दोलखामा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई स्थानीय बासिन्दाले बुग्देउ जात्रा भन्छन् । ललितपुरमा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई काठमाडौँ उपत्यकाका बासिन्दा (नेवार समुदाय) ले बुगंद्यो जात्रा भन्ने गर्छन् ।
नेपालमा सबभन्दा लामो समयसम्म चल्ने जात्रामध्ये रातो मत्स्येन्द्रनाथको जात्रा पनि एक हो । रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुर र दोलखामा मात्र मनाइन्छ । यो जात्रा कसरी नेपालमा चल्यो भन्ने सन्दर्भमा एउटा पुरानो जनश्रुति प्रचलनमा सुन्न पाइन्छ ।
जनश्रुति अनुसार करिब १४०० वर्षअघि नेपालका लिच्छवि राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर खडेरी परी हाहाकार भएको थियो । किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको हुनाले गोरखनाथ रिसाएर यहाँका सम्पूर्ण नागलाई आफ्नो वशमा पारी आफ्नो आसन बनाएर ध्यानमा बसेका रहेछन् ।
यसरी ध्यान गरी बसेको गोरखनाथ बाबालाई केही गरी पनि ध्यानबाट उठाउन नसक्ने भएपछि तान्त्रिक विधिबाट हेर्दा गोरखनाथलाई ध्यानबाट उठाउन गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई आसामबाट नेपाल ल्याएमा सम्भव हुने देखियो । त्यसैले राजा नरेन्द्रदेव, वज्राचार्य गुरु बन्धुदत्त र ज्यापू ललित तीनै जना मत्स्येन्द्रनाथ लिन आसाम गए । त्यहाँ तान्त्रिक विधिबाट मत्स्येन्द्रनाथलाई सम्पर्क गरी मन्त्र शक्तिद्वारा मत्स्येन्द्रनाथलाई भमराका रूपमा एउटा कलशमा बन्द गरी ललित ज्यापूले बोकेर काठमाडौँ उपत्यका ल्याएर ललितपुरको बुङ्मतीमा मन्दिर बनाई राखे ।
मत्स्येन्द्रनाथ उपत्यकामा आएको खबर पाएपछि आफ्नो गुरुको दर्शन गर्न गोरखनाथ आसन छोडी उठेर गएपछि नागहरू मुक्त भए र यहाँ घनघोर वर्षा भयो भन्ने जनश्रुति पाइन्छ । यसरी वर्षा भएर लामो समयको खडेरीको अन्त्य भएपछि यहाँ धेरै अन्न उत्पादन हुन गई सहकाल भएको हुनाले मत्स्येन्द्रनाथलाई सहकालको देवताका रूपमा मान्दछ र उहाँलाई पाटन लगनखेल नजिकमा पनि मन्दिर बनाई रथयात्रा गर्न थालियो ।
शैव मार्गीले मत्स्येन्द्रनाथलाई वर्षाको देवता लोकनाथ भन्दछ भने बौद्धहरूले करुणामय, लोकेश्वर, वोधिसत्व, अवलोकितेश्वर आदि भनी पूजाआजा गरिँदै वैशाख शुक्ल प्रतिपदाको दिन रथारोहण गरी वैशाख शुक्ल चतुर्थीको दिनदेखि रथयात्रा गरी प्रत्येक वर्ष जात्रा मनाउँदै आइरहेको छ । त्यस्तै दोलखाका राजा नन्ददेव सिंहले करिब ५०५ वर्षअघि अर्थात् नेस ६३९ (विसं १५७५) वैशाख १७ गते शुक्लपक्ष त्रयोदशी सोमबार श्रीगुरु देव वज्राचार्यद्वारा बोलिबन्द सानी कन्याबाट बुङ्गमतीको मत्स्येन्द्रनाथ जस्तै सानो आठ इन्चको मत्स्येन्द्रनाथको प्रतिमूर्ति बनाएर प्राणप्रतिष्ठा गरी मत्स्येन्द्रनाथलाई दोलखा ल्याएर ड्वाकुलुङा टोलमा मन्दिर बनाई दोलखामा पनि मत्स्येन्द्रनाथको जात्रा आरम्भ गरेको उल्लेख भएको ताम्रपत्र दोलखामा भएको कुरा त्यहाँका पुजारी पुष्परत्न वज्राचार्यले बताउनुभएको थियो ।
दोलखाका राजा वासुदेवले विसं १६५० मा ललितपुरमा जस्तै दोलखामा पनि रथयात्रा गरी मनाउन र त्यसलाई निरन्तरता दिन मत्स्येन्द्रनाथको रथ बनाउनका लागि लापिलांगका थामीहरूलाई गुठीको जग्गा राखी दिएका थिए । त्यसैको आयस्ताबाट तत्पश्चात् त्यहाँका थामीहरू हरेक साल दोलखा आई मत्स्येन्द्रनाथको रथ बनाई त्यसमा बाँस चोया, डोरी र वनमालाले सजाउने व्यवस्थाका साथै रथका लागि पाङ्ग्रा, बिचको धमा आदि बनाई जात्रा मनाउँदै आइरहेको थियो । धमा भनेको बिचको मोटो लामो काठ हो; जसले रथ दायाँबायाँ मोड्ने गाडीको स्टेरिङको जस्तो काम गर्दछ । रथको गजुरमा बुद्धको झन्डा र नेपालको झन्डा फहराइन्छ ।
दोलखामा मनाइने विभिन्न जात्रामध्ये नौ दिनसम्म परम्परागत रूपमा मनाउँदै आइरहेको मत्स्येन्द्रनाथ जात्रा (बुग्देउ) त्यहाँको प्रमुख जात्रा हो । चैत पूर्णिमाबाट आरम्भ भई दोलखा नगरको सबै टोलमा मत्स्येन्द्रनाथको रथ तानेर लगी नौ दिनमा जात्रा सम्पन्न गर्ने गरिन्छ ।
यो वर्ष यही २०८१ साल वैशाख ११ गतेबाट यो जात्रा सुरु हुँदै छ । वैशाख ११ गते ड्वाकुलुङा (ठुलो ढुङ्गा) मा दुधमा राखेर स्नान गराएर यो जात्रा सुरु हुने धार्मिक प्रचलन रहेको छ । यसपछि वैशाख १२ गते ड्वाकुलुङाबाट पिङ्गल टोलसम्म विभिन्न बाजा, धिमे, झ्याली, बाँसुरी आदि नेवारी बाजा अगाडि लगाएर रातो मत्स्येन्द्रनाथ अर्थात् बुग्देउको रथ यात्रा सुरु गरिन्छ ।
त्यसपछि वैशाख १३ गते पिङ्गलटोलबाट राजकुलेश्वर हुँदै नक्छेँसम्म रथ तान्ने गरिन्छ, १४ गते नक्छेँबाट श्यामसन्दुर टोल हुँदै कोर्छे टोल, १५ गते कोर्छे टोलबाट टसिचा टोल, १६ गते टसिचा टोलबाट माथिल्लो स्वयम्भू स्थान लगिन्छ र त्यहाँ स्वयम्भूलाई परिक्रमा गराइन्छ । त्यस दिन टँसिचा हुँदै माथिल्लो बाटो उकालोे भएका कारण एकदम ठाडो बाटोमा रथ तान्नु पर्छ । रास्नीको उकालो हुँदै स्वयम्भूमा रथ पु¥याउने काम निकै कठिन र चुनौतीपूर्ण मानिन्छ ।
टासिचाबाट रास्नीको ठाडो उकालोमा रथ तान्नुपर्ने भएकाले परदेश बसेका दोलखा बजारका व्यक्तिहरू र विवाह गरी गएका छोरीचेलीहरूसमेत त्यस दिन जात्रा हेर्न आ–आफ्ना माइतीघर आइपुग्छन् । वैशाख १७ गते स्वयम्भू स्थानबाट दुगंल टोल रथ तानिन्छ, १८ गते दुगंल टोलबाट फेरि पिङ्गलटोलमा रथ तानिन्छ ।
१९ गते पिङ्गलटोलबाट ड्वाकुलुङामा रथ लगिन्छ । रथको पाङ्ग्रा यहाँको उकालो ओरालो तान्न मिल्ने गरी गोलो पाङ्ग्रामा दाँतीहरू बनाएर राखिएको हुन्छ । रथ तान्दा पछाडिबाट रथ चिप्लेर नजाओस्, ढुङ्गाको सिँढी तलमाथि तान्न सजिलो होस् भनेर पाङ्ग्रामा दाँतीहरू बनाइएका हुन् । रथ उकालो ओरालो तान्दा रथ चिप्लेर अगाडि वा पछाडि नजाओस् भनेर काठको दलिनहरू पङ्ग्राको दाँतीमा चुकुलका रूपमा रथ अड्याउन अरू सहयोगीहरूले बाटोको अवस्था अनुसार राख्ने गर्दछ ।
रास्नीको उकालोमा रथ तान्न अरू बेला दुई वटा डोरी भए पुग्नेमा यो दिन छ वटासम्म डोरी राखेर रथ अगाडि पछाडिबाट तान्ने गरिन्छ भने रथको माथि पनि चारैतिर डोरीहरू लगाइएका हुन्छन्, जसले रथको सन्तुलन मिलाउन मद्दत गर्दछ । यो रथ तानेको दृश्य एकदम साहसी, आकर्षक र चुनौतीपूर्ण हुने गरेकाले काठमाडौँ उपत्यकाबाट समेत नेवार समुदायलगायत देशैभरिबाट जात्रा हेर्न दोलखा आउँछन् । वैशाख १६ गते जात्राको विशेष दिन भएको हुनाले खचाखच भरिएका जात्रालु र अन्य सहयोगीको होस्टेहैँसे गरी स्थानीय भाषामा ‘होस्टे बल गरी तान हाइस्टे’ गरी रथलाई स्वयम्भू पु¥याएपछि जात्राको कठिन कार्य सम्पन्न भएको मानिन्छ । यसकारण यो दिन सबैका लागि विशेष रमाइलो, चुनौतीपूर्ण र महìवपूर्ण हुने गरेको छ ।
जात्राको अन्तिम दिन ड्वाकुलुङामा रथमा रहेको रातो मत्स्येन्द्रनाथलाई रथबाट झिकेर विधिपूर्वक पूजा गरेर देवताको मूर्तिलाई अँगालोमा बोकेर दोलखा बजारको मूल बाटो हुँदै बजार परिक्रमा गराई ड्वाकुलुङामा रहेको मत्स्येन्द्रनाथलाई त्यहाँ रहेको सानो एक तले मन्दिरमा लगेर राखिन्छ । यस दिन स्थानीय इच्छुक महिला दिनभर निराहार व्रत बस्छन् । त्यसको भोलिपल्ट गुठियारहरूले मन्दिरबाट निकालेर भण्डार घरमा लगेर सुरक्षितसाथ राखिन्छ ।
मत्स्येन्द्रनाथको रथ जुन टोलमा पुग्छ, त्यहाँका स्थानीयवासीले पूजा गर्ने र त्यहाँ नखटे बोलाउने गर्दछ । नखटे भनेको आफ्ना छोरीचेली आफ्ना नातेदारलाई जात्रा हेर्न र भोज खान बोलाउने हो । रथ रहेको टोलमा मानिसको भिडभाड एवं पूजापाठहरू हुने गर्दछ । दोलखामा मत्स्येन्द्रनाथ जात्राभरि चाकु पिटी बनाइएको चाकुको एक प्रकारको परिकार चाक्सल मिठाई बनाई बिक्री गर्ने चलन अहिलेसम्म रहँदै आएको छ । विसं २०२९ सालमा मत्स्येन्द्रनाथको रथयात्रा समाप्त भएको केही दिनमा मत्स्येन्द्रनाथको मूर्ति चोरी भयो । चोरले मूर्ति चोरेर बाह्रबिसे पुगेर काठमाडौँ जान बसमा चढेपछि बस स्टार्ट नै भएन । सबै यात्रु ओराल्दा बस स्टार्ट हुने फेरि यात्रु चढेपछि स्टार्ट बन्द भएपछि लामो समयसम्म कोसिस गर्दा पनि बस स्टार्ट नभएपछि चोरले डराई बसबाट ओर्लेर मूर्ति भएको झोला दोलखा बजार तलतिरको बगैँचामा फाली दिएको थियो ।
त्यही एउटी सानी बलिका सकुना श्रेष्ठले खेलौना जस्तो देखेपछि घरमा लगेर खेलिरहेकी थिइन् । केही दिनपछि अभिभावकले देखेपछि हराएको मत्स्येन्द्रनाथको मूर्ति रहेको खुलासा भयो । यो चोरीको घटनापछि मत्स्येन्द्रनाथको मूर्तिलाई जात्रा अवधिमा मात्र निकालिने र जात्रा सकेपछि गुठियारहरूले विशेष सुरक्षाका साथ राख्ने गरिन्छ ।
जात्रा १४ वर्ष बन्द
२०४१ साल चैत र २०४२ साल वैशाखमा मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भएपछि मत्स्येन्द्रनाथ गुठीका जग्गा कमाउने थामीहरूले रथ बनाउन आउन छाडे । हरेक साल पाङ्ग्रा र धमा बनाउन कठिन भएको र जग्गाको आयस्ताले नपुग भएको आदि कारण देखाई सम्बन्धित गुठियारहरूसमेत निष्क्रिय र जिम्मेबारीबाट पन्छिएपछि मत्स्येन्द्रनाथको रथयात्रा १४ वर्षसम्म रोकियो ।
रथ नबनेपछि १४ वर्षसम्म मत्स्येन्द्रनाथलाई खटमा राखी टोल टोलमा बोकेर लगी जात्रा गर्न गराउन थालियो । पहिलाको जस्तो भने रौनकता हरायो । यसै क्रममा १४ वर्षपछि अर्थात् २०५५ सालमा स्थानीय कालिन्चोक युवा क्लबका अध्यक्ष एवं सस्कृतिप्रेमी प्रकाश श्रेष्ठको पहलमा त्यही सालदेखि नै पुनः दोलखाको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै मत्स्येन्द्रनाथको रथ पुनः बनाई बुग्देउ जात्रा सञ्चालनमा ल्याइयो । बुग्देउ वा मत्स्येन्द्रनाथको रथलाई विभिन्न स्थानबाट दोलखा आएकाहरूलगायत विशेष गरी पाटनका शाक्य र वज्राचार्यहरूलगायतले रथ तानेमा पुण्य आर्जन हुने जनविश्वास छ । त्यहाँ प्राप्त ऐतिहासिक प्रमाणको आधारमा नेसं ६९४ अर्थात् ३५० वर्षअघि काठमाडौँ ओमबहालका शाक्य भिक्षुले बुग्देउलाई स्वर्ण प्रभामण्डल र स्वर्ण छतरी चढाएको अभिलेख छ ।
त्यस्तै नेसं ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मत्स्येन्द्रनाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख भएको पाइएकाले उक्त स्थानका शाक्यहरू प्रत्येक वर्ष जात्रामा दर्शनका लागि आउँछन् । जसले गर्दा पाटन र दोलखाको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्बन्ध कायम छ ।
पाटन निवासी दोलखामा बाल्यकाल बिताएका समाजसेवी पञ्चराजा शाक्य र उहाँका छोरा बिन्दुराज शाक्यको सक्रियतामा दोलखाको मत्स्येन्द्रनाथ रथको धमाको दायाँबायाँ पित्तलले सजाई धमाको अघिल्तिर तामाको भैरवको मूर्ति चढाएका थिए । साथै नयाँ मत्स्येन्द्रनाथको तीन फिट अग्लो ढलौटको प्रतिमूर्ति बनाई २०६५ चैत २८ गते चढाइएको थियो । हाल सो मूर्ति पनि पुरानो मूर्तिसँगै रथमा राखेर जात्रा मनाउन थालिएको छ ।