• २२ वैशाख २०८१, शनिबार

आगलागीबाट प्रभावितको राहत र उद्धारमा खटिन कांग्रेसको अपिल

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ११ गते । नेपाली कांग्रेस गुल्मीले आगलागीबाट प्रभावितको राहत र उद्धारमा खट्न अपिल गरेको छ । आगलागीबाट प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई अपिल गरिएको नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताउनुभयो ।

पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानमा आगलागीका कारण ठुलो परिमाणमा घरगोठ, पशुचौपाया जल्नुको साथै केही नागरिकहरू घाइते भएको घटनाले पार्टी मर्माहत एवम् दुःखी भएको भन्दै राहत र उद्धारमा खट्न सबैलाई आग्रह गरिएको छ । कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारसँग माग गरेको छ ।

डढेलोको यो विपतमा आम नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रहसँगै सरकार, राजनैतिक दलहरू, सङ्घ र संस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न आग्रह गरिएको सचिव भट्टराईले बताउनुभयो ।

विपद्को अवस्थामा तीनै तहका सरकारहरू समेतको समन्वय र सहयोगमा उद्धार, घाइतेहरूको सर्वसुलभ उपचार र राहतको कार्यमा राज्यका सबै निकायहरूलाई युद्धस्तरमा परिचालन हुन जरुरी छ । गत शनिबार जिल्लाको इस्मा गाउँपालिका वडा नं १, २ र ४ मा नजिकैको जङ्गलबाट सल्केको आगोले २४ घर, ४८ गोठ जलेका र ४० भन्दा बढी पशुचौपाया मरेका कांग्रेसले जनाएको छ ।

त्यस्तै, आगो निभाउने क्रममा इस्मा गाउँपालिका–१ का १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ का २१ वर्षीय प्रेम राना घाइते भएकोमा उनीहरूको सर्वसुलभ उपचारमा ध्यान दिइन पनि कांग्रेसले सम्बन्धित निकायलाई आग्रह गरेको छ । इस्मा गाउँपालिकासँगै रेसुङ्गा, गुल्मीदरबार, रुरु, मदाने, छत्रकोट र मालिका गाउँपालिकामा समेत डढेलोका कारण करोडौँको भौतिक क्षति हुन पुगेको, खानेपानीका पाइपहरू जल्नुको साथै विद्युत् आपूर्तिमा अवरोध भएको, पीडित नागरिकहरू खुला आकाशमा रात कटाउन बाध्य छन् ।