• २४ वैशाख २०८१, सोमबार

विद्यार्थीलाई कृषितर्फ आकर्षित गर्न व्यावहारिक ज्ञान

blog

डेढगाउँ माध्यमिक विद्यालयका विद्यार्थीले गरेको तरकारी खेती । तस्बिर : होमराज रानाभाट

नवलपरासी समाचारदाता

बौदीकाली, वैशाख १२ गते । पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कृषि खेतीतर्फ आकर्षित गराउन व्यावहारिक ज्ञान दिन थालेको छ । बौदीकाली गाउँपालिकाको डेढगाउँ माध्यमिक विद्यालयका कक्षा ६ देखिमाथि अध्ययन गर्ने विद्यार्थीलाई गत वर्षदेखि कृषि विषयमा अध्यापन गराउने र खेर गइरहेको जग्गामा कृषिसम्बन्धी व्यावहारिक ज्ञान दिन थालेको प्रधानाध्यापक गङ्गा विश्वकर्माले बताउनुभयो । 

खेर गइरहेको जग्गामा तरकारी खेती जस्तै आलु, गोलभेँडा, काउली, बन्दा, फर्सी, काँक्रो, भेन्टा, बोडीलगायतका तरकारी लगाउने तरिकालगायतका सबै विषयमा व्यावहारिक ज्ञान दिने गरेको र यो निकै प्रभावकारी बनेको प्रधानाध्यापक विश्वकर्माले बताउनुभयो । 

पहाडी बौदीकाली गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाएपछि सामुदायिक विद्यालयमा विद्यार्थीलाई कृषिको पाठ्यपुस्तक अनिवार्य गरी अध्ययन अध्यापन सुरु गरेको छ । पालिकाको डेढगाउँ माध्यमिक विद्यालयमा गत वर्षदेखि कृषि शिक्षाको अध्ययन अनिवार्य बनाई कृषि पेसामा लाग्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी कक्षा ६ देखि पढाइ सुरु गरिएको विद्यालयका प्रधानाध्यापक गङ्गा विश्वकर्माले बताउनुभयो ।

पहिलो वर्ष २०८० मा कक्षा ६ बाट विद्यार्थीलाई कृषि पेसामा भविष्यमा आत्मनिर्भर बनाउन यसप्रति दक्ष बनाउन कृषि विषयको पाठ्यपुस्तकसमेत तयार गरी अध्ययन थालिएको र सबै विद्यार्थीलाई अनिवार्य कृषि विषयको अध्ययनका लागि विद्यालयले पूर्ण छात्रवृति दिएर प्रोत्साहन दिएको र कृषि क्षेत्रलाई अब्बल बनाउन गाउँपालिकाले समेत रकम उपलब्ध गराएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । डेढगाउँ माध्यमिक विद्यालयले कक्षा ६ देखि १२ सम्म विद्यार्थीलाई कृषि पेसामा दक्ष र आकर्षित बनाउन कृषि विषयको पाठ्यपुस्तक अनिवार्य गरी अध्ययन अध्यापन गराउन थालेपछि बिस्तारै विद्यार्थीसमेत कृषि क्षेत्रमा आकर्षित हुँदै जान थालेका पालिकाका अध्यक्ष ओझाले बताउनुभयो ।

विद्यालयले अहिले विद्यार्थीलाई व्यावहारिक ज्ञानतर्फ बढी केन्द्रित गराइने गरेको, विद्यालयको खाली बाँझो जग्गामा अहिले तरकारी लगाएर भरिभराउ फलाइएको छ भने तरकारी फल्ने समयमा आवश्यकता अनुसार तरकारी लगाइने र उत्पादित तरकारी नजिकको हाटबजारमा बिक्री गरेर आम्दानीसमेत विद्यालयले लिन थालेको प्रधानाध्यापक विश्वकर्माले बताउनुभयो ।

डेढगाउँ माध्यमिक विद्यालयका विद्यार्थीले यो वर्ष आलु रोपेर फलाइसकेका छन् भने यतिबेला साग, गोलभेँडा, बन्दा, काउली, करेला, बोडी, फर्सी रापेर त्यसको जगेर्ना गरिरहेको कक्षा १० का विद्यार्थी यमुना थापामगरले बताउनुभयो । 

कृषि पेसामा बिस्तारै मानिसको चासो हराउँदै जान थालेको छ । भएका जग्गा जमिनसमेत बाँझै छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कृषिको राम्रो ज्ञान दिन पाठ्यपुस्तक तयार गरी यसतर्फ आकर्षण बढाउनु पर्छ । अहिले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा प्राविधिक ज्ञान नहुने हो भने प्रतिस्पर्धा गर्न नसक्ने भएकाले अब सामुदायिक विद्यालयले प्राविधिक शिक्षालाई उच्च महत्व दिनुपर्ने पालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । 

डेढगाउँ माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको पाठ्यक्रम सुरु भएपछि जग्गा बाँझो राख्ने परिपाटीको अन्त्य हुने अपेक्षा गरिएको स्थानीय समाजसेवी टङ्क पुलामीमगरले बताउनुभयो ।