• २२ वैशाख २०८१, शनिबार

खोटाङमा डढेलो गाउँ पस्यो, एकै दिनमा १५ घर जले

blog

डढेलो गाउँ पसेर जल्दै गरेको बडहरेको घर । तस्बिर: गोरखापत्र

राजकुमार भट्टराई 

खोटाङ, वैशाख १३ गते । डढेलो गाउँ पस्दा  खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । बाराहापोखरी गाउँपालिका–१ वराहपोखरीमा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् । 

बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ बाख्रा खोर र १ भान्छा घर खरानी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भिर गाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पूर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घर र दुई वटा गोठ, सुवास थापा मगरको घर र मतान तथा मदन थापा मगरको बसोबास नभएको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । यस्तै, रक्तमाला सामुदायिक वनबाट आएको डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुई वटा घर र दुई वटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजार लगायत जलेको छ । 

यस्तै, ढुसेनी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर नष्ट भएको छ । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले डाँडाखर्कका होमबहादुर कटुवाल र पदमबहादुर कटुवालको घर जलेको छ । यस्तै, खोर्सानेका छकुमार राईको पनि घर जलेको छ । रक्तमाला सामुदायिक वनमा लागेको डढेलेले भन्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर जलेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । 

डढेलो अझै पनि नियन्त्रण बाहिर छ । अहिले डाँडाखर्क र खाल्ले बिच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र राना छापमा डढेलो फैलिरहेको स्थानीय भुवन श्रेष्ठले बताउनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । 

यस्तै, बुधवार दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आले मगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको हो । इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रणमा लिएर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो । 

यस्तै, सामुदायिक वनमा लागेको डढेलोमा जलेर रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेर मृत्यु भएको छ । स्थानीय हरमटार मैनचौर सामुदायिक वन लागेको डढेलोमा जलेर श्रेष्ठको बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।