• २७ पुस २०८१, शनिबार

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि : पूर्वप्रधानमन्त्री खनाल

blog

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, वैशाख १२ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको बताउनुभएको छ ।

यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उहाँको भनाइ छ । 

नेता खनालले लामो समयदेखि जनताको सङ्घर्षबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्त्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताउनुभयो ।

पुँजीवादी जनवादी क्रान्ति भएको दुई दशक पुग्नै लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अवधिमा जनतामाथिका पुँजीवादी शोषण र उत्पीडनहरू झन् भयावह बन्दै गएका छन् सैनिक, जातीय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दैछन् ।”

राष्ट्रिय उत्पादन बढ्न नसकेकाले राष्ट्रिय अर्थतन्त्र पराधीन बन्दै गएको, भ्रष्टाचार, अनियमितता र व्यथितहरू विकराल बन्दै गएकोले हरेक दिन हजारौँ सङ्ख्यामा युवा जनशक्ति बिदेसिनुपर्ने दुःखद अवस्था सिर्जना भएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

पुँजीवादी वित्तीय शोषण फैलिँदै गएको अवस्थामा समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता रहेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

महाधिवेशन असार १६ गतेदेखि २०  गतेसम्म गरिने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ । रासस