• २१ वैशाख २०८१, शुक्रबार

‘युट्युबकारिता’ कि ‘पत्रकारिता’

blog

सुरुमा अनलाइन माध्यमलाई ‘माध्यम’ र त्यहाँ काम गर्नेलाई ‘पत्रकार’ भन्न नहुने बुझाइ थियो । अनलाइन माध्यमको चर्चा र प्रभाव बढिसकेको भए पनि त्यसलाई बेवास्ता गरिन्थ्यो । कतिपय अग्रज पत्रकारकै नकारात्मक धारणा थियो । छापा माध्यम (त्यसमा पनि कुनै कुनै दैनिक) मा कार्यरत अनलाइन मात्र होइन, अन्य छापा माध्यमका पत्रकारलाई समेत गन्थेनन् । राजाको निरङ्कुश शासनकालमा केही अनलाइन माध्यम नेपालमा खोल्न नमिल्ने बनाइएको थियो । अनलाइन माध्यमलाई सरकारी दस्ताबेजमा राख्न धेरै पापड पेल्नु परेको थियो । अनलाइन मिडिया एसोसिएसन, साइबर जर्नालिस्ट एसोसिएसनलगायतको दबाब र सरकारद्वारा गठित उच्चस्तरीय मिडिया सुझाव आयोग (२०६३) को सुझावपछि अन्तरिम संविधान, २०६३ मा नै पहिलोचोटि ‘अनलाइन’ शब्द राखिएको थियो । उक्त संविधानको धारा १५ (२) मा लेखियो–‘कुनै श्रव्य, दृश्य वा विद्युतीय उपकरणको माध्यमबाट कुनै सामग्रीको प्रकाशन तथा प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा छाप्ने, रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन ।’ यद्यपि सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९ मा ‘अनलाइन’ शब्द उल्लेख गरिएको थियो ।

अनलाइन माध्यमलाई संविधानले सम्बोधन गरिसक्दा पनि दृष्टिकोण र व्यवहार परिवर्तन भएको थिएन । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ लाई टेकेर प्रहरी प्रशासनले नै कतिपय पत्रकारलाई सिधै समाउँथ्यो । यी पत्रकारको गिरफ्तारीको विरुद्धमा कमैले बोल्दथे । अनलाइन माध्यमले उपेक्षा सहेर पनि आफूलाई उभ्याइरह्यो तर परिस्थिति कहाँ नित्य हुन्छ र ? यसको स्वभाव र गति त सधैँ अनित्य नै हुन्छ । पत्रिकामा क्रियाशील कतिपय पत्रकार पेसाबाटै पलायन भए भने परम्परागत माध्यमबाट अघाएकाहरू नयाँ स्वाद चाख्न अनलाइन माध्यममा आबद्ध हुन थाले । अनलाइन माध्यमका विज्ञ बनेर चिनिन पाए ।

अनलाइन माध्यमलाई सही मार्गमा ल्याउन प्रेस काउन्सिल नेपालको विशेष भूमिका रह्यो । आचारसंहिताको दायरामा ल्याएरै छाड्यो । २०७० सालको साउनमा नै सरोकारवालाबिच सामूहिक भेला गरेर अनलाइन माध्यमको सूचीकरण सुरु ग¥यो । दोस्रो संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी नेपालको संविधानले पनि यसलाई नकार्न सकेन । उक्त संविधानको धारा १९ (उपधारा १) को खण्ड २ मा स्पष्टसँग लेखियो–‘कुनै श्रव्य, श्रव्य दृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण, वा प्रकाशन, प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन ।’ 

पत्रकार आचारसंहिता, २०७३ अनलाइन माध्यमलाई सञ्चार माध्यमको परिभाषाभित्र पारियो । यसको छुट्टै जिम्मेवारी उल्लेख गर्दै अनुगमन र कारबाहीको प्रावधान राखियो । काउन्सिलले सूचीकरणका लागि आवेदन दिने अनलाइन माध्यमको अनुगमन र कारबाही, त्यहाँ कार्यरत पत्रकारको पेसागत संरक्षणमा भूमिका निभायो । बिस्तारै यो सही मार्गमा आयो, आउँदै छ । तिनै अनलाइन माध्यमहरू अहिले चार हजार चार सय ४८ को सङ्ख्यामा पुगिसकेका छन् । यी माध्यमका हजार कमजोरी अझै पनि छ तर पनि ठोकुवा गरेर भन्न सकिन्छ, हिजोको अनलाइन पत्रकारितामा ८० को दशकमा आउँदा धेरै परिपक्वपन र जिम्मेवारीपन बढेको छ ।

युट्युबको वर्तमान अवस्था त्यो बेलाको अनलाइनको जस्तै छ । यद्यपि युट्युब च्यानलहरू पनि नेपालमा ७० को बिचतिरदेखि नै चल्न थालेका थिए । पहिले अनलाइनको जस्तै अहिले युट्युबको चर्चा र प्रभाव छापा, रेडियो, टिभी, अनलाइनको भन्दा पनि देखिएको हो । अहिले युट्युबप्रतिको हेराइ त्यो बेलाको अनलाइनप्रतिको जस्तै छ । धेरै मानिस यसैतिर आकर्षित भइसकेको अवस्थामा पनि नकारात्मक आँखाले हेरिँदै छ । नेपालमा विडम्बना यो छ कि कथित चर्चितले पछि सुरु गरे पनि त्यही कार्यले मान्यता पाउँछ । सामान्यले पहिले सुरु गरेको कार्यले मान्यता पाउँदैन । हिजो सामान्यले पहिले सुरुको अनलाइन पत्रकारिताले पहिचान पाउन समय लाग्यो । 

हो, अनलाइन माध्यम र युट्युब च्यानलमा धेरै भिन्नता छ । अनलाइन माध्यम हो, युट्युब फेसबुक, ट्विटर, इस्टाग्राम, विच्याट, भाइबर, ह्वाट्स एप आदि जस्तै एक सामाजिक च्यानल हो । यिनीहरूमा एउटा समानता भने छ । यी सबै इन्टरनेट याने डिजिटल प्लाटफर्ममा आधारित कर्म हुन् । सामाजिक सञ्जालमा पनि अन्य प्लाटफर्मभन्दा युट्युब च्यानलले नै चर्चा र प्रभाव जमाएको छ । हिजो अनलाइन माध्यमको जस्तै आज युट्युबको पनि धरै दुर्बल पक्षहरू नभएका होइनन् तर सकारात्मक मात्रै कुरा गर्दा यो भुइँ मान्छेहरूको ‘साझा चौतारी’ हो । त्यसैले यसलाई तिरस्कार गर्न हुँदैन भने पत्रकारितानजिक रहेको युट्युब कर्मलाई झन् उपेक्षा गर्र्नै सकिँदैन । हुन त यही बुझेर होला, अहिले सरकारले युट्युबलगायत सामाजिक सञ्जालको व्यवस्थापनमा जाँगर देखाएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याएर कानुन निर्माणको प्रक्रियामा लागेको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आव ०८०/८१ मा युट्युब व्यवस्थापन र अभिमुखीकरणका लागि २५ लाख रुपियाँ अनुदान छुट्याएर सोको जिम्मेवारी काउन्सिललाई दिएको छ । 

समाधान कसरी त ? 

नेपाल पत्रकार महासङ्घको विधान, २०६०–पाँचौँ संशोधन, २०७५) मा छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिस्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई पत्रकार भनिएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी र समाचार तथा समाचारमूलक कार्यक्रम उत्पादन तथा अनलाइन सेवालाई आमसञ्चार माध्यम जनाइएको छ । 

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाइ, पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्तिलाई ‘पत्रकार’ ठानेको छ । यसै आचारसंहितामा इन्क्रिप्ट गरिएको वा नगरिएको, सर्वसाधारण वा निश्चित क्षेत्र वा वर्गका जनताले जानकारी पाउन सक्ने गरी पठाइने श्रव्य वा दृश्य, श्रव्य दृश्य, कार्यक्रम, डाटा वा सूचनालाई रेडियो फ्रिक्वेन्सी, इन्टरनेट प्रोटोकल वा अन्य विद्युतीय वा विद्युत्–प्रकाशकीय (अप्टिकल) माध्यमबाट गरिने कार्यलाई प्रसारण भनिएको छ । यसले छापा माध्यम, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई सञ्चार माध्यम मानेको छ ।

यस्तै अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो र दोस्रो संशोधन, २०७४) को परिभाषा माथिको भन्दा खासै भिन्न छैन । यसमा इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गरी समाचार, सूचना, विचार, तस्बिर वा श्रव्य–दृश्यलगायतका समाचारमूलक वा जानकारीमूलक सामग्रीको उत्पादन, प्रकाशन, प्रसारण वा वितरणको प्रयोजनका लागि समाचार लेखन, सूचना तथा दृश्य सङ्कलन एवं सम्पादनसम्बन्धी प्राविधिक कार्यलाई ‘अनलाइन पत्रकारिता’ भनिएको छ । यसमा प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गीकार गरी इन्टरनेटको माध्यममा सङ्केत, चिह्न, अक्षर, आवाज, ग्राफिक्स, गीत, सङ्गीत, भिडियो, एनिमेसन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्य दृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने विधि, प्रक्रिया र माध्यमलाई ‘अनलाइन सञ्चारमाध्यम’ भनी परिभाषित गरिएको छ ।

यसरी माथि उल्लिखित पत्रकारितासम्बन्धी विभिन्न दस्ताबेजमा ‘इन्टरनेटमा आधारित,’ ‘इन्टरनेटको माध्यम’ आदि शब्द प्रयोग गरिएको भए पनि युट्युबलाई सिधै ‘माध्यम’ र युट्युब चलाउनेलाई ‘पत्रकार’ भनिएको छैन । यसो नहुनु स्वाभाविक नै हो किनकि समाचार माध्यम र सामाजिक माध्यमबिच गहिरो भिन्नता छ । 

पत्रकार आचारसंहिता २०७३, (पहिलो संशोधन २०७६)को १४ बुँदामा प्रेस काउन्सिल नेपालले पत्रकार एवं सञ्चार माध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्तिगत अध्ययन गर्न सक्ने उल्लेख भए पनि यसैलाई पर्याप्त र बलियो आधार मानेर ‘युट्युबकारिता’ लाई ‘पत्रकारिता’ र ‘युट्युबर’लाई ‘पत्रकार’ भन्न पनि सकिँदैन किनकि आचारसंहिता कानुन होइन तर पनि अब त्यसैले ‘युट्युबकारिता’ कि ‘पत्रकारिता’ कि ‘सञ्चारकारिता’ या ‘सूचनाकारिता’ ? स्पष्ट निर्णय गर्नु नै पर्छ । पत्रकारिता र अन्य उद्देश्यले युट्युब चलाउनेबिच भिन्नता छुट्याउनु नै पर्छ । यस्तो निष्कर्षमा पुग्नका लागि अब प्रेस काउन्सिल नेपालको २०७८ साल जेठ १० गतेको बोर्ड बैठकले गरेको निर्णयानुसार दर्ता भई मिडियाका रूपमा सञ्चालित युट्युब च्यानललाई सूचीकरण गर्नु पर्छ । सबै सरोकारवालाबिच छलफल गरी समाचार सङ्कलन, लेखन/पुनर्लेखन, प्रशोधन, सम्पादन र सम्प्रेषण जस्ता पत्रकारिताका आधारभूत तìव अनुसार गरिएको सञ्चारकर्मलाई ‘पत्रकारिता’ र यसरी युट्युब चलाउनेलाई ‘पत्रकार’ भन्ने निर्णय गर्नु पर्छ । किनकि पत्रकारितातर्फ लक्षित युट्युबकारितामा अहिले पनि खोजी, सङ्कलन छ, नभएको सम्पादन, सन्तुलन (गेटकिपिङ) नै हो । यसो भएपछि यसै प्लाटफर्मबाट पत्रकारिताबाहेक गरिने अन्य कार्यलाई युट्युबकारिता र यस्तो कार्य गर्नेलाई युट्युबर भन्न सकिन्छ । यसमा स्पष्ट भएपछि यस्ता युट्युब च्यानल र सञ्चालकलाई पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध गराउनु पर्छ । यसका लागि मिडिया अन्तर्गत सञ्चालित युट्युबको नियमन ( अनुगमन, स्वअनुगमन), उजुरी सुनुवाइ, कारबाही गर्ने अधिकार स्पष्ट रूपमा काउन्सिललाई दिइनु पर्छ । 

   

Author

दीपक खनाल