हरेक वर्ष आजकै दिन (अप्रिल २५) मा विश्व औलो दिवस मनाइन्छ । यो दिवसलाई खास गरी औलो रोगबारे समुदायमा जनचेतना बढाउन र यसलाई निवारण गर्ने विश्वव्यापी अभियानमा राजनीतिक र सामुदायिक प्रतिबद्धता सुनिश्चित गर्ने महìवपूर्ण अवसरका रूपमा लिइन्छ । यो दिवसको नारा ‘समानतापूर्ण विश्वका लागि औलोविरुद्धको लडाइँलाई तीव्र पारौँ’ भन्ने उद्देश्यमा केन्द्रित छ । औलो रोग एनोफिलिस नाम गरेको लामखुट्टेको टोकाइबाट सर्छ । यो प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । नेपालमा औलो रोग गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिन्छ ।
औलोबाट प्रत्येक वर्ष हजारौँ मानिस प्रभावित हुने तथ्य विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेका छन् । यो रोगको जोखिम मूलतः गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका, आन्तरिक रूपले विस्थापित समुदाय, आप्रवासी र आदिवासी जनजातिमा बढी पाइएको छ । ज्वरो आउने, टाउको दुख्ने लक्षण यो रोगमा देखिन्छ र उपचार नगरे ज्वरो बढ्दै गएर मृत्युसम्म हुन सक्छ । सन् २०१६ मा विश्वको झन्डै आधा जनसङ्ख्या औलो रोगको जोखिममा थियो । त्यो वर्ष ९१ देशमा औलोबाट २० करोड १६ लाख मानिस प्रभावित भएको अनुमान थियो । त्यो सन् २०१५ को तुलनामा ५० लाखले बढी हो ।
विज्ञहरूका अनुसार अमेरिकाका केही भागमा, दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त क्षेत्र तथा अफ्रिकामा औलो रोगको जोखिम बढिरहेको पाइन्छ । अन्य क्षेत्रमा सङ्क्रमणको स्तर कतै स्थिर छ भने कतै घट्दो रूपमा देखिन्छ । औलो रोगविरुद्ध लड्न र यसको दिगो उन्मूलनका लागि थप लगानी तथा रोकथामसम्बन्धी समुदाय स्तरका कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने देखिन्छ । औलो निवारणसम्बन्धी अभियानमा राजनीतिक प्रतिबद्धता, स्रोतको प्रभावकारी परिचालन र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ ।
औलो रोगको भार र यसले निम्त्याउने नकारात्मक सामाजिक–आर्थिक प्रभाव उल्लेख्य देखिन्छ । विश्व औलो रोगको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२२ मा संसारभरि २४९ मिलियन औलोबाट प्रभावित भएका थिए । तीमध्ये सबैभन्दा बढी पाकिस्तान. इथियोपिया, नाइजेरिया, युगान्डा र पपुवा न्युगिनीमा थिए । दक्षिणपूर्वी एसियामा हेर्ने हो भने कुल औलो रोगीको सङ्ख्या २ प्रतिशत मात्र छ ।
विगतका दशकलाई हेर्दा नेपालले पनि औलो रोगको भारलाई कम गर्न र यसको प्रभावकारी उन्मूलन गर्न धेरै चरणको प्रगति हासिल गरेको छ । नेपालमा औलोको इतिहासलाई नियाल्दा सन् १९५४ मा सबैभन्दा पहिला औलो रोग नियन्त्रण परियोजना सुरु भएको हो । अमेरिकी सहयोग नियोगबाट सञ्चालित यो परियोजनाले तराई क्षेत्रमा औलो रोग प्रभावित स्थानहरूमा औलोको अवस्थाबारे विस्तृत अध्ययन अनुसन्धान गरेको थियो ।
सन् १९५८ बाट औलो नियन्त्रण चरणबद्ध रूपमा सुरू गरियो । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९८ मा ‘रोल ब्याक मलेरिया’ को अभियान खास गरी तराईका घना जङ्गलनजिकका बस्ती, भित्री तराई र आसपासका उपत्यकामा केन्द्रित थियो । औलो रोकथाम र उपचार गर्न सकिन्छ तर पनि यसले जनस्वास्थ्य र दैनिक मानवीय जीवनमा पार्ने दूरगामी प्रभाव अत्यन्तै गम्भीर छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणको थप चुनौती हुन् । यो रोग र यसबाट हुने मानिसको मृत्युको अवस्था हेर्दा यो रोगबाट प्रभावित हुने धेरैजसो ग्रामीण समुदाय छन् । गरिबी, शिक्षा र स्वास्थ्यमा सीमित पहुँच, सफा खानेपानी र सरसफाइ सेवाबाट वञ्चित समुदायमा औलो रोगको जोखिम बढी देखिन्छ । तसर्थ औलो नियन्त्रणका लागि पहल गरिएका रोकथाम र उपचार कार्यक्रमले स्थानीय समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, भौगोलिक, वातावरणीय र राजनीतिक निर्धारकलाई बृहत् रूपमा सम्बोधन गर्न जरुरी छ ।
औलोबाट प्रभावित समुदायहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र लैङ्गिक आयामलाई विश्लेषण गर्न आवश्यक छ । किनभने यी आयामले पुरुष या महिलाको स्वास्थ्य सेवामा पहुँच र औलो रोगको रोकथाम र हेरचाहमा हुने पारिवारिक निर्णयमा प्रभाव पारेको हुन्छ । पुरुष स्थानीय जङ्गलमा काम गर्ने र खेतीपातीमा बढी संलग्न हुने हुँदा औलो रोगको जोखिम उनीहरूमा बढी हुन्छ ।
अहिले विश्वभरकै चिन्ताको विषय जलवायु परिवर्तन हो । यसले पार्ने अन्य प्रभावमध्ये मानवीय स्वास्थ्य पनि हो । बढ्दो तापक्रम, सहरीकरण, पूर्वाधार निर्माण र मौसमको तीव्र परिवर्तनले गर्दा हुने वर्षा, बाढी, पहिरोले गर्दा पनि औलो रोगको महामारीको जोखिम उच्च हुन्छ । औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । अन्य रोगसँगै यसले पनि प्रत्यक्ष र अप्रत्यक्ष असर जस्तै दैनिक जीविकाको सङ्कट, आर्थिक र खाद्य असुरक्षा साथै सहज र गुणात्मक स्वास्थ्य सेवाको पहुँचमा प्रभाव पार्छ ।
औलो उन्मूलनका लागि विश्वव्यापी प्राविधिक रणनीति (२०१६–२०३०) ले औलो प्रभावित विभिन्न देशहरूलाई कार्यनीति बनाउन स्पष्ट मार्गचित्र सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो रणनीतिले सन् २०३० सम्ममा औलो रोगको नयाँ सङ्क्रमण दर र मृत्युलाई ९० प्रतिशतले झार्ने लक्ष्य लिएको छ । उत्थानशील दिगो स्वास्थ्य प्रणालीलाई थप सुदृढ गर्दै औलो रोगको सेवामा समुदायको पहुँच बढाउन जरुरी छ । यसका साथै रोग प्रभावित समुदायमा यसको रोकथाम, उपचार र हेरचाहमा उनीहरूको अर्थपूर्ण सहभागिता बढाउन थप प्रयास आवश्यक छ ।
नेपालले औलो रोग निवारणका लागि राष्ट्रिय रणनीतिक योजना (२०७०/७१–२०८२/८३) लाई कार्यान्वयनमा ल्याइसकेको छ । यो मूलतः विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक रणनीतिमा आधारित छ । यो राष्ट्रिय रणनीतिले नेपालको सङ्घीय स्वास्थ्य प्रणाली, समग्र औलो रोगको वितरण र अवस्थालाई ध्यानमा राख्दै मूलतः सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन र निगरानीलाई थप सुदृढ गर्न जोड दिएको छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा औलो रोगलाई अन्त्य गर्नुपर्ने लक्ष्य रहे पनि नेपालले सन् २०२५ मा नै औलो रोगलाई निवारण गर्ने प्रयास गरिरहेको छ ।
औलो रोगको रोकथाम, उपचार र हेरचाहका लागि सेवाको कभरेज बढाउने, गुणात्मक निदान तथा उपचारमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य संस्थाको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने रणनीतिक प्रयास प्राथमिकतामा परेका छन् । यसका साथै राजनीतिक प्रतिबद्धता र नेतृत्वलाई अझ बढी सशक्त बनाउँदै औलो रोगको दिगो निवारणमा समुदायको प्रभावकारी संलग्नता बढाउन यो रणनीतिले विशेष प्राथमिकता दिएको छ ।
नेपालमा विश्व स्वास्थ्य सङ्गठन र ग्लोबल फन्ड जस्ता संस्थाले औलो रोग निवारणमा आवश्यक प्राविधिक सहयोग पु¥याउँदै आएका छन् । मूलतः तालिम, अनुगमन र मूल्याङ्कन, निगरानी, आवश्यक निर्देशिका अध्यावधिक गर्न र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि प्राप्त प्राविधिक सहयोग प्रभावकारी भएका छन् ।
औलोको औषधी स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । गर्भवती महिलालाई औलोको शङ्का लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराए मात्र औषधी प्रयोग गर्नुपर्ने विज्ञहरू सुझाउँछन् । भारत तथा अन्य मुलुक; जहाँ कडा खाले औलो हुन्छ, त्यस क्षेत्रबाट फर्केपछि रगत जँचाएर औषधी खानु पर्छ । यसका साथै औलोको रोकथामका लागि समुदाय स्तरमा सचेतना र व्यवहार परिवर्तनका सामाजिक क्रियाकलाप कार्यान्वयन गर्न जरुरी छ । उदाहरणका लागि घर वरिपरि पानी जम्न नदिने, पानी जम्ने खाडल पुर्ने, झुल लगाएर सुत्ने, घरको झ्यालढोकामा जाली लगाउने, लामखुट्टेको टोकाइबाट जोगिने, घर वरिपरिको वातावरण सफा राख्ने जस्ता सामाजिक व्यवहार सुधार गर्न सके औलोबाट धेरै हदसम्म बच्न सकिन्छ ।