम गरे, लुक्नु पर्ने हुन्छ ।

प्रायः मानिस राम्रोलाई मन पराउने, नराम्रोलाई घृणा गर्ने स्वभावका हुन्छन् । यसैले मानिस पद, पैसा, प्रशंसाको भोका हुन्छन् । प्रशंसाको प्रलोभनमा मानिस मात्र नभई देवता पनि फसेको सुनेका छौँ । धनकै प्रलोभनले गर्दा समाजमा कतिपय मानिसको आफन्त र नाता तोडिएका छन् । शास्त्रमा तीन चिज कहिल्यै नलिनु भनिन्छ । यी तीन चिजमा अर्काको सम्पत्ति, अर्काकी श्रीमती र अरूको प्राण । यही तीन वटै चिज कौरवले हासिल गर्न खोजेकाले कौरवको सत्यानाश भयो । धन नहुनेलाई धनकै नभएको चिन्ता ! धन हुनेलाई झन् बढी कमाउने चिन्ता र नाश भएर जालाकी भनी चिन्ता हुन्छ ।

धनले सुविधा भए पनि आनन्द नहुन सक्छ

ज्ञानले सुविधा नभए पनि आनन्द हुन सक्छ ।

सत्ययुगमा सबै मानवमा मेलमिलाप थियो । रामायणबाट पुष्टि हुन्छ द्वापरयुगमा दाजुभाइ मिलेको । त्रेतायुगदेखि दाजुभाइको सबन्ध बिग्रँदै आएको छ । त्रेतायुगमा दाजुभाइकै कारण महाभारत युद्ध भयो । भगवान् बुद्धलाई पनि भाइ देवदत्तले ईष्र्या गरी विरोध गरेको थियो । यो कलियुगमा छलकपट गर्ने, झुठ बोल्ने, अरूलाई धोका दिने काम धेरै हुन्छन् । यसले समाजमा अशान्ति फैलिन्छ । चित्तको संयोगबाट कामना जागृत भएपछि आशक्ति उत्पन्न हुन्छ । आशक्तिबाट प्रलोभन हुन्छ, प्रलोभनबाट वेदनाको बिउ रोपिन्छ ।

सहस्त्रार्जुन वनमा घुम्न जाँदा जमदग्नी कुटीमा कामधेनु गाईको चमत्कार देखे । सहस्त्रार्जुन प्रलोभनमा फसेर जमदग्नीलाई मारेर त्यो गाई छिनेर लगे । परशुरामले आफ्नो पिता जमदग्नीलाई मारेको थाहा पाएपछि रिसले चुर हुँदै सहस्त्रार्जुनको चार छोरासहित सहस्त्रार्जुनलाई पनि युद्ध गरी मारे । त्यसैले इख, लोभ प्रशंसा यी सबै मनलाई खलबल्याउने तत्व हुन् । इख, ईष्र्या, प्रशंसाको लालचबाट वर्जित भए पनि कारणवश गरेको काम असफल भयो भने मन अशान्ति हुन्छ । त्यो अशान्तिबाट मुक्त हुन ज्ञान हुनु पर्छ । सबै दुःखबाट मुक्त भएपछि मात्र मुनष्य चोला मुक्त हुन सक्छ । 

ग्रहको प्रभावले राम्रो नराम्रो सबैलाई हुन्छ । न्यायको देवता शनिदेवले प्रभु हनुमानलाई शनि दशा पार्न हनुमानको शरीरमा पनि बसे । हनुमानले ठुलो ढुङ्गा बोकेपछि शनिलाई बहुत कठिन भयो । हनुमानसँग अनुरोध गरी ढुङ्गा बिसाउन लगाएर शनिदेव हनुमानको शरीरबाट निस्किए । शनिदेवले भने मलाई जिउ दुख्यो के गर्नेभन्दा हनुमानले तेल लगाउन सुझाव दियो । यसैले भक्तजनले शनिदेवलाई तेल चढाउने गरेका हुन् । हनुमानले सूर्य देवतासँग ज्ञान लिएका थिए । हनुमानसँग ज्ञानको सागर नै थियो । यही ज्ञानको सागरले गर्दा हनुमान सबैभन्दा छिटो खुसी हुने देवताको रूपमा पुजिन्छ । 

ज्ञानले दुःख निराकरण गर्छ । ज्ञानबिना भौतिक सुविधा भए पनि मनमा पीडा दन्किरहन्छ । हावा जस्तो अस्थिर भई चलवलाइरहने मन स्थिर गर्न साह्रै कठिन हुन्छ । मनलाई स्थिर गर्न नसकेसम्म मन र मस्तिष्कको युद्ध भइरहन्छ । यो युद्ध रोक्न नसकेसम्म सुखको आभास लिन सकिँदैन । हाम्रो जीवनको प्रवाहमा अभीप्साले हामीसँगै युद्ध गर्ने सैनिक अज्ञानले जन्माएको हुन्छ । अज्ञनताबाट नै कामुक लोभ र महìवाकाङ्क्षा हुने गर्छ । यिनै कारणले धर्मको नाममा, भूगोलको नाममा, जातका नाममा, राजनीतिको नाममा युद्ध हुन्छ । यस्तो घोर नैतिक अपराधलाई सामना गर्न चेतना जगाएर अमूल्य जीवनलाई सदुपयोग गर्न मनलाई शान्त गरी एकचित्त हुन आवश्यक छ । एकचित्तका लागि जप, तप, ध्यान गर्ने अर्थात् देवीदेवतालाई पूजा गरेर पनि मन एकचित्त बनाएर आनन्द लिन सकिन्छ । देवीदेवता भनेको दिनेलाई भनिन्छ जस्तै जल, अग्नि, वायुले हामीलाई आफ्नो गुण दिइराखेको हुन्छ । यसलाई नै देवता भनिन्छ । भगवान् भनेको भबाट भूमि, गबाट गगन, वाबाट वायु, आबाट आगो, नबाट नीर हुन्छ । यी पञ्च तत्वलाई नियन्त्रण गरेकालाई भगवान् भनिन्छ । जस्तै गणेश, बुद्ध, श्रीकृष्ण, महादेव, नारायणलाई भगवान् भनिन्छ । दुर्गा, लक्ष्मीलाई भगवती भनिन्छ । मन्त्रले मनको गतिलाई नियन्त्रण गरी स्थिर गर्छ । यही मन्त्रको नीतिगत भक्तिमा शक्ति हुन्छ । शक्ति सत्यमा हुन्छ, सत्यमा ईश्वर प्रशन्न हुन्छन्, ईश्वरमा प्रकृति नियन्त्रण भएको हुन्छ । 

अरू प्राणीभन्दा उच्च दर्जामा मनुष्यलाई राखिएको छ । मनुष्यले मात्र मोक्ष प्राप्त गर्न सक्ने भएकोले मनुष्यको जन्म महत्वपूर्ण मानिएको हो । त्यसैले देवता पनि मनुष्य भएर जन्म लिन लालयित हुन्छन् भनेर ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । जसरी चौबाटोबाट उत्तर, दक्षिण, पूर्व, पश्चिम हिँड्न सकिन्छ, त्यसै गरी मानव चोला पनि जुनसुकै लोक जान सक्ने कर्म थलो भएकाले सत्चित्त गरी पुण्यकार्य गर्नु पर्छ । मुनुष्यबाहेक अरू प्राणी भनेको पाप र पुण्य मोचन गर्ने प्रकृतिको गोटी हुन् । त्यसैले मानव चोला खेर नफाल्न चेतनालाई जागृत गरेर चित्तलाई प्रकाशमान बनाउनु पर्छ । 

Author

अशोक शोकी