• २७ पुस २०८१, शनिबार

आगलागीबाट १८ घर नष्ट, ९० घर जोखिममा

blog

बाँफिकोट गाउँपालिका –२ मा भएको आगलागी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख १० गते ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आगलागीका कारण १८ वटा घर जलेका छन् । आइतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण सोमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका हुन् भने ९० घर जोखिममा  छन् ।

बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा १० र वडा नम्बर ३ मा आठ वटा घर जलेका हुन् । वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार आइतबार दिउँसोबाट लागेको आगलागीका कारण रातभर १० वटा घर र दर्जनौ गोठ नष्ट भएका छन् । वडाको नेट्टेमा दुई वटा, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागी उच्च लेकतर्फ फैलिएकोले त्यहाँ रहेका दर्जनौँ गोठहरु जलेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनियन्त्रित बनेको आगलागीका कारण रत्तकाटे र भाटी बस्ती उच्च जोखिममा छन् । दुई टोलमा करिब ९० घर छन् । आइतबार दिनभर स्थानीयवासीले आगो निभाउने कोशिस गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताइन्छ । आगलागी अनियन्त्रित भएपछि स्थानीयवासीलाई सजक रहन र धनमालको सुरक्षा गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी वडा नम्बर ३ को दारकाट्टे र चौरपोखरीमा आठ वटा घर जलेको वडाध्यक्ष तिलबिर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा उक्त क्षति भएको हो । आइतबार नै घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न घरभित्र छिरेकी ७० वर्षीया बुदी कामीको मृत्यु भएको थियो ।

त्यसैगरी स्थानीय धनबहादुर बोहराको घरमा रहेका एक गोरु, एक गाई र तीन वटा बाख्रा आगलागीमा मरेको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । पूर्णबहादुर ओलीको घरमा रहेको एक गोरु घाइते भएको बताइन्छ । वडा अध्यक्ष केसीले उक्त क्षेत्रको आगलागी नियन्त्रणमा आएको र अन्य क्षतिको विवरण सङ्कलन गर्न थालिएको बताउनुभयो । दुबै वडामा भएको आगलागीका कारण भने खुल्न सकेको छैन ।