• २२ वैशाख २०८१, शनिबार

परिणाममुखी काम गर्न निर्देशन

blog

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख ११ गते । 
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सचिव र कर्मचारीहरूलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । वन तथा वातावरण मन्त्रालयको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्नुहुँदै  मन्त्री थपलियाले सेमिनार, गोष्ठी कम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले लगानीको तुलनामा प्रतिफल आउनेगरी काम गर्न आग्रह गर्नुभयो । जिम्मेवारी पाएका कर्मचारीले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री थपलियाले मिटिङ, सेमिनार र गोष्ठीमा फजुल खर्च गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । वन मन्त्रालयअन्तर्गत ३७ प्रतिशत मात्रै प्रगति भएको जिकिर गर्दै प्रगति बढ्ने गरी काम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो ।

बजेट निर्माणको समय नजिकिर्दै गरेको स्मरण गराउँदै बजेट निर्माण पुरानो शैलीमा नहुने स्पष्ट पार्नुभयो । ‘‘देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ, अर्थतन्त्र जोगाउने गरी काम गर्नुपर्छ, परिणाममुखी बजेटमा जानुको विकल्प छैन, हामी अब फेरिनुपर्छ’’ मन्त्री थपलियाले भन्नुभयो । जङ्गलमा काठ कुहिएर बसेको स्मरण गराउँदै सङ्घले प्रदेशलाई अधिकार नदिँदा कतिपय समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।