• २४ वैशाख २०८१, सोमबार

आगलागीबाट सयौं घर जलेर नष्ट

blog

महोत्तरीको मटिहानीमा लागेको आगलागी नियन्त्रणमा लिने प्रयास गरिँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख १२ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका छन् ।

मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको जरलहवामा बिहान १० बजेदेखि लागेको आगाे नियन्त्रणमा आउन नसकेको र सयभन्दा बढी घर जलेको जानकारी दिनुभयो । उहाँले सयभन्दा बढी घर तथा केही पशु जलेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो । मटिहानीमा लागेको आगलागी नियन्त्रणमा लिन मटिहानी, जलेश्वर, रामगोपालपुरसहित जनकपुरलगायतका ठाउँका वारुणयन्त्रण प्रयोग गरिएको छ ।

जरहलवा वस्तीमा रहेको फुसको घर, परालको टहराेमा आगलागी भएको छ भने हावा समेत जोडले चलेको कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको नगरप्रमुख मण्डलले बताउनुभयो । उहाँले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीहरु भरमग्दुर प्रयास गरिरहेको जानकारी दिनुहुँदै आगलागी नियन्त्रणमा आएपछि मात्रै क्षतिको यकिन गर्न सकिने बताउनुभयो । 

उहाँले घरमा रहेको खाद्यान्न, लत्ताकपडालगायतका सम्पूर्ण सामग्री जलेको तथा केही पशुहरुमा क्षति पुगेको जानकारी भएपनि अहिलेसम्म मानवीय क्षतिबारे जानकारी नभएको बताउनुभयो । यो समाचार लेख्दासम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

बुधबार बिहानै जलेश्वर नगरपालिका वडा नं. ३ मा समेत एक घरमा आगलागी हुदाँ लाखौंको धनमाल जलेको छ । वडा नं. ३ का पूर्व वडाध्यक्ष संजय पाण्डेयको घरमा आगलागी हुदाँ घर जलेको जनाइएको छ ।